Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रवि लामिछानेको मुद्दा टुङ्गिन तीन वर्ष लाग्ने अनुमान

रवि लामिछानेको मुद्दा टुङ्गिन तीन वर्ष लाग्ने अनुमान

images
रवि लामिछानेको मुद्दा टुङ्गिन तीन वर्ष लाग्ने अनुमान

 

काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गर्नुभएको हो ।  

 

सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले उनी स्वतः निलम्बनमा पर्ने एकाथरीको मत  थियो भने अभियोग पुष्टि नहुँदासम्म निलम्बन गर्न नहुने अर्काथरीको मत रहेको थियो । 

 

आइतबार नै कास्की प्रहरीले रविविरुद्ध मुद्दा दायर भएको पत्र संसद् सचिवालय र सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सो पत्र लगत्तै सभामुखले परामर्श थाल्नुभएको थियो। रास्वपाले लामिछानेलाई संसद्बाट निलम्बन गर्न नमिल्ने तर्क गरिरहेको थियो । 

 

लामिछाने गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका थिए । उनीविरुद्ध हिजो मुद्दा दर्ता भएको हो । उनीसँग सम्पत्ति शुद्धीकरण मामिलामा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ र पोखराको सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो माग गरिएको छ । रविविरुद्ध रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत अनुसन्धान भइरहेको छ । 

 

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लामिछानेमाथि लगाइएका तीनवटै आरोप जघन्य प्रकृतिको रहेको बताउनुहुन्छ । लामिछाने पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभर उनको सांसद पद निलम्बन हुने र दोषी ठहर भए सांसद पद जाने बिडारीको तर्क छ । निर्दोष ठहर भए निलम्बन फुकुवा हुने उहाँको भनाई छ । 

 

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि पूर्वाग्रही नभएको स्पष्ट पार्नुभएको छ । अदालतमा गईसकेको विषय भएकाले बाहिर बहस गर्नुको कुनै औचित्य नभएको उहाँ बताउनुहुन्छ । 

 

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ । अभियोग पत्र दायर भएसँगै लामिछानेसहित सो मुद्दामा संलग्नहरूको बयान पनि आजबाट सुरु भएको छ । पूर्वडीआइजी छविलाल जोशीको बयान सुरू भएको छ ।

 

पहिलो दिन इजलासमा १५ वटा प्रश्न सोधिएको भए पनि बयान सम्पन्न नभएकाले भोलि (मंगलबार) पनि निरन्तर हुनेछ । छविलालको बयान सकिएपछि अन्य आरोपितहरूको बयान हुने अदालत स्रोतको भनाइ छ ।

 

लामिछानेसहित प्रहरी हिरासतमा रहेका प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाउने, धरौटी वा तारेखमा छाड्ने भन्ने आदेश गर्ने छ । 

 

लामिछानेको मुद्दा टुङ्गिन कति समय लाग्छ त ? यो चासोको विषय भइरहेको छ ।  संविधानविद् एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लामिछानेको मुद्दा अन्तिम किनारा लाग्न कम्तीमा पनि तीन वर्ष लाग्ने बताउनुहुन्छ । ‘जिल्ला अदालत, उच्च अदालत हुँदै आवश्यक पर्‍यो भने सर्वोच्च अदालतसम्म आइपुग्दा करिब–करिब मेरो अनुमानमा अन्तिम किनारा हुन ३ वर्ष जति लाग्छ होला, भट्टराईले भन्नुभएको छ । 

 

images
प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - २१:०९:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend