मेलबर्न।अष्ट्रेलियामा तीज मेला मेलबर्न भव्यताका साथ सम्पन्न भएको छ। गल्कोट समाज भिक्टोरियाले हरितालिका तीजको अवसरमा संस्कृति संरक्षण संगै मनोरन्जनात्मक उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको थियो। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजद्वारा मूख्य प्रायोजित तीज मेला कृष्णजन्माष्टमीका दिन सम्पन्न भएको हो।

कार्यक्रममा विशेष गरी नेपाली तीज गीतमा अग्रपंक्तिमा आउने गायक-गायिका पशुपति शर्मा र देवी घर्ति तथा मोडल/नृत्यांगना रुबिना अधिकारीले आफ्ना विशेष प्रस्तुतिहरु पस्किएका थिए। त्यसैगरी, स्थानिय कलाकार दिनेश थापा, सुवास तिमिल्सिना र डिजे योञ्जनको प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो। तीज मेलामा गल्कोट समाजका दिदीबहिनीहरुको विशेष नृत्य प्रस्तुति समेत रहेको थियो। सहभागी दर्शकहरु कलाकारहरुका प्रस्तुतीसंगै तीजको सांगीतिक माहोलमा झुमिरहेका देखिन्थे। मनोरंजनसंगै कार्यक्रममा दर अथवा डिनरको व्यवस्था पनि रहेको थियो।

गल्कोट समाज भिक्टोरियाका अध्यक्ष रमेश केसीले संस्थाको उद्देश्य अनुरुप नै सभ्य तथा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै संयोजन टिम, कलाकार, सहभागी, प्रायोजक संस्था लगायत सम्पूर्ण नेपाली समुदायप्रति संस्था आभारी रहेको बताउनुभयो। उहाँले संस्थाका आगामी कार्यक्रममा पनि सबैबाट यस्तै साथ तथा सहभागिताको अपेक्षा रहेको र समुदायको हित तथा समृद्धिका निम्ति संस्था सबैसंग हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो।

तीज मेला मेलबर्नका कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष अर्जुन बिष्टले कार्यक्रममा करिब पाँच सय जनाको सहभागिता रहेको जानकारी गराउनुभयो। कार्यक्रम अपेक्षा गरेभन्दा पनि बढी राम्रो भएको उल्लेख गर्दै उहाँले सहभागी सम्पूर्ण लगायत नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो। त्यस्तै, संस्थाका सचिव रुपेश अधिकारीले भविष्यमा मनोरंजनसंगै अन्य कार्यक्रम आयोजनाका लागि उत्प्रेरणा मिलेको बताउनुभयो। उहाँले कार्यक्रममा मिलेको सबैको साथ र सहयोगले आफूहरुलाई थप जिम्मेवार समेत महसुस गराएको उल्लेख गर्नुभयो।

सिम्रन महर्जन र दिनेश थापाले संचालन गर्नुभएको तीज मेला मेलबर्न कार्यक्रम बेलुका ६ बजेदेखि राती १०:३० बजेसम्म चलेको थियो। कार्यक्रमको सह प्रायोजनमा बेटर चोइस, गोल्डमा बेटर चोइस र सिल्भरमा मरिनाज जोशी लयर्स रहेका थिए।
अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रमा रहेका बाग्लुङ्ग, गल्कोटका नेपालीहरुद्वारा सामुदायिक हीत तथा संस्कृति संरक्षणका निम्ति संचालितल संस्था हो, गल्कोट समाज भिक्टोरिया, अष्ट्रेलिया। यो संस्था सन् २०१७ मा स्थापना भएको थियो।