Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गोरे दाइ गए, खोला पनि सुक्यो ! ("विशृङ्खलित सपना" कथासङ्ग्रह बाट )

गोरे दाइ गए, खोला पनि सुक्यो ! ("विशृङ्खलित सपना" कथासङ्ग्रह बाट )

नेप्लिज डायस्पोरा

२९, मंसिर २०८१
images
गोरे दाइ गए, खोला पनि सुक्यो ! ("विशृङ्खलित सपना" कथासङ्ग्रह बाट )

गोरे दाइ गए, खोला पनि सुक्यो !

 

सबैका प्रिय गोरे दाइ । चार वर्षका बच्चादेखि असी वर्षका वृद्धसम्म सबैका गोरे दाइ । घट्वारे गोरे दाइ । घट्टमा आउने सबैको गोरे दाइ । गोरे दाइ नाम नभएर हृदयको सम्बोधन थियो । कसले चिन्दैन गोरे दाइलाई ? भोजपुर, दिक्तेल, रुम्जाटार लगायत पूर्वतिरबाट आउने बट्वारेदेखि मलौटा व्यापार गर्ने रोशीखोला भएर हिँड्ने सबैका प्यारो नाउँ थियो गोरे दाइ । हामी बच्चाहरू त गोरे दाइ पनि भन्न नजानेर गोर्दाइ पो भन्थ्यौँ ।  

साँच्चै प्रकृति र त्यस भेकको यात्रा सबैले घम्लङ्ग अङ्गालो हालेको छ गोरे दाइलाई । धन भएर होइन, मन भएर चिन्दा रहेछन् मानिसलाई । 

गोरे दाइले घट्टमात्र चलाएनन् । त्यस भेकको जीवन नै चलाइदिए । घट्ट आउन नसक्नेका घर घर गएर मकै, गहुँ ल्याएर पिँंधेर लैजाने पनि गरे । रोशीखोला तर्न नसक्ने बालबालिका, बटुवा, घाँसपात, मेलापात गर्ने महिलालाई निशुल्क खोला तारिदिएर सेवा पनि गरे । छेका हानेर माछा फँसाए, माछा पोलेर घट्ट आउनेको रोटीको सितन बनाए । 

घट्ट त जोर घट्ट पनि छ । झोलुुङ्गेको हर्कदाइको पनि छ, भ्mयामुन्ने दहको पनि छ । गोरे दाइको घट्ट विशेष छ । सबैको प्राथमिकता गोरे दाइको घट्ट हो । 

घट्वारे बन्नु पेसा थियो कि धर्म । गर्न त गोरे दाइले पेसा नै गरेका थिए, तर पछि पेसा कम सेवा बढी हुन गयो । खोला तार्न त उनी माहिर छँदै थिए, गोठालाहरूसंँग, घट्ट आउनेहरूसंँग बाघचाल खेल्न पनि त्यत्तिकै माहिर । बाख्राले नै बाघ थुनिदिने । सितिमिति नहाँस्ने गोरे दाइ बाजीमा बाघचाल जितेपछि भने दिल खोलेर हाँस्थे । 

घट्टले पिस्ने काम गथ्र्यो, गोरे दाइका हात नाम्लो, दाम्लो, माछा मार्ने जाल बुन्न व्यस्त हुन्थे । पानी खेलेर पातलिएका औंलाभरि नाम्लो बुन्ने सियोले घोचेर, कुलो थुन्दा ढुङ्गाले किचेर, गँगटाले टोकेर दागैदाग थिए । मानिस कर्मले पनि धर्म गर्छन्, कर्मले नै सेवा गर्छन् भन्ने उदाहरण थिए गोरे दाइ । परिश्रमका पुजारी । काम नगरी बसेको कहिल्यै देखिएन ।  

असार–साउनमा उर्लिएको रोशीले पनि गोरे दाइलाई बगाएन । पौडी खेल्न पनि त्यति जान्ने होइनन् तर उर्लिएको मुल्का कसरी काट्नुपर्छ भन्ने कला जानेका थिए गोरे दाइले । 

त्यो जीर्ण शरीरले अदम्य साहसले घट्ट चलाउँथ्यो । पिठ्यूँमा ढाकर बोक्थ्यो । खोलाको बाढीले भत्काइदिएको कुलोको बाँध थुन्थ्यो, भारी बोक्थ्यो, दाउरा चिथ्र्यो, रूख चढेर डाले घाँस काट्थ्यो । सिँढी कुदेर बाटो बन्थ्यो । बाटाको डिलका केत्तुकीका लाफ्रा पनि गोरे दाइको हातले पाट बन्थ्यो, नाम्लो–दाम्लो बन्थ्यो । बगरका ढुङ्गा छिनोले ठुँगेर घट्ट, जाँतो, सिलौटो, रोटी पकाउने ढुङ्गो बन्थ्यो । घाम डाँडा लागेपछि ढडिया थापेर माछा समाउने, जाल हान्न पनि उत्तिकै पोख्त । 

यति धेरै कुरा गोरे दाइलाई कसले सिकायो होला ?

त्यो परिश्रमी झन्डै वृद्ध मानिस रोशीखोलाको भानिज पथ्र्यो रे १ मामाले भान्जालाई माया गरेर दक्षिणा दिन्छन् । रोशीखोलाले पनि गोरे दाइलाई सँंधै माया ग¥यो । खोलाको किनारमा रहेको घट्टलाई खोलाको भेलले कहिल्यै भत्काएन । पहराको खोचमा रहेको घट्ट कहिल्यै पहिरोले पुरिएन । टिक टिक कुरु ....र्र को घट्टको आवाजमा रोशीखोला सुसाएको स्वावा...आ संँग रमाएका गोरे दाइ १ के रमाए भन्नु, प्रकृति चाँहि गोरे दाइसँंग रमाएको थियो । प्रकृति पनि परिश्रमीसँग रमाउने त हो नि १ 

परिश्रमीहरू प्रकृतिमा सानो सृष्टि गर्छन् । हराभरा बनाउँछन् । गोरे दाइले पनि प्रकृतिको पूजा गरेका छन् पसिनाले । 

गोरे दाइ घाम नअस्ताउँदै हाम्रो घरमा आएर भने–‘बुहारी, तिम्ले दिएको खीर खाएर आज पृथ्वीनारायण भए’ । बिहान घट्ट जाने समयमा गोरे दाइलाई आमाले खीर खान दिनुभएको रहेछ । साउन पन्ध्रमा गाउँमा खीर खाने चलन, मीठो बाँडेर खाने गाउँको चलन । पृथ्वीनारायणलाई खीरको सगुन भएजस्तै गोरे दाइलाई पनि घट्टमा आक्रमण गर्नेलाई परास्त गर्न सगुन भएछ । सितिमिति नरिसाउने गोरे दाइ आज भने निक्कै रिसाएर आई लाग्ने माथि जाइलागेछन् । रिस नउठ्नेलाई लाटो रिस उठ्छ । 

इतिहासलाई श्रुतिमा टिपेका छन् गोरे दाइले । राम शाहको न्याय,मल्लराजाहरूको प्रजाप्रेम, पृथ्वी नारायणको पराक्रम, बिसे नगर्चीको कथा सुनाउँथे गोरे दाइ । टौदहको नाग रिसाएपछि रोशीखोला बाढी आउँछ भन्थे । हामीहरू ठाडो कान लाएर सुन्थ्यौं । खोइ के भनेका होलान् गोरे दाइले १  

गोरे दाइ आज पनि झिसमिसेमा नै घट्ट गए । रघुचौर, कामी डाँडा, थिङ्टोल, चिप्ले, खार्पाचोकदेखिका घट्ट आउनेको भीड छ । हिजो रातदेखि घट्ट चलेको चल्यै छ । दश पाथीको दुई कुरुवा पीठा ज्याला उठाउँदा पनि चारपाथीजति मकैको र एक पाथीजति गहुँको पीठो लिएर गोरे दाइ साँझ फर्के । सिस्नोको फाँडोसँग दुई गाँस ढिंडो टिपेर फेरि घट्ट फर्के । 

रोशीखोला किनारका कुलोहरूमा भेटिने जलुको र सिस्नोको सितनसँग ढिंडो देख्दै स्वादिलो गरी खान्छन् गोरे दाइ । 

कति खुसी छन् गोरे दाइ । घट्ट चल्दा पनि खुसी, खोलो बाढी आउँदा पनि खुसी, मकै पाक्दा पनि खुसी, जालभरि ढडियामा माछा पर्दा पनि खुसी । मानिसलाई कामले खुसी बनाउँदो रहेछ । 

सधैँ खोलासँगै खेल्ने गोरे दाइ दा¥ही काट्दैनन्, कपडा पनि धुँदैनन् । दाँतमा कहिलेकाँही सजिवन र बैंसको घोचो दल्छन््, त्यति माझ्दैनन् । कालो वेस्टकोटमा टल्किएको मयल परैबाट देखिन्छ । निधारका चाउरी धाँजामा पसिना र पीठोको धुलो बेस्सरी टासिएको छ । पटपटी फुटेका पाइतालामा हिलो माटो खाँदिएको छ । नभ्याएर होइन, नगरेर मयल टल्किएको हो । पसिनाको हस्को परै आउँछ । गाउँका बुढापाका त्यसलाई ‘गोरे दाइ गन्ध’ भनेर जिस्क्याउँथे । उनलाई त्यही मन पर्दो हो । आफ्नो त आफूलाई जे पनि मन पर्ने !

ठूली आमा, अर्थात् गोरे दाइ कि अर्धाङ्गिनी । सबै कि ठूला आमा । ‘आँ नानी छुट्टी’ भनेर मच्चिई मच्चिई गफ गर्छिन् । गफको थेगो र शैली पनि ‘आँ नानी छुट्टी’बाट सुरु हुन्छ । बोलीमा तामाङ लवज पनि छैन । हामी बच्चाहरू ठूली आमाको वरिपरि कुखुराको चल्ला झैँ झुम्मिन्छौँ । ‘ला नानी खा’ भन्दै गुलियो पनि नहालेको, सिमल र दारको बोक्राको दाउन हालेको सेल रोटी भाँचेर दिने गर्छिन् । फापरको नुनिलो सुख्खा रोटी, जुनेलोको भोल्टा, भुटेको बदाम, भट्मास, केही न केही दिन्छिन् । दिएर खानुपर्छ भन्ने आदर्श छ ठूली आमासँग । हामी सबैकी ठूली आमा । हाम्री आमालाई पनि खुवै माया गर्छिन् । हाम्री आमा कि एक मात्र दुःखकी साथी ठूली आमा १ 

तामाको झ्याँगामा कट्कटिएको ढिँडोको माम्री पनि कति मीठो ! पाखण्डको गर्मीमा त्यै माम्री खाएर कति दिन म अघाएको थिएँ । आमाहरू बाँडेर खान खुवै सिपालु हुन्छन् । लाग्छ, आमाहरूलाई भोक लाग्दैन । होइन, अरूलाई खाना दिँदा आमाहरू अघाउने गर्छन् । 

गोरे दाइजस्तै ठूली आमा पनि कहिल्यै बिमारी परेकी थिइनन् । यसपाली भने निकै गलेकी छन् । 

आमालाई भन्दै थिइन् ‘यसपाली त रोशीखोलाले तान्छ कि क्या बैनी । तिम्रो गोरे दाइलाई घट्ट भए पुगिहाल्छ ।’

आमा गहभरि आँसु झारेर सम्झाउनु थाल्नु भो ‘दिदी केही हुन्न । हामी केटी मानिस, बच्चा पाउनुप¥यो, घर पनि धान्नुप¥यो । दुःख निक्लिएको हो दिदी । औषधि गर्नुपर्छ । केही हुन्न ।’ 

‘आँ बैनी, सीमेभूमे लागेको छ रे ! स्यार्पा लामाले पनि फुके । लाउरे झाँक्रीले कालो भाले काटेर मन्छेको छ ।’ 

गोरे दाइको संसार ठूली आमाले धानेकी छन् । घट्ट चलाउनेले घर चलाउन कहाँ जानेका हुन्छन् र ? तिरान–धरान, औँचो–पैँचो सबै ठूली आमाको भरमा । खेतीपाती, गाईबाख्रा सबै ठूली आमा सम्हाल्छिन् । 

साँच्चै लच्छिनकी छन् रे ठूली आमा ! खान नपुग्ने गोरे दाइको पाँच छ हलको बारी, खर पाखो, खयर घारी, कुखुरा–बाख्राका बथान सबै ठूली आमाको व्यवस्थापन । निरफटाइमा घट्ट जाने, उस्तै परे घट्टमै बुदुने माछा, नून खुर्सानी र सुख्खा रोटी खाएर रम्ने गोरे दाइलाई घरको कुरा के थाहा ? छोराबुहारी पनि अह्राएको बाहेक कहीे जान्दैनन् । 

‘आँ बैनी, ईश्वरको आँखा नपरोस् भनेको । राम्रै थियो । यसपाली त सपना पनि बिग्रिएको छ । भैंसीले लखेट्दै रोशीतिर लान्छ, कहिले राक्षसले कोपर्छ । पहराबाट रोशीतिर लडाइ दिन्छ । रात परेपछि डर मात्र लाग्छ । डरले सुत्नै मन लाग्दैन, थकाइले आँखा लागिहाल्छ । मनले पनि हरेस खायो ।’ 

‘केही हुन्न दिदी । मुटु दह्रो गर्नुपर्छ’ । मनोबल उकास्न होला आमा सम्झाइरहनुहुन्छ । 

गोरे दाइ गहभरि आँसु टिलपिलाएर दलानमा उभिए ‘दिदी गयो भने म पनि जान्छ होला बुहारी । अल्लारे छोरा बुहारीले के गर्ला ? हामी गए सम्झाइदेऊ ।’ 

गोरे दाइ आमालाई बुहारी भन्ने गर्छन् । 

‘केही हुन्न गोरे दाइ ! धामी झाँक्री होइन । डाक्टर, कम्पाउन्डर बोलाउनुपर्छ कि । ढिलो गर्नुभएन ।’

‘खोइ बुहारी कसलाई पो बोलाऊ । बोकेर धुलिखेल लान पनि सक्दैन । कम्पाउन्डर रुद्रबहादुर पनि मधेशतिर छन् रे !’

विचरा गोरे दाइ निराश छन् । घट्टमा बाघचाल पनि खेल्न छाडे । छिट्छिटै घर आएर ठूली आमाको सिरानमा बस्न थाले । 

न गोरे दाइ न ठूली आमा कहिल्यै बिमारी परेको थाहा थिएन । ठूली आमा बिछ्याउना पर्दा आमाले पनि हरेस खानुभएको छ । 

वेलावेलामा आमाले लगिदिएको जाउलो, नून पानी, गोरे दाइले बनाएको सिस्नोको लेदो पनि निल्न नसक्ने भइन् ठूली आमा । घाम उकालो लागेपछि रोगले च्याप्दै लान्छ । आजबाट भोलि, भोलिबाट पर्सि ठूली आमा शिथिल बन्दै छिन् । 

केही भन्न खोजे झै आँखामात्र टुलुल्ल छन् । बोली  बन्द रहेको पनि केही दिन भयो । हामी बच्चाहरूलाई पनि ठूली आमा हेर्न सकिनन् । 

उज्यालो नहुँदै गोरे दाइको घरमा मानिसको भीड छ । गाउँ नै थर्काउने गरी कुुकुरहरू भुकिरहेका छन् । चिप्ले, अम्बले, थिङटोल, ल्घानटोलका मानिसहरू जम्मा भएका छन् । ठूली आमाको आत्मा संसार छाडेर गइसकेछ । गोरे दाइ ठूली आमाको शिरानतिर टोलाएर आँसु झार्दैछन् । लामाहरू सोल्मा बाट्न र गाउँलेहरू रथ बाँध्दै छन्् । आमातिर हेर्दै गोरे दाइ गगल्चिए–‘गयो बुहारी गयो, मलाई एक्लै छाडेर तिम्रो दिदी गयो, मेरो रथ डुब्यो ।’ 

गोरे दाइको हालत हेर्न नसकेर आमासँगै हामी घर आयौं । आमा भित्र नपसी तित्रीको चौतारीमा बसेर रुँदै हुनुुहुन्थ्यो । 

आकाश निकै कञ्चन छ । गोरे दाइको घट्टमुनि ठूली आमा केही घण्टामै धुवाँमा परिणत भइन् । आज घट्ट पनि सुनसान छ । खोला पनि निदाएजस्तो चकमन्न छ । 

ठूली आमा बितेपछि गोरे दाइ सधैँ झोक्राएर ठूली आमा जलाएको ठाउँतिर हेरेर दिन काट्न थाले । बाघचाल पनि खेल्न छाडे । घट्टको ज्याला पनि उठाउन छाडे । 

गोरे दाइले खान पनि छाडेछन् । घट्ट आउनेको लर्को पनि घट्दै गयो । बाख्रा–कुखुराहरू पनि विस्तारै मासिँदै गए । रोशी खोला पनि उराठिलो भावमा सुसाउन थाल्यो । 

घुँडामाथि टाउको राखेर झोक्राँउदा झोक्राउँदै गोरेदाइ पुक्लुक्क गएछन् । खोलाले घट्ट पनि बगायो । घट्ट माथिको समीको चौतारो पनि आधा सुकेर मर्दैछ । अबत रोशीखोला पनि बगर मात्र बाँकी छ । 

 

-गोपी मैनाली 

images
प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - ०३:५७:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend