Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ मा डुबुल्कि मार्दा -कृष्णराज शर्मा

सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ मा डुबुल्कि मार्दा -कृष्णराज शर्मा

नेप्लिज डायस्पोरा

३०, आश्विन २०८१
images
सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ मा डुबुल्कि मार्दा -कृष्णराज शर्मा

 

आजकलका गीतहरु कानले सुनेर मात्र बुझिंदैनन् आँखाले पनि हेर्नुपर्छ गीतको भाव बुझ्न ! साथसाथै हामी पनि अत्याधुनिक प्रविधिमैत्री बन्नु अनिवार्य बनेको छ, अहिलेका गीतहरुमा झुम्न ! ऊ बेला रेडियो नेपालका दोहोरी कार्यक्रम सुनेर रमाएजस्तो अहिले मिल्दैन । सिधै गायक गायिकाका हाउभाउ देखेपछि बल्ल रमाउन सकिन्छ, बुझ्न सकिन्छ । 

 

पहिलाजस्तो गीत सुनेर मात्र मजा आउँदैन । गीत हेर्नैपर्छ र हेरेर मात्र मज्जा मिल्छ अचेल ! अर्थात अभिनयले पृष्ठभुमि बाँधेर मात्र गीतहरु बाहिरिन थालेका छन् । दृश्यमा देखिने अभिनयको भावलाई गीतका शब्दशब्दले कानमा पुर्याउँदा गीतको भरपुर परख गर्न पाइन्छ । 

IMG_0944.jpeg

लेखक: कृष्णराज शर्मा

 

यसपाली अरुका रंगीचंगी तस्वीर हेर्नभन्दा त्यस्तै दु:खी र भावुक खालका गीत सुनेर अमेरिका आएदेखिका दिनहरु बितिरहेका छन । त्यसरी सुने मध्येको एउटा थियो - 'अरबमा घाम छ' ! यो गीतको पृष्ठभुमिको सम्वाद सुनेर मेरो मन विच्छिप्त बनेको थियो । अनि धेरैधेरै पटक सुनें । जति सुन्यो त्यति छियाछिया भएँ म ! गीतका शब्द रचनाकार सतिश चापागाईंले परदेश बसेर स्वदेशको भाव उतारेको देखर गज्जबै लाग्यो मलाई ! 

 

वास्तवमा जीवनका सिंढीहरु चढ्दै जाँदा अनायासै दु:खसुख भोग्दै जान्छ मान्छेले । मान्छेका दु:ख र सुख नै गीत संगीत श्रृजनाका अजश्र श्रोत बनिदिन्छन् । दु:खमा भित्रि मुटु रुन्छ, आँखालाई दुख्छ र दु:ख पोखिन्छ । सुखमा त्यहि भित्रि मुटु हाँस्छ, ओठमा झुल्कन्छ र मुहारमा खुशी झलमल्ल उदाउँछ । 

 

IMG_0941.jpeg

 

दु:खसुखका यिनै दुई आधारमा टेकेर मान्छेमा भाव उत्पन्न हुँदाहुन् अनि कविता र गीत  बनेर प्रस्फुटन हुँदा हुन् । त्यसपछि हाम्रो परिवार, वरिपरीको समाज, परिवेष र प्राकृतिक बाताबरणलाई गीतले स्पर्श गर्दो हो र ऊ झंकृत हुँदै गुञ्जिदो हो । अनि मनमोहक संगीतले सजिएर गाउँ शहर भीर पाखा छहरा पखेराहरुमा डुल्दो हो ! यस्तै लाग्थे ऊ बेला रेडियोमा बज्ने गीतहरु ! यिनैयिनै गीत सुनेर म पनि आल्हादित हुन्थें । त्यस्तै रहेछ 'अरबको घाम' को भावभंगीमा पनि ! 

 

अरबमा घाम छ, कसलाई पो थाहाछैन,

अरबमै काम छ, नगई भा'छैन ।

 

म पनि सानो मान्छे हुँदा लाग्थ्यो- गीत कसरी लेख्दा हुन् लख्नेहरुले ! कसरी गाउँदा हुन् गाउनेहरुले ! अहिले पनि माथिको गीतको टुक्का सुनेपछि फेरी उहि उमेरमा जस्तै ताजा भएँ र जिज्ञासु हुँदै मनमनै सोधें - कसरी लेख्दा हुन् यस्ता गीत ! त्यतिबेला लेखिएका र गाईएका ति गीतहरु कसैले हँसाउथे त कसैले रुवाउँथे ! कुमार बस्नेत मार्काका गीतले हँसाउथे । त्यतिबेला बस्नेतहरुलाई छाडा गायक  भनिन्थ्यो । नारायणगोपाल मार्काका गीतले रुवाउँथे । मार्मिक गीत गाउने नारायणलाई तामसी गायक पनि भनेको सुन्थें । तर यि दुवै चर्चित हिरो गायकमा गनिन्थे त्यो समयमा । 

 

माथि उल्लेखित गीत ‘अरबमा घाम छ’ का गायक संजीव बराईलीको स्वरले पनि परदेशीएका नेपाली युवाहरुलाई रुवाउन खोजेको छ भने बिस्तारै युवाविहिन बन्दैगएको देशका जिम्मावालहरुलाई समेत सचेत गराउन भरमग्दुर प्रयास गरेको छ । जेहोस् देश दु:खेको कुरा बराईलीको यो गीतले सजीव चित्रण गरेको छ । 

 

अझ भनौं, यो गीतको अंशले आफ्नो पार्टी आफ्नो गुट अनि त्यसमा पनि आफ्नै नालनातो नमिले जागीर नपाईने यथार्थ बुझेर शहरबाट एकाएक मध्यरातमा घर फर्केर जीवनप्यारीसंग विलौना गर्दै गरेको दर्दनाक परिदृश्यले कसको मन रोला !? 

 

स्वदेशमै दु:खसुख गरेर परिवारसंग रमाउने कसम खाएका खसमलाई देशको यस्तो कहालीलाग्दो अवस्थाले स्वदेश छोडेर विदेश नजाने उसको आफ्नै कसमले आँफैलाई खिस्सि गरेको देख्दा कसको मन नरोई रहन्छ !? मनको यो पिडालाई कमसेकम, दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवाहरुलाई लस्कर लगाएर धमाधम विदेशिन बाध्य बनाएको राजनैतिक बाताबरणलाई यो गीतको माध्यमबाट मज्जाले लौरी ठोकेको छ । 

 

एकताका मलाई नारायणगोपालका गीतहरुले आफ्नै जीवनका बारेमा बोल्दिएको पाउँथे । गाईदिएको पाउँथे । आफ्नो जीवनसंग मेलखाने गीतहरु बोल्दिंदा खुब आनन्द लाग्ने ! ओहो ! यसले मेरो व्यथा कसरी थाहा पायो होला लाग्ने ! जेहोस, नारायणगोपाल दु:खका र कुमार बस्नेत सुखका साथि थिए, त्यो जमानामा । 

 

जसरी व्यक्तिका जीवनमा उनका गीतहरु आजपनि जीवन्त छन्,त्यसैगरि सतिश चापागाईंद्वारा रचित दीप घतानीको संगीत तथा संजीव बराईलीको स्वरमा रहेको यो गीत पनि राष्ट्रनिर्माणको अपरिहार्य युवाशक्तिलाई विदेश पलायन हुनबाट नरोकिएसम्म जीवन्त लाग्नेमा दुई मत छैन् । 

 

पुगेकै दिन सानोतिनो काम हातमा

आफ्नो देशमा अहिलेसम्म जागीर पा'छैन ।

 

व्यक्तिलाई भन्दा देशलाई दु:खेको यो गीतले समग्र नेपालको पछिल्लो अवस्थाको चित्रण गरेको छ । गीतका पात्र बोल्छन् - न परिश्रमको उचित मुल्य पाईन्छ न त योग्यता अनुसारको जागीर नै पाईन्छ । बाँच्नलाई देश नछाडी नहुने भो ! जीविकोपार्जन गर्न शहर पसेको श्रीमान मध्येरातमा घर फर्केर आफ्नी प्यारीलाई गीत मार्फत पोखेको भाव बिलौनाले हरेक नेपालीको मन पोल्छ । 

 

यो गीत मार्फत गीतकार सतिश चापागाईंले परदेशमा बसेर स्वदेशलाई दु:खेको कसरी गीतमा उतारे होलान ?  भनेर म फेरी छक्क पर्छु ! कवि हृदयले आफ्ना दु:खसुख त सहजै उतार्छ तर, अर्काको दु:ख आत्मसाथ गर्दै उसको दु:ख उतार्न धेरै शिल्प चाहिन्छ । यो गीत मार्फत सतिशले आफ्नो शिल्पी उजागर गरेका छन् । परदेशमा रहेर मातृभुमिको परिवेशलाई चुम्वन गर्दै त्यहिंको माटोमा डुबुल्की मार्न कहाँ सजिलो हुन्छ र ? तर गीतकारले मस्तसंग जन्मभुमिको माटोसंग लडिबुडि खेलेका छन् । जो कोहिले पनि यो 'अरबको घाम' गीत  सुन्दै हेर्दैगर्दा हाम्रो देशको पछिल्लो परिवेशलाई आत्मसात् नगरि धरै पाईंदैन । सतिश चागाईं, दीप घतानी, संजीव बराइलीको शब्द, संगीत र स्वरको बेजोड प्रस्तुती यो 'अरबको घाम'मा मैले भेटेको छु ।

 

पसिनाको नगदै दाम मिल्छ त्याहाँ

गाउँमा त पोहोर सालकै ज्याला पा'छैन । 

 

एक त काम पाईंदैन, अर्को काम पाईहाल्यो भने काम लगाउनेले कामदारको रगत पसिना खाईदिन्छ । दुर्गम क्षेत्रबाट कामदार ल्याउने र सयौंको संख्याका  उनीहरुको ज्याला नदिएर कामदारहरु रुँदैरुँदै घर फर्केका घटना धेरै छन्, नेपालमा । श्रमिकको ज्याला लटपटाएर ठेकदारले महल ठड्याएका तर श्रमिकले पसिनाको ज्याला नपाएर भोकभोकै हिडेका कथा धेरै छन हाम्रो नेपालमा । 

 

विशेषत: सडक निर्माण गर्दा जिल्लाहरुमा यस्ता बग्रेल्ति उदाहरण पाईन्छन हामीकहाँ । यो गीतको टुक्काले श्रमको शोषणमा परेका हज्जारौं श्रमिकहरुको आवाज बोलेको छ । त्यहि शोषणबाट मुक्ति पाउन हज्जारौं नेपाली युवाहरु पसिनाको उचित मूल्य खोज्दै खाडीमा पसेका छन् । 'अरबको घाम'ले यिनै दु:ख पिडा र व्यथाहरुलाई छर्लङ्ग उजागर गरेको छ । 

 

अन्तमा, भिडियोमा उपलब्ध यो गीतले स्वदेशमा बस्ने सरोकारवालाहरुको ध्यान खिचे राम्रो हुने थियो । तर नारासहितका जुलुशले ध्यान नतान्ने देशको राजनीतिक परिवेशमा यस्ता गीतहरु शासक वर्गसम्म पुग्छन पुग्दैनन् राम जाने ! भ्रष्टिकृत हुँदै गएको राजनैतिक परिवेषलाई आमुल परिवर्तन गर्न भने गीतले झकझकाएको छ । 

 

दिनानुदिन बदलिंदो आधुनिकतामा मान्छेमा बढ्दै गएको भोगबिलासको ईच्छा चाहना बढाईदिने हाम्रो चिन्तन र सोंच बदल्न जरुरी रहेको पनि यो गीत मार्फत बोध गराएको छ । समग्रमा एक पटक यो गीतको परख गर्दा जो कोहीले आनन्द प्राप्तगर्ने कुरामा दुईमत देखिंदैन । यो गीतका श्रष्टा समुहलाई एकमुष्ठ धन्यवाद तथा साधुवाद भन्न चाहन्छु । धन्यवाद !

 

बाग्लुगं बजार, बाग्लुगं

हाल: मेरिल्याण्ड, अमेरिका ।

 

गीतको भिडियो हेर्नुहोस

 

images
प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - ०९:४८:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend