Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

सरोजको विदेश मोह ( विशृङ्खलित सपना कथासङ्ग्रह बाट )

सरोजको विदेश मोह ( विशृङ्खलित सपना कथासङ्ग्रह बाट )

नेप्लिज डायस्पोरा

१४, मंसिर २०८१
images
सरोजको विदेश मोह ( विशृङ्खलित सपना कथासङ्ग्रह बाट )

‘हर गङ्गे हर हर …सर्व जीवात्मा तर्पणम्’बाट सुरु भएको पण्डित बा’को दिनचर्या – ‘कृष्णाय वासुुदेवाय देवकी नन्दनायच । नन्दगोप कुमाराय गोविन्दाय नमोनमः’मा टुुङ्गिने गर्छ । नीर नफाट्दै सुरु भएको दैनिकीले राती नौ–दश बजेतिर मात्र विश्राम पाउँछ ।

पण्डित’बा ईश्वरको पूजा, मन्त्रोच्चारण गर्छन्, एकखुट्टा टेकेर सूूर्यलाई अघ्र्य चढाउँछन् । सबै जीवात्मालाई जल अर्पण गरी दैनिकी शुभारम्भ गर्छन् । यसले उनलाई शक्ति र सन्तोष दुवै दिएको छ । दुुईतले खरले छाएको माटेघर निकै उज्यालो देखिन्छ । गाहारोमा दुुईफिटजति रातोमाटो, त्यसपछि आधा फिटजति पँदेलो र त्यसमाथि कमेरोले पोतेको घर कलाकारले कोरेको चित्रकारीजस्तै लाग्छ । डाँडाको थाप्लोमा रहेको घर, पर्खालले घेरिएको छ । ढुुङ्गा चिनिएको पर्खालमाथि बिछ्याइएको ठूलो झापनमा पूर्व फर्केर कण्ठाग्र मन्त्रोच्चारण घन्काउँदा छरछिमेकसमेत पवित्र भएको महसुस गर्छन् । उनको धर्मकर्म र पूजा पाठले गाउँको पहिचान नै अलग बनाएको छ ।

 

पण्डितनी गैह्रीकुुवाबाट सखारै पानी ल्याएर खसमलाई स्नानको चाँजोपाँजो मिलाउछिन् । यी काम सबै घाम झुल्कनु अघि गरिसक्नुपर्छ । घाम झुल्केपछि पण्डित’बा डालेघाँस काट्न, खेतमा पानी पटाउन लाग्छन् । सामलको जोहो गर्ने काम पण्डितकै हुन्थ्यो । तीन कोसपरसम्म जजमानी छन््, उनीहरूकोमा श्राद्ध, न्वारन, पूजापाठ, होमकीर्तन गर्ने काम पनि पण्डित बा’को । वाक्य सरर्र खुलेका, कर्मकाण्ड र पुराणमा प्रवीण थिए । टाढाटाढा जाँदा पण्डितको खानपिन मात्र बिग्रँदैनथ्यो, गाईबस्तुुले डालेघाँस पनि पर्याप्त पाउँदैनथे । पण्डितनी पनि पण्डित नआई अन्न खान्नथिन् ।

बामे सर्दादेखि नै सरोजले बुुवाको पूजापाठ सुन्दै हेर्दै आएको थियो । कहिलेदेखि सुनेको हो भन्ने सम्झनामा सरोज छैन तर बुुवाको दैनिकीलाई नियाल्दै आएको छ । तोतेबोलीमै ‘सर्व जीवात्मा तर्पणम्’ भन्न जान्ने भएको छ । सुत्ने वेलाको स्तोत्र भने उसले त्यति सुन्न पाएको छैन, अक्सर ऊ साँझैमा निदाइहाल्थ्यो ।

पण्डित एकलौटो छोरो सरोजलाई कर्मकाण्डमा मात्र सीमित राख्न चाँहदैनथे । कर्मकाण्ड र पूर्वीय दर्शनको जगमा अङ्ग्रेजी भाषासहित आधुनिक शिक्षा दिने उनको चाहना थियो । छोरो आफ्नै जीवनकालमा सरकारी अड्डाको हाकिम भएको देख्न चाहन्थे । दाहाल र देवकोटाका छोराहरू विचारी र खरिदार बनेर मान कमाएका थिए । सरोज पनि त्यही बाटो हिँडोस्, अझ अब्बल बनोस् भन्ने रहर थियो ।

पण्डित दम्पती खुसी थिए । ससाना सफलतामा खुसी मान्ने आदत परेको थियो । पानीपँधेरो, घाँसदाउरा पण्डितनीको काम, पूजापाठ, पुराण, कर्मकाण्ड पण्डितको काम । कटेरोमा दुुई गाई र दुुई बाख्रा, गरिखान पुुग्ने पाखोवारी, करेसाबारीमा मौसम अनुसारका सागसब्जी र दश मुरी धानफल्ने खेत । गहुँु आलु पनि धान खेतले दिन्छ । के चाहियो । धपक्क बलेको सरोज पाठशाला जाने भैसक्यो । पण्डित–पण्डितनी सरोजका आँखाबाट संसार हेर्न चाहन्थे ।

सरोज हलहली बढ्दैछ । तोतेबोली अब स्पष्ट भइसक्यो । डण्डिबियो र सुसेलीमा रमाउन थालिसकेको छ । सधैँ साथीको झुुन्डमा हुन्छ । सबैले साथीको रानो भन्छन् । सात कक्षामा पनि तेस्रा भयो ।

पण्डित(पण्डितनीसँग सल्लाह गर्न थाल्छन् – भन त गोमा, सरोजलाई शहर पढ्न पठाएपछि हामी कसरी बस्ने ?
आमा भएकीले गोमा झनै भावुक हुन्छिन् – मलाई त नेपाल सेपाल पठाउन मन लागेको छैन । सरोज यहीँ पढ्छ । भानुुभक्त मास्टरसाहेवजस्तै स्कुलमा पढाउला, सरोजका बाजस्तै कर्मकाण्ड पनि गर्ला । किन नेपाल पठाउने ?

कुरा त ठीकै हो गोमा । कुवाका भ्यागुतो कुवामै भन्छन् । यो सिन्धुलीको खोँचबाट अलि टाढा पुुगोस्, जागिर पनि खाओस्, कीर्ति पनि फिँजाओस् भनेको । पठाउन त मलाई पनि कहाँ मन छ र ? तर के गर्ने …..?

आफूले कोख र काख दिएको सन्तान आफैसँग रहनुु जति आनन्द केमा आउँछ र सरोजका बा’ ।
तिमीले भनेको मनासिव हो । पढ्न र पेसाका लागि पठाउनुपर्छ, नत्र सरोज पनि यही खोलाको ब्याङ बन्छ । उसको भविष्यको लागि मायाको बन्दी पनि बनाउनु भएन नि !
म के भनूँ सरोजका बा’ । आफै जानिफकार हुनुुहुन्छ । गाउँका अरूलाई सल्लाह दिनुहुन्छ । मैले त मायाको कुरा भनेकी । मनको कुरा मात्र बताएकी ।

सरोज पुुल्पुलिएर मातिएको छ । पण्डितको छोरोलाई छरछिमेकले पनि त्यत्तिकै माया ओेइराएका छन् । गाउँघर मायाको खानी हो । सबैले सबैलाई माया गरेर गाउँ बनेको हुन्छ । शहर बजारमा अरूका छोरालाई कसले माया गर्थे र ?

फलैँचामा बसेर ट्वार्र ट्वार्र हुक्का तानिरहेका पण्डितले सरोजलाई आफूसँग बस्न सङ्केत गर्दै भने –बाबु तिम्रो पढाइ त्यति राम्रो छैन, कि नेपाल गएर पढ्छौ त ?
नेपालमा को छ बाबा हाम्रो ?

हाम्रा आफ्ना कोही छैनन् बाबु ! चिनजान भएपछि त सबै आफ्नै हुन् नि !
त्यो त हो बाबा । स्कुल यही सकेर कलेजको लागि त्यता गए भएन ?
जीवनमा पहिलो पटक पण्डितले सरोजसँग सल्लाह लिएका छन् । सरोजको सल्लाहबाट पण्डित बा केही मख्ख र केही द्विविधामा छन् ।
गाउँभरिको मायाले मातिएको सरोजले मनको कुरा भन्यो । साथी भनेपछि सरोज हिरिक्क हुन्छ । मोक्तान कि छोरी सानीमाया सरोजसँग कहिले छुटिन्न । विराट, नवराज, नारायण, शारदा, सीता, जनक, लक्ष्मी, गायत्री सबैको आँखाको नानी थियो सरोज । स्कुले साथी निःस्वार्थ हुन्छन् । कहिलेदेखि साथी बसेको पनि उनीहरूलाई थाहा हुँदैन । बुुवाले शहर जाने कुरा गरेपछि सरोजका आँखाभरि यिनै साथीहरू नाचेका थिए । बाबाको दिन दिनको छोरालाई हाकिम बनाउने धोको सुन्दासुन्दा सरोजको मनको एक कुनामा हाकिमले आसन जमाउन थालेको थियो – हाकिम भएर साँच्चिकै मान पाइन्छ भने किन हाकिम नबन्ने ?

एसएलसीको नतिजा आयो । सरोज तृतीय श्रेणीमा पास भएछ । पण्डित–पण्डितनीलाई श्रेणीको के मतलव । छोरो पास भयो, यत्तिकैमा खुसीको सीमा रहेन । फुुरुङ्ग बनेका उनीहरू मनकस्तिष्कमा सपनाको पउलमा पौडिन थाले ।

पण्डितको राजनैतिक सम्बन्ध पनि राम्रै थियो । गाउँ पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायतका सदस्यहरू सबैकोमा जजमानी गर्थे । गुरुले भनेको सकेजति नकाट्ने जजमानको धर्म । सानातिना काम जजमानले गरिदिइहाल्थे । पण्डितमा एउटा विश्वास छ – मैले भनेपछि राष्ट्रिय पञ्चायत सदस्यले सरोजलाई सानोतिनो जागिर खोजिदिहाल्छन् ।

सरोज रत्नराज्य लक्ष्मी क्याम्पसको रात्री सिफ्टमा आइ .ए.का लागि भर्ना भयो । राष्ट्रिय पञ्चायत सदस्यले गुरुदक्षिणा संस्थानमा सहायक जागिर बनाइदिए । अब ऊबानेश्वरमा डेरा लिएर पढ्न थाल्यो । उसलाई गाउँका साथीहरूको सम्झनाले सताउन थालेको छ । सानीमायाको विषयमा त कविता पनि लेखेको छ । धुलिमाटी खेलेदेखिको सम्झना कसरी भुलिन्थ्यो ? सानीमाया के गर्दी हो ? सरोजका विषयमा कविता लेखेकी छ छैन ?
शहर आफ्नै तालको छ । शहरले सरोजलाई माया गरेको छैन । काठमाडौँको वातावरण सिन्धुलीजस्तो छैन ।
‘सरसङ्गत सबैसँग सतर्क हुनुुपर्छ । पढाइमा सावधान बन । भाइको अहिले पढ्ने वेला हो’ । अफिसकी ममता दिदीले सल्लाह दिइन् ।
किन र दिदी ? सरोज झसङ्ग हुन्छ ।

केही होइन भाइ, भनेकी मात्र । पहाडबाट आएका छौ, कलिलो छौ, आमा बुुवाको सपना होलान्, बहकेलाउ कि भनेर भनेकी ।
ममता दिदी उसको अभिभावक नै बनेकी छन् । बुुवालाई चिठ्ठी लेख्दा पनि उनको प्रशंसा गरेको छ । दिदी भनेपछि सरोज डराउने गर्छ । सबैसँग लिटीपुटी गर्ने बानीले सरोज ममताको भाइ झैँ बनेको छ ।

ममता दिदीको सङ्केत शहर बजारका लफङ्गा केटा र फेसनवाल धुतारु केटीहरूले फस्ल्याङ्फुुस्लुङ पार्लान् भन्ने थियो । पहाडका केटा शहरमा नभिजेसम्म सिधासाधा हुन्छन्, छिटै अरूको विश्वास गर्छन् र ठगिन्छन् पनि । ममता दिदीले यस्ता धेरै सपनाहरू भत्किएको देखेकी छन् । कार्यालयका सबैलाई सम्झाउने गर्छिन् ।
सरोज पढ्ने कलेजको वातावरण पनि अजीवको छ । पूर्वतर्फ पद्योदय हाइस्कुल, बोर्डिङ्बाट निकालिएका बिग्रेका विद्यार्थीहरू प्रायःजसो यहीँ पढ्छन्, आवारा बनेर पुलमुनि बस्दै खोपी, खैनीमा दिन बिताउँछन् । बगलको वाल्मीकि विद्यापीठ पूर्वीय दर्शनमा धन्किन्छ । रत्नराज्य क्याम्पस पढ्ने–नपढ्ने सबैखाले विद्यार्थीको खानी हो ।

राजनीति गर्न फेल भएर बस्ने अखिल, नेविसङ्घ, फेडेरेसन र राष्ट्रवादी मण्डलका सदस्यहरू पनि त्यहीँ छन् । माथिल्लो तलामा सङ्गीतको राग घन्किन्छ, भुुइँतल्लामा होहल्ला साथ पढाइ । प्राध्यापकहरूले पढाउने कि अनुशासन सिकाउने ? पश्चिम बगलमा ल क्याम्पस, राजनीतिको केन्द्र । त्यसपछि विश्वभाषा कलेज, त्यो पनि पढ्नभन्दा भाषा सिक्न आउने सबै खाले मानिस आउँछन् । त्यसभन्दा माथि राष्ट्रिय सभागृह, पञ्चभेला भैरहने ठाउँ । अलि पर शङ्करदेव क्याम्पस । पछिल्तिर बस पार्क । यहाँको वातावरणमा नेपाल र नेपालको राम्रो नराम्रो सबै भेटिन्छ । पञ्चायत विरुद्ध आन्दोलन जगाउन काङ्ग्रेस कम्युनिष्टहरू यही आएर आगो फुक्छन् ।

सरोज केही कालो भएपनि हिस्सी परेको थियो । नरिवलको तेलमा कपाल लपक्क चम्काउँथ्यो । कालो सर्ट, सेतो पाइन्ट र टल्किने कालो चुच्चे जुत्ता, नाडीमा जापानी सिको घडी, पोकेटमा चिनियाँ कलम र हातमा कालो फेल्डर ब्यागले उसको व्यक्तित्व आकर्षक देखिन्थ्यो । अग्लो पनि थियो । कालो अनुहारमा टिलिक्क सेता दाँत र केही खोजेझैँ लाग्ने आँखाले उसको हिस्सी परेको व्यक्तित्वलाई थप आकर्षक बनाउँथ्यो ।

बिहान बानेश्वर खरिवोट डेरा अघि उभिएर चिया पिउँदै पत्रिका पढ्ने बानीले सरोजलाई आफ्नो इलाकामा सिन्धुुले केटाका नामले चिनाएको थियो । दुुईचार जनाको झुुन्ड वरिपरिको बीचमा उसको उपस्थिति देखिन्थ्यो । हिन्दी फिल्म र पञ्चायत व्यवस्था विरुद्धका कुराहरू चियासँगै विषय हुुन्थे । मीनभवन र बानेश्वर कलेज पढ्न जाने विद्यार्थीहरू आप्mनै उमेर समूहको व्यक्तित्वको नियमित गफसँग आँखा लगाउँदै हिड्थे । विभामैयाँ तीमध्ये एक थिइन् । लामो कपाल, आफूजस्तै अग्ली, गहिरा आँखा, कालीकाली सलक्क परेकी सधैँ मीनभवन क्याम्पसको पोशाकमा ठाँटिएर हिड्ने आफूजस्तै उमेर समूहकी विभामैयाँसँग सरोजको पनि आँखा जुधेका थिए तर ती सामान्य आँखा जुधाइ थिए ।

विभामैयाँ सरोजलाई हावा केटाका रूपमा लिन्थिन् । कलेज उमेरको केटा सधैँ चिया र पत्रिकामा गौँडामा रहनु लफङ्गा, हावाकै पहिचान भएको उनको निष्कर्ष थियो तर पटकौंएकै ठाउँमा आँखा चार भएर ठोक्किन थलेपछि मन कस्तो कस्तो हुन थालेको थियो । पहाडे केटा सरोज केटी जिस्क्याउन त परे जाओस् केटीसँग कुराकानी गर्न पनि निक्कै लजाउँथ्यो । कलेजमा मन, तृष्णा, शवनम, रेखाले नरिवले जुल्फे साथी भनेपछि उसको मुख एकाएक रातो हन्थ्यो । रत्नराज्यका रात्री कक्षामा केटी नभएपनि प्रयोगात्मक र सङ्गीत अभ्यासमा केटी साथीहरू भेटिन्थे, सरोज लाजले भुतुक्क हुन्थ्यो । पहाडे केटोलाई शहरिया केटीले मन पराउँछन् भन्ने त सरोजको कल्पनामा पनि थिएन ।

कलेज पढेर फर्किदा पनि विभामैयाका आँखा खरिबोट चिया चोकमा गहिरिन्थे । सरोज भने साढे नौमा नै अफिस बसबाट बालाजु हिँडिसकेको हुुन्थ्यो, बेलुुकी कक्षा सकेर फर्किंदा दश पनि बज्न सक्थ्यो । विभामैयाँ आँखाले उसलाई भेट्न भोलि बिहान पर्खनुपथ्र्यो ।

विभामैयाँ काठमाडौंकी रैथाने नेवारकी छोरी, बुुबाआमा खेती किसानीमा रमाएका थिए । दाजुको किराना दुकान खुवै चलेको थियो । विभा भने परिवारको माया पाएर पुलपुलिएकी थिइन् । त्यसैले पढाइमा खासै ध्यान थिएन, पढे नपढेको सोध्ने पनि घरमा थिएनन् । सबै आआफ्नै काममा व्यस्त थिए ।

सरोज विभामैयाँको विषयमा त्यति जानकार थिएन । आफू चोकमा रहँदा सधैँ कलेज पोशाकमा देखिने एउटी हिस्सी परेकी केटी उसको नजर काट्दै जान्थी । त्यसबाहेक उसले केही बुुझेको थिएन, बुुझ्नुु जरुरी पनि थिएन । उही समय र दैनिकीमा कैयन मानिस बाटो हिँड्न सक्छन् । नजानीकन चिन्ने कुरा सामान्य हुने भए ।

एक बिहान सरोज चिया पिएर हातमा पत्रिका च्याप्दै डेरातर्फ फर्किदै थियो । कलेज पोशाकमा हतारिएर हिँडेकी विभामैयाँसँग सरोजका आँखा चार भए । विभा केही फरासिली थिइन्, मनमा आएको कुरा झट््ट भन्ने आँट पनि उनमा थियो । बोल्ने मौका खोजिरहेकी विभाले अनुरोधको शैलीमा प्याट्ट भनिहालिन् –त्रिविले परीक्षा रुटिन दिएको छ रे ! गोरखापत्र हेरौँ न दाइ ! सरोजले गोरखापत्र त दियो, उसको हात लुलो भइसकेको थियो, चेहरा पूरै रातो । विभाले भने पत्रिका हेर्ने बाहनामा दुुईतीन मिनेटमै सरोजलाई पूरै पढिसकिन् । सरोजले पनि विभाबारे हल्का जानकारी लियो । हातको पत्रिका संवादको सूत्र बन्यो । गोरखापत्रका अक्षरमा मन जोड्ने सूत्र त थिएन, तर जसचाहीँउसैले पाउने भयो ।

त्यस दिनदेखि देखभेटमा बोलचाल हुन थाल्यो । बहानामा बोलचालको बाटो बनाउन थाले । विभाप्रति सरोज पनि लसिएको थियो, विभा त अलि बढी नै फरासिली थिइन् । पहाडको सोझो र लायकी केटो, इलममा पनि लागेको, नमिल्ने एकै जात थियो । मन मिलेपछि जातको डोरी छिनेर नारी र पुरुष बाहेक अरू जात हुनेपनि भएन ।
सरोजको विभाप्रति जति आशक्त थियो, सानीमायालाई पनि भुल्न सकेको थिएन । उसका दुुई आँखामा एकसाथ विभामैयाँ र सानीमायाको आकृति उत्रिन थाले । विभामैयाँ भेटघाटमा संवाद लम्ब्याउन थालिन्, सरोजका सपनामा सानीमायाले पनि आसन जमाउन थालिन् । सपना–विपना, विपना–सपना, सानुुमाया–विभामैयाँ, सिन्धुली खोच–खरिबोट मनमस्तिष्कमा एकले अर्कोलाई लखे्ट्ने क्रममा बढ्न थाल्यो । विभामैयाँ र सरोजका मनभरि भुुइँचालो थियो, जवान केटाकेटी सम्मोहनमा तानिएका थिए । सानीमैयासँगको सपना भने अव्यक्त सम्मोहन थियो । विचरा सानीमायालाई सरोज बालसखा थियो, त्योभन्दा पर उसले न सोचेकी थिई न गाउँको परिवेशले सोच्ने ठाउँ नै दिएथ्यो ।

समयले नपत्याउने गरी जीवन फेर्दोरहेछ । भएको त केही पनि होइन तर उमेर, उमेर अनुसारको सोच, सोच अनुसारको स्वभाव फेरिँदै गएको छ । दुवै त्यत्तिकै खुसी छन् । खुसी हुने, रमाउने कारण पनि आवश्यक थिएन । मनको भाव चेहरामा देखिन्थ्यो । बानेश्वर, मीनभवन, खरिबोटका सडक पेटीमा नजिकिँदै हिड्दा दुवैका अनुहारमा सधैँ मन्द मुस्कानका छाल देखिन्छ । उपस्थितिले मात्र ल्याएको खुसी ।

रेष्टुराँमा जाने पैसा सरोजसँग कहाँ छ र ? चिया र चटपटेमै खुसी छन् । सरोज चियासँग क्रिमरोल, बन खान्छ, विभा चाँहि पानीपुरी, चटपटे र ल्यासिपाऊ । खरिबोट, मीनभवन मोड, बानेश्वरका चिया पसल र फुटपाथका चनाचटपटे ठेला सबैले यो जोडीलाई चिनिसक्यो । उनीहरूको मेनु बुझिसक्यो । प्रेममा जति लठारिए पनि कसैको चियोचर्चो नभएको अचम्मको अवसर उपलब्ध छ । सरोजका त काठमाडौंमा को छ र ? अफिसकी ममता दिदीलाई पनि यी सबै कुरा थाहा छैन । विभाका आमाबुुवा दाजु आआफ्नै धुनमा छन् । वेलावेलामा सुना, मन, लिनुहरू विभालाई जिस्क्याउँछन्– मायाजालमा परेर पढाइ चाहिँ नबिगारेस् नि विभुु ? चम्पा थपिदिन्छे – सिन्धुलीको घाँस–सेउला गर्न सक्लिस्, समयमै सोच है …।

पवन, राजुु, रविहरू सरोजलाई ‘एलएलसीसी’को झटारो बजार्छन् । यस्ता शब्दबाट सरोज झन् मस्त हुन्छ । आफूले राम्रै काम गरेछु कि भन्ने सोच्छ ।
बालाजुु, रत्नपार्क, जाउलाखेल, रमाइलोमेलाका पार्कहरू बिदाका मनोरञ्जन स्थल थिएतर दुवैले कक्षा छाडेनन् । नछाडेर के भो र दुवैलाई आइ.ए.मा दुुई दुई विषय लागिहाल्यो ।

विषय लागेपछि प्रेमलीलाले झनै विस्तारिन पायो । विषय पनि प्रेमले नै लगाएको हो नि ! डेटिङमा चित्लाङ्, कुलेखानी जाँदा ढुङ्गा चिनेर लभर्स चियर बनाएछन् । ढुुङ्गाका अक्षर जत्तिकै नमेटिने प्रेमको प्रतिज्ञा गरेछन् । नारायणघाट, दोलालघाटको बालुवामा प्रेमचिह्न भित्र ‘विस’ बनाएछन् । सुन्दरीजल र ककनी त नजिकका प्रेमपार्क थिए । परीक्षाको असफलतालाई मायाले क्षतिपूर्ति गर्ने क्रम बढेको छ । सच्चा प्रेमीलाई प्रेमभन्दा ठूलो अर्को सफलता के हुन्थ्यो र ?
सरोजका धेरै साथी आइ.ए.मा नै अड्केका थिए । आफ्नो जीवनको एक शैक्षिक सत्र गुमाएकोमा धेरैजसो साथीहरूमा महसुस पनि थिएन । सरोज विभा भने प्रेम प्राथमिकताले पढाइलाई त्यति महत्त्व पाएन ।

सरोज विभाको प्रेमतरङ्ग सिन्धुली खोचसम्म पुुग्यो । सरोजले काठमाडौंकी नेवारनी केटीलाई विवाह गर्दैछ भन्ने सुन्दा पण्डित–पण्डितनीको मनमा साढेसात रेक्टरको भूकम्प गयो । विभामैयाँका आमाबुुवाले पनि सकेसम्म आफ्नै जातको ज्वाइँ चाहेका थिए । उनीहरूले छोरीलाई नसम्झाएका होइनन् तर छोरीको खुसीका लागि उनीहरूले सम्झौता गर्न पुुगे । सच्चा प्रेमले जितेरै छाड्यो । पण्डितको परम्परा छोराको प्रेममा परास्त भयो ।

विभाका आमाबुवबाले छोरीलाई पाँच आना जग्गा अंश दिए । उनीहरूले आफ्नो सम्पत्तिलाई तीन अंश लगाएका थिए । दुःखले भुुइँतले घर पनि ठडियो । विभा पनि आफै पढेको कलेजमा सहलेखापाल बनिन् । सरोजको आइ.ए. पनि क्लियर भयो । परिस्थिति एक एक गरी अनुकूल हुँदै आए । समयले थाहै नपाउने गरी सरोज–विभाको जीवनमा फेर्दै लग्यो ।

सरोजका मिल्ने साथीहरू विनय, हरिस अष्ट्रेलिया, युरोपतिर लागेपछि उसमा पनि विदेश मोह नजानिँदो रूपमा झाँगिन थाल्यो । सानो जागिरभन्दा विदेशमा गरेर पैसा कमाउने लालसाले उसलाई धकेल्दै लगेको थियो । सुरुमा विभाले विदेशमा होइन नेपालमै व्यवसाय गरेर धन कमाउने सुुझाव दिएकी थिइन् । आफै खट्ने, नेवारकी छोरी भएकाले व्यापारको सीप भएको उनको विश्वास थियोतर सरोजको विदेश भूत बढ्दै थियो ।

विभाको पेटमा रहेको गर्भ पनि परिपक्व बन्दै थियो । सरोज विदेश गए जन्मिने बच्चाको हेरचाह सहलेखापालको जागिर र उनको एक्लो जीवनले मात्र सम्भव नहुने उनलाई राम्ररी थाहा थियो । कि त पण्डित परिवारको गाउँले बुहारी भएर सिन्धुलीमा बस्नु प¥यो वा माइतीमा बच्चासमेत रहनुप¥यो । दुवै विकल्प उनका लागि मान्य थिएनन् ।
अफिसबाट फर्केपछि सरोज विभा विदेशको विषयलाई लिएर दिनहुँजसो विवाद हुन थाल्यो । सरोज विदेशको स्वर्णिम सपनाको कुरा सुनाउँथ्यो । विदेशमा डलर कमाएर काठमाडौंमा राम्रो महल बनाउने, टोयटा जिप किन्ने, बच्चालाई रातो बङ्गलामा पढाएर उनीहरूको भविष्य बनाउने सुनाइरहन्थ्यो । भर्खर बीस पुुगेकी विभामैयाँ सरोजसँग प्रेम गरेर गल्ती पो गरेँ कि भनेर सोच्ने गर्थिन् । उनका मनमा अनेकन कुरा आउँथ्यो । गर्भमा रहेको बच्चाका कारण ती कुरामा ब्रेक लाग्थ्यो ।

बच्चा जन्मेपछि सरोज–विधाको जीवनमा छुट्टै रोशनी आयो । दुवै धेरै खुसी छन् । दुुवैले आफ्नो भविष्यको चित्र बच्चा (रञ्जन)को चेहरामा हेर्छन् । रञ्जनलाई राम्रो भविष्य दिने विषयमा सरोज वेलावेलामा चिन्तित हुने गर्छ । सामान्य घर चल्ने जागिरले शिक्षा, स्वास्थ्य र मनोरञ्जन कसरी भ्याउने ?विभाका फर्माएस पनि कम छैनन् ।
रञ्जन जन्मेपछि सरोज कार्यालयमा झनै डेडिकेटेड भएर काम गर्न थाल्यो । उसको कामको हाकिमहरू प्रशंसा गर्थे । ममता दिदी प्रशंसामा उकेरा दिन्थिन् । मन्त्रीकी श्रीमती भएकाले ममता दिदीको प्रशंसाले ठूलो अर्थ राख्थ्यो । सरोजले नियमित रूपमा अतिरिक्त सुविधा पाउन थाल्यो । जागिरको पाँच वर्ष बितेपछि उसको प्रमोशन पनि भयो, अब सरोज सहायकबाट वरिष्ठ सहायक बन्यो । उता रञ्जन जन्मेको दुुई वर्ष नबित्दै उसको भाइ निरञ्जन पनि जन्मियो ।

पण्डितबा’ले सिन्धुलबाट मसिनो चामल, घिउ, दाल, बोडीहरू पठाइदिन्थे । तरकारीहरू अक्सर विभाका आमाबुुवाले पठाउँथे, घर थिदैथियो, व्यवहार राम्रैसँग चल्थ्यो । सरोजको मनोविज्ञान भने फेरिँदै गएको छ । छोरो हाकिम भएको हेर्ने बुुवाको सपना त पूरा भएन, सधैँभरि बुुबाकै खेतीबाट पालिँदा पनि हीनताबोध थियो । यही वेला दुुईजना साथी प्रहरी निरीक्षक भए, दुुईजना शाखा अधिकृत, अर्को साथी राष्ट्र बैंकमा अधिकृत, अर्को साथी चलिचित्रको नायक, अर्को साथी हास्यनेता । मिल्ने साथीहरूको प्रगतिको क्षतिपूर्ति विदेशमा गएर पैसा कमाएर देखाउने, त्यसपछि कि व्यापार वा राजनीति गर्ने सपनाको थाक लगाउँदै जान थाल्यो ।

श्रीमान् पुनः मन्त्री बनेपछि ममताले जागिर छाडिन् । अफिसमा सरोजलाई भरथेग गर्ने मानिस अबरहेन । दिन दिन सरोज विभा विदेशकै विषयमा विवाद गर्थे, रञ्जनले तोतेबोलीमा मध्यस्थता गरेपछि झगडा त्यस दिनका लागि साम्य हुन्थ्यो ।

खरिबोटमा बिहान बिहान चिया खाँदै पत्रिका पढ्ने बानी छँदैथियो । अनेकथरी मानिस आउने चिया पसलमा विदेश रोजगारीको एजेन्ट रमेशसँग भेटभएपछि जर्मनीको प्रक्रिया अघि बढायो, जुनकुरा विभालाई थाहा थिएन । दुुई बच्चाकी आमा, खाउलाउकी बाइसवर्षे जवानी, सहलेखापालको जागिर आफू विदेश गएपछि विभाले के गर्लिन् भन्ने सरोजले कहिल्यै सोचेन । हरेक कुरालाई हलुका लिने बानीले उसले धोका खाँदै आएको छ तर कहिल्यै चेत्दैन ।

सरोजले हेड असिष्टेन्टको जागिर अचानक राजिनामा दिएर आयो । राजिनामा दिएकोमा दुुःखी छैन, जर्मनीको भिसा लागेकोमा खुुसी छ । उपदानको पैसाले एजेन्ट शुल्क र प्लेन टिकट पुुगिहाल्यो । विभालाई सबै योजना बताएको छैन । बताउने साहस जुटाउन सकेको छैन ।

बेलुका सबै कुरा विभालाई बतायो । आफू अगिल्तिर तेर्सिएका अभिभाराबाट आत्तिएकी विभा रातभरि रोएर बसिन् । समाज, जिम्मेवारी, माइती, घर र बच्चाहरूका चित्र अगिल्तिर ल्याएर उनको मन एकतमास भयो । उनले चाहेर नै के गर्न सक्थिन् र ?

जर्मनीमा गएर दुई वर्ष पैसा कमाउने, त्यपछि फर्केर ठूलो व्यवसाय गर्ने योजनापछि विभाले पनि मन बुुझाइन् । बच्चा हेर्ने एकजना केटीको सिन्धुलीबाटै मगाए । विभा घरी–घरी भक्कानिन्छिन्, निरञ्जन हेरेर मात्र बस्छ, रञ्जन किन रोएको ममी भनी आँसु पुछिदिन्छ । बच्चाले नदेख्ने गरी रुने ठाउँ पनि छैन, देख्नेगरी रोएर बच्चाको मनस्थिति बिगार्नुु कति ?

सरोज जर्मनी उड्यो । त्यो दिन विभामैयाँको आँखामा अँध्यारो यसरी छायो कि त्यसलाई व्यक्त गर्ने शब्दै छैन । सरोजले केलोन शहरमा रामैै्र काम पायो । मासिक रूपमा विभाको खातामा पैसा आउन थाल्यो । सयम–समयमा कुराकानी हुन भइरहन्थ्यो ।

परिस्थितिले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ कसलाई थाहा ? सचेत मनले बताएका कुरामात्र पनि पर्याप्त नुहुने रहेछन् । चौबिस पच्चिसकी यौवनालाई अवचेत मनले पनि कता धकेल्छ कता । जिम्मेवारी र माया एकातिर समयले थाहापत्तै नभएतिर तानिरहेछ । फोनमा विभा भक्कानिएर सरोजलाई सबै मन देखाउन खोज्छिन् तर सक्दिनन् । सरोज भने विभाको मन बुुझ्न सक्दैन ।

विभालाई स्वप्नदोष हुन्छ । सपनामा खुसी भएपनि विपनामा भने रञ्जन र निरञ्जन दुुईतिर राखेर सरोजको कल्पना गर्छिन् । सरोजलाई के भएको छ कुन्नि ? टेलिपेथीले पनि उस्तै भएको हुँदो हो ।

कार्यालयमा लेखाअधिकृत प्रवीण नजानिँदो रूपमा विभासँग नजिकिएको छ । सरोज बाहिर गएको अवसरको फाइदा लिने कुत्सित भावना हुर्किएको छ । व्यक्तिगत कुरामा चासो राख्न थालेको छ । एकदिन त अचानक हग गरिहाल्यो । विभा प्रतिक्रियाहीन भइन्, कता कता अँध्यारोमा अलमलिएको सर्पजस्तो । एकपटक उनीमा हात परेपछि त्यो क्रम सजिलै बढ्दै गयो ।

खाजा, चियामा विभा र प्रवीण साथै देखिन थाले । कलेजभरि चर्चा हुनथाल्यो । विभा विद्यार्थीको फि बुुझ्ने काम पनि भुल्न थालिन् । हाकिमले नै साथ दिएपछि काम नभए पनि कसले के भन्ने ? दुवै बिदामा डेटिङ्मा जान थाले । दुवैका पारिवारिक दायित्व छन्, त्यसको सीमा कति काट्न हुन्छ हुन्न पनि सोच विचारमा छैनन् । जतिखेर पनि सरोज र उससँग गरिएका संवादका स्वप्निल सम्झना ताजा छन् । अर्को मनले प्रवीणको आलिङ्गन समयले मागेको छ, भनौँ शरीरले मागेको छ । डरलाग्दो मायाको खेल बढ्दै गयो ।
विभा घरमा एक्लै सोच्थिन्, आफूले सरोजमाथि अन्याय गरेकी छु । दुुई निर्दोष बच्चामाथि अन्याय गरेकी छु । यो मेरो अपराध हो ।

चोखो माया उसको अनुपस्थितिमा देखिन्छ । अब प्रवीणका आग्रह नकार्न सक्ने अवस्थामा विभा छैन । त्यसैले एक मनले सोचिन् जागिर नै राजिनामा दिएर उसको नजरबाटै पर रहूँ । सरोजले पठाएको पैसाले घर राम्ररी चलिहाल्छ । अर्को मन त्यहाँसम्म पुुग्न दिँदैन । उल्टो सरोजलाई दोष दिन्छ । एउटी भर्भराउँदी यौवनाको चाहना नबुुझेर पैसा कमाउन गएको पुुरुष । दायित्वले नारीमनोविज्ञान भुुल्ने मानिस । मैले जे गरेँ परिस्थितिले गरेँ । सरोजको उपस्थितिमा त्यसो नगरे भइगो नि !

सरोजले जर्मनीबाट फोन ग¥यो, झनै राम्रो काम पाएकाले कोलोनबाट डुजेलडोर्फ जान लागेको छु । तिमीलाई के चाहिन्छ म पठाइदिन्छु । दुुई वर्ष धैर्य गर ।
विभा नबोली सुनेर मात्र बसिन् । उनको मनको कुरा टेलिफोनले सरोजसम्म पुु¥याउन सकेन । सरोजले शब्दहीनतालाई स्वीकृति सम्झियो ।

अर्को महिना जर्मनीबाट मिल्ने साथी हरिससँग सरोजले बच्चालाई खेलौना, विभालाई शृङ्गारका सामान, ओभरकोट आदि एक व्याग पठाइदिएछ । विभाले हरिसले दिएको व्याग एक तमासले हेरेर बसिन् । एकमनले ती सामान फालिदिन मन लाग्यो तर फालिनन् । बच्चाहरूबाबाले पठाएको चकलेट खाँदै खेलौनामा रमाउन थाले । विभा हरिसलाई चिया दिँदै सरोजको हालखबरको कुरा गर्न थालिन् । यतिवेलासम्म हरिसले विभालाई राम्ररी पढिसकेको थियो । उनको चाहना र मनको माग बुझिसकेको थियो । म छु नि भाउजु, जे भन्नुु परे पनि मलाई सरोजको साथी सम्झेर भन्नुहोला ।

भोजपुरको धनाढ्य अविवाहित केटो हरिस । विस्तारै विभाकोमा आउजाउ बढाउन थाल्यो । बच्चाहरू अङ्कल भन्ने, आउन जान पनि सजिलो भयो । एकदिन विभा एक्लै भएको वेलामा आएर लामो समय बस्यो । त्यस दिनदेखि विभासँग निकै नजिकिएको छ । विभा पनि खुसी देखिएकी छ । सरोजको आवश्यकता प्रवीण हुँदै हरिसले पूरा गरिदिएपछि विभामा एक प्रकारको चहक आएको छ । मासिक रूपमा सरोजले पैसा पठाएको छ । अब सरोजप्रति आफूले अन्याय गरेकी भन्ने पनि छैन ।

सरोजले नियमित फोन गरिरहेको छ तर विभामा पहिलाको जस्तो निराशा देख्दैन । अब चित्त बुुझाएकी होली भनी ऊ पनि खुसी छ । नेपाल आउने दिनको काउन्टडाउन गर्दैछ । उसले पठाएको पैसाले घरको तलो थप्न भनिरहेको छ । एक वर्षमा घरको तलो पनि थपिसक्ने योजना अनुरूप रात्री सिप्mटमा पनि काम गरेर मरेर पैसा जम्मा गरेको छ ।

हरिसको चाहनामा विभाले सहलेखापालको जागिर पनि छाडिन् । जागिरभन्दा पनि प्रवीणको चाहना पूरा गर्न नचाहेर कलेज छाड्ने निर्णयमा पुगेकी हुन् । हरिस विभालाई प्रवीणसँग नजिक भएको देख्न चाहदैनथ्यो । जागिर पनि छाडेपछि फुक्कमफाल शैलीमा उनीहरू डेटिङमा रहन थाले । अर्को डरलाग्दो प्रेमको नाटक सुरु भयो ।
सरोज आउने दिन पनि आयो । हरिस नै बच्चा र विभालाई साथ विमानस्थल लिन पुुग्यो । साथी भनेको यस्तो हुनुुपर्छ भन्ने पहिचान छाड्यो । विभाले पनि हरिस बाबु नभएको भए कति दुःख पथ्र्यो, उहाँले कति सहयोग गर्नु भो भनी पूmलबुट्टा भरिन् ।

सरोज घर पुुग्यो तर घरको तला थपिएको थिएन । झसङ्ग भयो तर भर्खर भेटेकी विभालाई केही भन्न सकेन । बच्चाहरूको पढाइ र उपचारका लागि पैसा लागेको भनेपछि सरोजले पनि के भन्ने ?

दुवैको जागिर छैन । बच्चाको पढाइ र विभाको सौन्दर्यका लागि खर्चिंदा उसले ल्याएको पैसाले धेरै दिन धान्ने सम्भावना थिएन । बेलुका भएपछि रक्सीमा लठ्ठिने सरोजको नराम्रो लत थियो । हरिस, नारायण र नवराजहरू पनि रक्सीमा सँगै मातिन्थे । विभामैयाँको सल्लाहलाई सरोज ख्यालै गर्दैनथ्यो । बाबाको व्यवहारबाट बच्चाको भविष्य बिग्रला कि भन्ने चिन्ताले विभा भित्रभित्रै जलेकी थिइन् । सरोज आएपछि विभा हरिससँग हिजोको मामिलामा तटस्थ देखिन्थिन् । सचेत मन र शारीरिक आवश्यकताका स्पष्ट सीमाङ्कनले विभालाई आदर्श नारी भन्न सकिने आधार दिन्थ्यो ।

पण्डितबालाई भने उसले पूरै भुलेको थियो । छोरो विदेशबाट आएको सुनेपछि पण्डित’बा पण्डितनीसाथ काठमाडौँ आए । आफ्ना सपना छोराको चेहरामा खोज्ने प्रयासमा सरोजलाई नियालिरहे, गहभरि आंसु छिपाए र भक्कानिए पनि । छोरोको ताल देखेर उनीहरूको मन रहेन, दोस्रो दिन नै मनभरि बह लिएर सिन्धुली फर्के । बुढेसकलको सपना भताभुुङ्ग भएकोमा ईश्वरलाई के गरिस् भन्दै कर्मकाण्ड र पाठपूजामा लीन भए । सरोजलाई काठमाडौं नपठाई कर्मकाण्डमा नै सीमित राखेको भए, एसएलसीपछि गाउँकै स्कुलमा शिक्षक बनेको भए जस्ता छुटेका विकल्पहरू विम्बहरू मनभरि ल्याउँदै सकी नसकी उब्जाएको चामल, दाल र घिउ काठमाडौं पठाउदै रहे । उनीहरूले आफ्नै कर्म र नियतिलाई निकै दोष दिए ।

‘भन त गोमा हामीले कसैको कुुभलो पनि गरेका छैनौ, दानदक्षिणा लिँदा पनि जे जति पायो हात थाप्ने गरेका छौँ, ईश्वरको पूजामा जीवन गइसक्यो, बाबु किन बिग्रेको होला ?’
गोमा सरोजका बाको अनुहार हेरेर मात्र बसिन्, बोल्न सकिनन् ।

‘सुुबुद्धि आउँछ कि ?उसका दिन फिर्छन् कि शान्तिस्वस्ति गर्नुप¥यो । यज्ञ पनि लगाउनुप¥यो’ ।
‘धर्म गर्दा के बिग्रन्छ र ? हुन्छ नि’ । गोमाका मुखबाट यसभन्दा बढी शब्दहरू निस्केनन् ।
पण्डित–पण्डितनी ज्योतिष बाजेकोमा पनि चिना लिएर गए । उसको ग्रहदशा बिग्रेको, भर्खरै साढेसात लागेकोले आउने वर्षहरूझनै बिग्रने सम्भावना ज्योतिषबाजेले बताइदिए ।

विभाले दुवै बच्चालाई नजिकैको आवासीय विद्यालयमा भर्ना गरिन् । रञ्जन र निरञ्जन पढ्नमा निकै तेज थिए । रञ्जन आफ्नो कक्षाको प्रथम छात्र भएकाले पढाइ शुल्क तिर्न पर्दैनथ्यो ।

यसैबीच हरिसलाई अमेरिकाको डिभी प¥यो । केही महिनापछि आवासीय भिसामा ऊ अमेरिका जाँदै थियो । सरोजले हरिसलाई कसैगरी आफूलाई अमेरिका जाने जुक्ति बताउन भन्यो । त्यो सम्भव थिएन । उसले एउटा उपाय बतायो, आफूले विभामैयाँलाई बनावटी श्रीमतीका रूपमा अमेरिका लैजाने, केही समयपछि आफूसँंग कागजी सम्बन्ध विच्छेद गरी डिपेन्डेन्टमा बच्चालाई बोलाउने र पछि सरोजलाई अमेरिका जाने बाटो मिलाउने । सरोजले एक मिनेट नसोची स्वीकृति दियो । कुनै कुरा नसोची भावनामा बहकने उसको बानी यहाँ पनि देखियो ।

सरोज जर्मनीमा रहँदा सरोजले डिभी भर्दा नै विभामैयाँलाई श्रीमती उल्लेख गरेको रहेछ तर बच्चाको नाम भने त्यहाँउल्लेख थिएन । सोझो र साथी भनेपछि भुतुुक्कै हुने, श्रीमतीका लागि मर्न तयार सरोज हरिसको योजनाबद्ध षड्यन्त्रमा शङ्कासम्म थिएन ।

सरोजले विभालाई हरिस र आफ्नो योजना बताएपछि एक पटक बनावटी रूपमा भए पनि विभा निकै जङ्गिइन् । ‘तिमीलाई अँगालाभरिकी श्रीमती छाडेर जर्मनी बस्न त लाज लागेन, लागेन । आफ्नी श्रीमती अरूकी बनाएर पठाउन लाज लाग्दैन ? परिस्थितिले मलाई उसैको श्रीमती बनायो भने ..? पण्डितको छोरो भन्छौ । यस्ता लाछी पनि लोग्ने हुन्छन्, छि !’

सरोजले केही दिन फकायो । विभाले पनि केही दिन राम्रै अभिनय गरिन् । अबउनी राम्रै अभिनय गर्न जान्ने भइसकेकी थिइन् । अन्ततः योजना पारित भयो । हरिस र विभालाई सरोज र बच्चाहरूले त्रिभुवन विमानस्थलमा बिदा गरे ।

भोलिपल्टबाट सरोज सधैँ रक्सीको नसामा डुब्न थाल्यो । बच्चाहरू आवासीय विद्यालयमा रहेकाले घर सुनसान हुने नै भयो । अमेरिकाबाट विभाले आफूहरू सकुसल आइपुुगेको र केही दिन हरिसको नातेदारको पाहुना बन्ने र अन्यत्र सिफ्ट हुने बताइन् । त्यहाँबाट सरेपछि छुट्टै आवास लिई काम गर्न सरोजले भनेको थियो तर ती कुराहरू त्यत्तिकै मुल्तबी रहे । विभाको दिनचर्या बदलियो, कानुुनी श्रीमान् श्रीमती साँच्चिकैमा बदलिन के बाँकी थियो र ? डकुमेन्टले भनेकै थियो, नेपालमा लुकीछिपी श्रीमान्–श्रीमती बनेकै थिए, सात समुद्र पारी परिस्थितिले पनि श्रीमान्–श्रीमती बनाउँदै लग्यो ।

कहिले मियामी बीच, कहिले हवाईको रक गार्डेन, कहिले लस एन्जेलस विभामैयाँको माया मनाउने ठाउँ भए । बालाजु, ककनी, कुलेखानीका प्रेमलीलाहरू यिनै स्थानले विस्थापित गरेका थिए । प्रेमका पात्र र परिवेश बदलिसकेकी थिइन् । अमेरिकी नेपाली समुदायमा पनि यो जोडी निकै सक्रिय थियो ।

बच्चा र सरोजलाई आक्कल–झुुक्कल आउने फोन पनि सातआठ महिनापछि बन्दभयो । यताबाट सरोजले फोन गर्न पनि फोन र ठेगाना परिवर्तनपछि सम्भव भएन । सरोज भौँतारिएर यताउता रल्लिन थाल्यो । सधैँभरि रक्सीमा मातेर कहिले खरिबोट, कहिले नवराजको घर, कहिले नारायणकोमा बराल्लिन थाल्यो । साथीहरूले पनि कति दिन माया गर्ने ?

यसै पनि उसको साथी र नाता सर्कल काठमाडौमा कम थियो, रक्सीमा मातिने, कुनै पेसा नभएको लफङ्गालाई कसले मन पराउने ?
रक्सीको नशामा एकदिन घरको ढोका पनि बन्द नगरी हिँडेछ, बेलुका फर्किंदा टिभी, भाडाबर्तन र एउटा थोत्रो माउन्टेन बाइक पनि चोरले लगिदिएछ ।
परिस्थिति एकसाथ प्रतिकूल हुँदै आए । ससुुरालीले पनि घृणा गर्न थाले । बुुवाआमालाई भुलिसकेको थियो । छिमेकी सरोज भनेपछि उपहास गर्थे । खरिबोटको त्यही चिया पसललाई विभा सम्झी बिहान चियाबाट दिन सुरुगर्दै बेलुका ड्राइभरहरूसँग लोकल रक्सीमा लठ्ठिन्थ्यो । कलेज अफिसका साथीहरूसँग पनि झर्केर बोल्थ्यो । पैसा माग्थ्यो,एक दुुई चोटि त केही पैसा सबैले दिए, सधैँ मागेपछि सबैले बाटो छल्न थाले ।

बाटोमा एक्लै बर्बराउँथ्यो– ‘विभाले भिसा पठाइदिइपछि म यिनीहरूलाई देखाइदिन्छु । सबै स्वार्थी, साथी नाता सबै स्वार्थी …..मेरी विभा ….’ ।
सरोजको हाल ममता दिदीलाई थाहा भएछ । आफै आएर फेरि सम्झाइन् – ‘मैले भनेको तिमीले मानेनौं, विए.सम्म पास गरेर त्यहीँ बसेको भए …। तिम्रा भेना फेरि मन्त्री भएका छन्’ ।

अहिले पनि केही बिग्रेको छैन । एउटा जागिर खोजौँला । विभाले अब नेटो काटी, नयाँ सुरुवात गर । पाएको जीवनलाई खेर फाल्नुहुन्न । हरेक गल्तीबाट शिक्षा लेऊ, दुःखलाई शक्ति मान, धोकालाई अवसर मान । पुुरुषले हिम्मत हार्नुहुन्न ।

सरोज घोसे मुन्टो लगाएर सुनिरह्यो, कुनै प्रतिक्रिया दिने न उत्साह थियो न चाहना नै ।
सरोजको दिनदशा विग्रँदै गयो, नियतिले यसरी खेद्यो कि अगिल्तिरका सबै बाटाहरू यति अँध्यारा भए कि कुनै गन्तव्य बाँकी थिएनन् । जति सोच्थ्यो अत्यासमात्र महसुस गथ्र्यो । आफैप्रति विश्वास गुमाउँदै थियो । प्रत्येक बिहानी अर्को अत्यासको सुरुवात हुन्थ्यो ।

स्कुलको शुल्क नतिरेकोमा अन्तिम चेतावनी पत्र आयो । सधैँ प्रथम स्थान लिने निरञ्जन पनि सामान्य उत्तीर्णमा झर्न पुुग्यो । सबैका आमाबुवा शनिबार खाना, खेलौना लिएर विद्यालय जान्थे, रञ्जन र निरञ्जन बाटोमात्र हेरिरहन्थे । उनीहरूको अनुहारमा वितृष्णा थियो, डिप्रेसनमा जाँदै थिए ।

पचास लाख जाने घर पाँच लाखमा धितो राखेर ऋण लियो । दुवै बच्चाको एक वर्षको शुल्क भुक्तान गरिदियो । बच्चालाई मीठा खाजा र खेलौनाहरू किनेर लगिदियो । स्कुलको चौरमा दुवै बच्चालाई दुुईतिर राखेर खेलायो । बाबाजस्तो नबिग्रनुभन्ने शिक्षा पनि दियो । ममीले फोनसमेत नगरेको पनि बतायो । सायद ममी बिमारी भइहोली, चिन्ता नलेऊ भनेर सुुमसुम्यायो र बिदा भयो ।

अमेरिकाबाट दशैँ मानेर फर्केका सासू–ससुरामार्फत विभाले चिठी लेखेकी रहिछन् । ‘सरोज तिमी आफ्नो अर्को सुरुवात गर । नियतिले तिमीलाई स्विकार्ने अवस्थमा रहिन । बच्चाहरूको ख्याल गर । म हरिसको साँच्चै श्रीमती बनेँ । बाबु जन्मेको पाँच महिनाजति भयो । हामी केटी मानिसका लागि एउटा पुरुष आधार चाहिने रहेछ । त्यो आधार पहिला तिमी थियौ, अब हरिस बन्यो । मलाई धोकेवाज नमान । बिदा’ ।

आज सरोज बेस्सरी खुसी भएको हो कि होस गुमाएको केही भन्न सकिने अवस्थमा छैन । राती ढोका थुनेपछि विभा तिमीले के गरेकी ? म विश्वास गर्न सक्दिन चिच्याएको छिमेकले सुनेका थिए । राती सुतेको सरोज फेरि कहिले निस्केन ।

-गोपी मैनाली

images
प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - २१:२७:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend