१ अहिले समय कसरी विताईरहनु भएको छ ?
म जीवनमा कहिले पनि एउटै काममा मात्र अल्झीएर बसिन । पढ्ने समयदेखि नै खर्चको ब्यवस्था गर्न पढ़ाई संगसंगै काम पनि गर्थे । त्यसैले पनि होला मैले समय बिताउनेभन्दा पनि समयको अधिकतम सदुपयोग गर्ने प्रयास गरेँ । अहिले म आफ्नो जागीर अर्थात प्राध्यापन पेशाबाट सेवा निवृत भएको छु र एउटा अनलाइन पत्रिकमा काम गर्नुका साथै साहित्य कलाको क्षेत्रमा काम गरी नै रहेको छु । साहित्यिक संलग्नता अलिक बाक्लिएको छ ।
२ बिगतको पेशागत सुची र पृष्ठभूमि बताउन मिल्छ कि ?
विगतमा म त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा प्राध्यापकका रूपमा चालीस वर्ष प्राध्यापन गरें । शुरूमा २०३८ देखि ३० महिना पोखराको पृथ्वीनारायण क्याम्पसमा त्यसपछि काठमाण्डौको नेपाल ल क्याम्पसमा । मैले अघि नै उल्लेख गरेजस्तै त्यो चालीस वर्ष मैले क्याम्पस पढाउने काम मात्र गरिन । विश्वविद्यालयबाट अनुमति लिएर साहित्य र कलाको क्षेत्रमा काम गरिरहें । शुरूमा म पत्रिकाहरुमा स्तम्भ लेखनको काम गर्थे, साप्ताहिक पत्रिकादेखि फिल्मी पत्रिकासम्म नियमित लेखनको काम गरियो। पछि नेपालमा टेलिभिजनको स्थापना भो । नेपाल टेलिभिजनको स्थापना कालदेखि नै एउटा साहित्यिक कार्यक्रम (साहित्य-प्रभा) को प्रस्तोताका रूपमा समलग्न भएँ त्यसपछि नेपाल टेलिभिजन र अन्य टेलिभिजनमासमेत अनेकौं कार्यक्रमहरुको प्रस्तोता र निर्माता / निर्देशकका रूपमा काम गरेँ । यही क्रममा नेपालमा एफएम रेडिओको शुरुवात भयो र म १०० मेघाहर्जबाट राति १० देखि १२ बजेसम्म प्रशारण हुने गुडनाइट एफएम को स्टेशन मेनेजरका रूपमा काम गर्न थालें । यी दुबै प्रसारण संस्थामा मलाई नीर शाह दाईले नै पत्याउनु भएको हो । रेडियोमा चाहिँ म मित्र शंभुजीतको शिफ़ारिस्मा गएको हुँ ।
पत्रिका, टेलिभिजन र रेडियो पछि म चलचित्र निर्माण र निर्देशन तिर लागे। यसको श्रेय मेरा स्कूलका सहपाठी सावरमल जोधानीलाई जान्छ । उसैले गर्दा मैले टेलिभिजनमा निर्माण गरी रहेका टेलीफिल्मबाट कथानक चलचित्रको फड़को मारेको हुँ । त्यसपछि फेरि म टेलिभिजनका लागि कार्यक्रमहरू बनाउनका लागि आफ्नो छुट्टै प्रोडक्शन हाउस ” दृश्य ” खोलेर बिभिन्न कार्यक्रम, म्यूजिक भिडिओ , विज्ञापन र डाकुमेंट्रीहरू बनाउन थालें । दृश्यमा मसंगै मेरी श्रीमती रश्मि शर्मा पनि समलग्न भएकोले मलाई धेरै सजिलो भयो । उनले भिडिओ एडिटरका रूपमा काम गर्नुका साथै मेरो अनुपस्थितिमा प्रशासनिक जिम्मेवारी पनि सम्हाल्थिन्। दृश्य बाट हामीले रेडियो र टेलिभिजनका सयौं विज्ञापन र अढ़ाई सय जति म्यूजिक भिडिओ हरू बनायौ । यस बाहेक बिभिन्न टेलिभिजनकालागि नियमित टेली कार्यक्रमहरू उत्पादन गर्थ्यौ ।
३ उमेरको यहाँसम्म आईपुग्दा तपाईको जीवन सफल वा असफल के भयो जस्तो लाग्छ ?
कसैको पनि जीवन सफल वा असफल कस्तो रह्यो भन्ने कुरा अरुले मूल्याङ्कन गर्नु पर्छ जस्तो लाग्छ मलाई । सफलता वा असफलताको कुरा छोड़ने हो भने मैले आफ्नो जीवन इमानदारीकासाथ बिताएको छु । गर्व गर्नसक्ने एउटै कुरा छ, मैले कसैलाई ठगिन । जानेर कसैको अहित नगर्नु व आफूले सकेको सघाउनुलाई सफल भन्ने हो भने जीवन सफल नै छ । मलाई कुनै गुनासो छैन जीवनसँग ।
४ जीवनमा अर्थ आर्जनको सपना कुन उमेरसम्म देख्नु पर्छ जस्तो लाग्छ?
सपना देख्ने कुनै उमेर हुँदैन । र, पैसा आजको हाम्रो समाजको प्राथमिक विषय हो । हामी कहाँ रिटायर्ड भए पछि सामाजिक सुरक्षा वा जीवनयापनको सामाजिक ब्यवस्था नभएकोले आफ्नो दैनंदिनी चलाऊनका लागि पैसा नभई हुँदैन । यदि उमेर मै आवश्यक पैसा संचयन वा नियमित आयको ब्यवस्था गरिएको छ भने तपाई रिटायर्ड भएपछि आनन्दले बसे हुन्छ । तर यदि उमेरमा कमाएको पैसाले बुढेसकालमा खान पुग्दैन भने अर्थआर्जन सपना होइन बाध्यता हुन्छ र यो बाध्यता सारै कष्टकर हुन्छ , कसैले पनि यस्तो बाध्यता भोग्नु नपरोस् भन्ने कामना गर्दछु ।
५ आफ्नो जीवनकालमा आफु जन्मेको देश र समाजलाई के कस्तो योगदान दिए जस्तो लाग्छ ? आफुलाई लागेको वा गरेको योगदानलाई बुँदागत रुपमा राख्नु होला ।
खै ! मलाई त त्यस्तो केही गर्न सके जस्तो लाग्दैन । केही हजार विद्यार्थीहरूलाई आफूले जानेको पढ़ाएं तर त्यो मेरो जागीर थियो । केही लेखन र नाटकहरू गरेँ तर त्यो पनि मेरो आत्मसंतुष्टिका लागि थियो । सिनेमा बनाएं वा टेलीकार्यक्रमहरू चलाएं ति पनि मेरा आफ्नो रहर थिए । कविता लेख्दा रमाउँछु । यी सबै त म आफ्नै लागि गर्छु । यत्ती हो, यी कुनै पनि काम गर्दा मैले अरुको अहित गरिन, कुनै गलत फाइदा खोजिन । हो ! गलतका विरुद्ध खबरदारी गरिरहें । यसबाट खै! कस्तो योगदान गरेँ भनेर बूँदा छुट्याउँ ?
६ जीवनमा के पाउनु भयो र के गुमाउनु भयो जस्तो लाग्छ ?
यो प्रश्नको जवाफ दिन बहुत कठिन छ । पाउन त मैले धेरै थोक पाएको छु । एकदमै व्यवहारिक, समझदार र माया गर्ने श्रीमती अनि ज्ञानी र प्रिय छोरा-छोरी । बुवा आमाको गर्विलो नाम र हौसला अनि भाईहरू र दिदीबहिनीको साथ । साथीभाईहरुको माया र सहयोग । गनेर साध्य छैन ।
७ जीवनको अर्थ र परिभाषा कसरि गर्नु हुन्छ ?
संसारमा सबै भन्दा चेतनशील प्राणी मान्छे हो , त्यही मान्छेको जुनी पाउनु सबैभन्दा ठूलो प्राप्ति हो । र यो मानव जीवनले जब आत्मचेतना पाउँछ उसले सबैको भलो हुने काम गर्छ । अहंकार र घृणा छोडेर माया गर्न थाल्छ । र जीवन भनेकै प्रेम बांड्नु हो , अरुको भलो गर्नु हो , शान्ति फैलाउनु हो । जीवन भनेकै अरुको मनमा बस्नु हो । सकारात्मक सोच लिएर केही रचनात्मक गर्नु हो ।
८ आजको मितिमा आईपुग्दा जीवनका मुख्य प्राथमिकता के हुनु पर्ने रहेछ भन्ने अनुभूतिभएको छ ?
हो , समय र उमेर अनुसार सोच र अनुभूति फरक भएर आउँदो रहेछ । हिजोको र आजको सोचमा ठूलो फरक छ । आज आएर जीवनको पहिलो प्राथमिकतामा परिवार पर्दछ । साथीभाई र आफ्नो कर्म व सिर्जना नै महत्वपूर्ण हुँदा रहेछन ।
९ आफ्ना अतीतका पाँच पीडादायी र पाँच सुखदायी घटनाहरु कुनै भएको र सम्झनामारहेको छ ?
सबै भन्दा पीड़ादायी क्षण भनेको आफन्तको मृत्यु नै हो । तपाईं जसको स्नेहको छहारीमा ढुक्का भएर बाँचिरहनु भएको छ , त्यो नै गुम्नुको पीड़ा शब्दमा बयान गर्न सकिन्न । मैले भोगेको पीड़ादायी क्षण पहिलो बुवाको र त्यसपछि आमाको मृत्यु नै हो। त्यसबाहेक मैले मेरा तीनजना भिनाजू र ज्वाइको असामयिक निधनको पीड़ा भोग्नू पर्यो । अनि सुखदायी घटनाहरू त कति छन् कति, मेरो जीवन नै सुखदायी घटनाहरूको संगालो हो । म साना साना कुराहरूमा रमाउँछु, ति सबैको फेहरिस्त धेरै लामो छ ।
१0 आफ्नो बाल्यकालमा भए गरिएका र अहिले सम्झदा हाँसो उठ्ने कुनै उट्पट्याङ्ग घटनाबारे चर्चा गर्नु हुन्छ कि ?
त्यस्तो खासै घटनाहरू छैनन् , म त्यस्तो चकचके बालक नभएर होला शायद ।
११ देशको लागि एउटा असल नागरिकको कर्तब्य निर्वाह गर्न सक्षम र सफल भए जस्तोलाग्छ त्यस्ता केहि उदाहरण ?
खै मैले जे गरें त्यो देशका लागि गरे कि आफ्नैलागि गरें, छुट्याउनै गाह्रो छ। संचार , साहित्य , नाट्य -चलचित्र वा शिक्षण मध्ये जुन क्षेत्रमा काम गरें वा गरिरहेको छु , त्यो मेरा आफ्नालागि हो वा देशकालागि ? हो ! असल नागरिकका रूपमा चाहिँ जीवनयापन गरेको छु भन्ने कुरा म निरधक्क भन्न सक्छु । समाज वा देश को अहीत हुने कुनै काम आजसम्म गरेको छैन र गर्ने पनि छैन । मेरो शेषपछि पनि मेरो परिवार वा साथीभाई ले मेरो नाम लिंदा लज्जाबोध हुनेछैन भन्ने कुरामा म विश्वस्त छु ।
१२ आफ्नो जीवनको प्राकृतिक गन्तब्य वा मृत्यु कति बर्षमा होला जस्तो सोच्नु हुन्छ ? मृत्युसंग वार्ता गर्नु हुन्छ कहिले काँही ? अन्तिम दिन कस्तो रहोस जस्तो लाग्छ ?
न त कहिले मृत्युका बारेमा सोचेको छु, न कहिले मृत्युसँग कुनै वार्ता नै गरेको छु । यो एकदिन आउँछ भन्ने कुरा थाहा छ । बस् यति चाहन्छु कि काम गर्दागर्दै मृत्युवरण गर्न पाउँ , थला परेर अरूको भरमा एकदिन पनि बाँच्नु नपरोस् ।
१३ ईश्वर प्रति कतिको आस्था र विश्वास छ ? ईश्वरप्रति आस्था गर्नु वा नहुनुको आफ्नो सोच प्रष्ट्याई दिनु हुन्छ कि ?
ईश्वरप्रति आस्था र विश्वास दुबै छ तर धर्मको नाममा सबै काम छोडेर भक्ति गर्ने कुरामा विश्वास राख्दिन । ईश्वर भनेकै दुष्कर्म गर्नबाट हामीलाई रोक्ने एउटा अलौकिक शक्तिको नाम हो । धर्म व ईश्वर भनेको डर हो , जसले मानिसलाई अनुशासित बनाउँछ ।
१४ यदि पुनर्जन्म भएमा के भएर जन्मने इच्छा राख्नु हुन्छ ?
जे छु त्यही भएर जन्मिन चाहन्छु । यिनै मातापिता, यही परिवार, साथीभाई र यही देशमा जन्मिन चाहन्छु। बस् !सुशासन चाहन्छु ।
१५ जीवनमा आजसम्म सम्पर्कमा आएकाहरु मध्ये कति प्रतिशतलाई खुसी पार्न सफल र कति प्रतिशतलाई दुखी पार्नु भएको अनुभूति हुन् पुगेको छ ?
खै ! यो बारेमा त आजसम्म मैले सोचेकै थिइन । एउटा कुरा चाहिँ थाहा छ अरूलाई धेरै खुशी बनाउने सोच्न थालियो भने आफू चाहिँ पक्कै दुखी होइन्छ ।
१६ संक्षिप्तमा बर्तमान राजनीति र नेपालको भबिश्य कसरि विश्लेषण गर्नु हुन्छ संक्षिप्तमा ?
मलाई जीवनमा कहिले पनि चासो नभएको र मन नपर्ने विषय नै राजनीति हो । राजनीति भनेको सबैभन्दा घिनलाग्दो ब्यापार हो जहां आफ्नो स्वार्थ मात्र सोचिन्छ । यस विषयमा कुरा नगर्दा म खुशी हुन्छु ।