पाल्पाको रामपुरमा रहेको शहीद बहुमुखी क्याम्पस धनधान्याञ्चल श्रीमद् भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ चलिरहेको छ ।
‘शहीद क्याम्पसको चाहना, संकाय थप, सिपमूलक शिक्षा र छात्राबासको स्थापना!’ भन्ने नाराका साथ सञ्चालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगीतमय कथा वाचन भईरहेको छ ।
शहीद क्याम्पसमा संकाय थप्ने, सिपमूलक कोर्स थप्ने र छात्राबासको व्यवस्था गर्ने उद्देश्यका साथ यो महायज्ञ संचालन गर्न लागिएको आयोजकले बताएका छन् ।
महायज्ञको दोस्रो दिन बुधवार १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ दान संकलन भएको छ । जस अन्तर्गत नगद ६ लाख ९ हजार ४ सय ८१ रुपेयाँ र १० लाख रुपैयाँ बराबरको जग्गा दान प्राप्त भएको छ ।
महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराईले सबै भन्दा बढी दान गर्नु भएको छ । उहाँले १० लाख रुपैयाँ बराबरको ४ आना जग्गा र १ हजार ५सय ५५ नगद गरि १० लाख १ हजार ५ सय ५५ रुपेयाँ दान गर्नु भएको छ ।
यस्तै रामपुर ५ वेझाँड निसी बहादुर थापा र विष्णु कुमारी थापाले नगद १ लाख १ हजार ५ सय ५५ रुपैयाँ दान गर्नु भएको छ ।
यस्तै दरैठाँटी माध्यमिक विद्यालयले ७३ हजार ७ सय ६१ रुपैयाँ महायज्ञमा दान गरेको छ ।
यसैगरी रामपुर ८ पाल्पा निवासी कृष्ण प्रसाद घिमिरेले ५५ हजार ५ सय ५५,रामपुर ५ वेझाँड निवासी ज्ञानेन्द्र प्रसाद गैरेले ५५ हजार १ सय ११ ,विरुवा गाउँपालिका ६ चिन्नेवास निवासी बुद्धिमाया लम्सालले ५१ हजार ५सय १० रुपैयाँ दान गर्नु भएको छ ।
महायज्ञको पहिलो दिन मंगलबार रामपुर नगरपालिकाको ५१ लाख ५१ हजार ५ सय ५१ र नगद २ लाख १६ हजार ८ सय ५२ नगद गरी ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो ।
दोस्रो दिन सम्म महायज्ञबाट ६९ लाख ७७ हजार ८ सय ८४ रुपैयाँ बराबरको दान संकलन भएको छ । यस्तै महायज्ञमा १सय ७५ मुरी धान संकलन भएको धान संकलन संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो ।
महायज्ञमा तुला दान, लाखबत्ति प्रज्वलन लगायतका विभिन्न कार्यक्रम भईरहेको छ । महायज्ञ यही पौष २३ गतेसम्म सञ्चालन हुनेछ ।