कार्तिक ३, पाल्पा ।
मञ्जुश्री साहित्य समाज,नागार्जुन -१ ले यही मिति २०८१/०७/०३ का दिन डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा छैटौं साधारणसभा भव्यतापूर्वक सुसम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि प्रा.सीताराम अधिकारी र विशिष्ट अतिथि श्रीहरि फुयाँल हुनुहुन्थ्यो । निर्वाचन संयोजक शालिग्राम शर्मा पौडेल तथा कार्यक्रम सञ्चालक रामरञ्जन पौडेल र प्रभा बराल हुनुहुन्थ्यो ।
कार्यक्रममा अन्य आवश्यक निर्णयहरूका साथै अघिल्लो कार्यसमितिको पदावधी पूर्ण भएकाले डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरिएको छ जसमा- उपाध्यक्ष- ध्रुवराज पौडेल, सचिव- वीरबहादुर लोहनी, कोषाध्यक्ष - नीरप्रसाद तिमल्सेना र सदस्यहरूमा- टेकबहादुर लौडारी, इन्दिरा शाह, प्रभा बराल,गीता रेग्मी,रामरञ्जन पौडेल, हरिप्रसाद घिमिरे अनि शान्ता देवकोटासमेत गरी जम्मा ११ जनाको निर्विरोध कार्यसमिति चयन भएको छ ।

यसै साधारण सभाले २०८०/ ८१ को आय व्यय विवरण र प्रगति प्रतिवेदन समेत प्रस्तुत गरी सर्वसम्मतिले पारित पनि गरेको छ ।
अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा भएको मञ्जुश्री साहित्य समाजको प्रगति गतिविधिको सारसंक्षेप-
२०७२ चैत २७ गते स्थापना भएको र २०७५ चैत्र २७ गते दर्ता गराएको यस मञ्जुश्री साहित्यिक समाजले २०७४ सालदेखि अहिलेसम्म ३३ जना अग्रज साहित्यकार तथा समाज सेवीलाई सम्मान तथा पुरस्कार समर्पण गरिसकेको छ भनें आठ जना नवोदित प्रतिभालाई पुरस्कार प्रदान गरिसकेको छ ।
यस संस्थाको आयोजनामा २०७७ भदौ ५ गते शुक्रबारदेखि हालसम्म जुम प्रविधि तथा गुगल प्रविधिका माध्यमबाट थुप्रै पटक कविगोष्ठी गर्दै ल्याएको छ । पहिले हरेक शुक्रबार हुने गरेको रचनावाचन कार्यक्रम अब हरेक महिनाको पहिलो शुक्रबार सञ्चालन गर्न थालिएको छ जसमा ७५ औं शृङ्खलासम्म अविरल रुपमा सम्पन्न गरिसकिएको छ ।
मञ्जुश्री साहित्यिक समाज प्रकाशक भएर दुई दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन् भने यस संस्थाको आयोजनामा थुप्रै साहित्यिक पुस्तकहरू विमोचन भएका पनि छन् । यस संस्थाको आयोजना र नागार्जुन नगरपालिकाको प्रायोजनमा राष्ट्रिय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।
यस संस्थाले श्रीरामसिंह बस्नेत, गङ्गा लिगको दातव्यबाट विपी-भूपि साहित्यिक पुरस्कार तथा सम्मानको कोष खडा गरेको छ भने लक्ष्मण थापा र वीणा पौड्यालको दातव्यबाट "मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार" कोषको स्थापना भएको छ ।

यही कोषको ब्याजबाट प्राप्त हुने रु. १५,१२५/- थैलीबाट नगद पुरस्कार तथा सम्मान समर्पण गर्न थालिएको हो ।
हालसम्म पुरस्कार प्राप्त गर्नेहरूमा -कवि प्रह्लाद पोख्रेल (खोटाङ), उपन्यासकार श्रेष्ठ प्रिया पत्थर (कैलाली), महाकाव्यकार भुवनहरि सिग्देल- (काठमाडौं),गीतकार कृष्णहरि बराल (कीर्तिपुर), अम्बिका अर्याल (गोर्खा) र रञ्जु दाहाल (ओखलढुङ्गा) रहनुभएको छ ।
यसरी नै मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार प्राप्त गर्नेहरूमा महाकाव्यकार- मनिराज जोशी (कैलाली) लगायत तेत्तीस जना स्रष्टालाई पुरस्कार समर्पण गरिएको छ ।
अन्य विभिन्न साहित्यिक संस्थाहरूमा संलग्नता रहेको हुनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस संस्थाको नाम जोडिएको छ र साहित्यिक संस्था समन्वय समितिको सदस्य पनि रहेको कुरा अध्यक्षले आफ्नो मन्तव्यको क्रममा प्रष्ट पार्नुभएको थियो ।