Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेमञ्जरी (कथा)v ✍️ सन्दीप संग्रौला 'दिलदु:खी'

प्रेमञ्जरी (कथा)v ✍️ सन्दीप संग्रौला 'दिलदु:खी'

नेप्लिज डायस्पोरा

३, चैत्र २०८१
images
प्रेमञ्जरी (कथा)v ✍️ सन्दीप संग्रौला 'दिलदु:खी'

" ममी यो केको किताब हो ?"

 

" केहीको पनि होइन ।"

" यसमा त तपाईंको नाम छ त ? "

छोरी दिप्शिखाका प्रश्नका तीरले दीक्षालाई अजमञ्जसमा रोमलिदियो । हुन त दीक्षा आमाको मुख हेर्न माइती आउँदा छोरीलाई नलिइकन आएको भए पनि हुने, आज वर्षौंपछि विद्यार्थी जीवनमा छपाएको उनको कथाको किताब माइतीमा हुँदा उनी सुत्ने कोठाको दराजमा सबैभन्दा तल खाँदिएको रहेछ । 'उमेरमा एकपल्ट साहित्यकार जो पनि बन्छ' भन्छन् यस्तै दीक्षाले आफ्नो उमेरमा कथाहरूको सङ्ग्रह छपाएकी थिइन् । उनलाई लक्ष्मीप्रसाद बन्नु थिएन पारिजात बन्नु थिएन तर एउटा उमेर जुन उमेरमा प्रेमका ज्वालामुखीले उनलाई जलाएको थियोे अझ भनौं दिलिपको नपाएको प्रेममा विक्षिप्त बनेको बेला उनलेे आफ्ना चाहनाहरूको बीभत्स हत्या भएपछि डायरीमा टिपिन् । अक्षरको कुलोबाट सिञ्चित भएका अमूर्त भावनाहरू र छापिएको थियोे कथा सङ्ग्रह 'दीक्षाका इच्छाहरू' । आज माइतीघरमा आमाले पस्किएको खाना खाएर कोठामा पसेकी दीक्षा उनको पछिपछि आएकी दीपशिखाले दराजको यो किताब धुलिया टक्टक्याएर हातमा बोकेर निस्किन् । यही किताब देखेपछि चलचित्रको रिल जसरी दिलिपसँगको अधुरो प्रेमका ती दिनहरू सम्झेर खुइया सुस्केरा हालिन् दीक्षाले.......

 

चुम्लुङ पार्कमा भव्य कार्यक्रम छ । राष्ट्रियस्तरका कलाकारहरू प्रमोद खरेल, एलिना चौहान शान्तिश्री परियार लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । त्यसैले त चुम्लुङ पार्क जग्गेमा बसेकी बेहुली जसरी सिंगारिएको छ । आजभन्दा बाह्रपन्ध्र वर्ष अगाडि खाली खाली रहने नागीडाँडा मेयर अर्जुनले चुम्लुङ पार्क बनाएपछि तरुनी बनेको छ यतिबेला । दाँगपाका मेन्छ्याहरू पालामका स्वर उराल्छन् यहीँ मुसाङ्खेलका बालनेहरू खैंजडीका तालमा नाच्छन् । यहीँ सुङ्नामका सेतो गुराँस समूहको मारुनी नाच देखिन्छ यहीँ र बसन्तपुरका शेर्पा बहिनीहरू दोजा लगाएर छमछमी नाच्छन् ।

 

मञ्चमा प्रमोद खरेलले, 'मबिना कसै कसैलाई' गजल गाउँदैछन् । मञ्चको दाहिने कुनामा दीक्षा, तुलसा, मनिषा, बिनिता लगायत माझखर्कका युवतीहरूको जमात पनि यही मेलामा छन् । दीक्षा आज रातो कुर्था सुरुवाल, रातै सल अलिकति हिल भएको स्यान्डलमा छिन् । सानो तर बाटुलो मोहना ठिक्कको उचाइ अनि बोल्नु अगाडि हलुका लज्जा देखाएर मुसुक्क मुस्कुराएर बोल्ने बानी यतिबेला दीक्षालाई देख्ने हरेक केटाहरू फिदा हुन्थे । उमेरले दिएको श्रृङ्गारले सजिएकी चञ्चली दीक्षा सबैभन्दा ठूलो आवाजमा हुटिङ लगाउँथिन् वरिवरीका तन्नेरीहरू पिलिक्क हेर्थे आँखा जुध्थे तर दीक्षा भुइँतिर हेर्थिन् त् । यही तन्नेरीको हुलमा दौरा सुरुवाल  इस्टकोट र मखमलका साडी चोली लगाएका चार पाँच जना तरुणीतन्नेरी थिए श्रीमान स्मारकका बिद्यार्थी जसले पनि स्थानीय कलाकारको तर्फबाट डान्स देखाउने योजना थियो त्यसैले पनि यिनिहरुको सान अलिक बेग्लै देखिन्थ्यो

 

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे... साउन्ड सिस्टममा लाग्यो गीत गडहाट गुन्जियो । ताली र हुटिङ अनि मञ्चको दाहिने कुनाबाट राष्ट्रिय झण्डा फरफराउँदै निस्किए । हातमा रातो रबर बाँधेका डान्सर दिलिप प्रकाश सम्राट चाँदनी सरिता र ललिता उद्घोषकले नाम लिइसकेको  थियो । डान्स म्यासुम गीतमा थियो एक अन्तरा सकिएपछि गीत बदलियो यो नेपाली शिर उचाली संसारमा लम्कन्छ। केटा नाच्दै टुक्रुरुक्क बसेका बेला  केटीले ढाकाटोपी समाउने स्टेप थियो । दिलिपको टोपी चाँदनीले समाउने बेला भुइँमा खस्यो ओ गड एकछिनका लागि खज्मजियो डान्स टोपी टिपेर लगायो दिलिपले चाँदनीले मिलाइदिई पछाडिबाट तर दर्शकदीर्घामा हुटिङ्गको सुस्केरा लागिहाल्यो । गीत बदलियो टंक बुढाथोकीको चर्चित गीत, 

'सय तीन डिग्री ज्वरो मायाको'

'एक मुस्कान ओखती नै भो'

'रातो मैले भिरेको'

'तिम्ले इशारा सुहाको गरेको'

 

साँच्चै आकाशमा बिजुली चम्किए हृदयको अन्तस्करणमा त्यो ढाकाटोपी खसाउने केटाले दीक्षाको मनमा बज्र खसाईदियो आँखा एकटक गइरहे । त्यही त्यसैले त ऊ आँखा नजुधून् भनेर अर्कैतिर हेर्न बल गर्छे तर मनले हुत्याउँदो रहेछ अर्कोतिर हेर्यो एकछिन फेरि पुगिजान्छन् त्यहीँ....चुम्लुङ पार्कका लालीगुराँस चैतमा फुल्लान् तर यतिबेला दीक्षाको दिलमा फुलिरहेको चाहिँ के हो त्यो दीक्षाले पनि थाहा पाइरहेकी छैन् । 

 

घाम चित्रेडाँडाबाट ओरालो लागे तरुणीतन्नेरी पनि जिस्किँदै-मस्किँदै घर-घर जाने तरखरमा लागे । यो मेलामा भेटिएका हजारौं भिडमा कति प्रेमी-प्रेमीका हुँदा हुन् साटे होलान् जालेरुमाल माझखर्कका किशोरीहरू पनि लागे । ओरालैओरालो बजार अलिक तल दिउँसो नृत्य देखाउने स्मारकको टोली गफिँदै झर्दै थिए । तुलसाले दीक्षालाई कोट्याउँदै भनी, " ओए त्यो टोपी खस्नेसँग सेटिङ्ग तँ मिलाउछेस् कि म मिलाम् ? " दीक्षालाई हृदयमा झस्का लाग्यो । मनले बोल्यो 'त्यो त मेरो मान्छे हो नहेर है साथी' तर मुखले भनी, " छ्या तँलाई नै आउँछ केटा हेर्न, तैँ गर जे जे गर्छेस्...." तुलसाले सबैले सुन्ने गरी कराई, "ओ टोपी खसाउने , हाम्री साथीसँग माया बसाउने ??" उताको टोलीमा अलिक उत्ताउलो प्रकाश थियो जवाफ फर्कायो टोपी खसाउने हैन हो दिलिप काजी थापा भनेर सर्च गर फेसबुकमा सेतो सर्ट लगाएको फोटो छ है प्रोफाइलमा.. मेरो चाहिँ प्रकाश कार्की है निलो भेष्ट लगाएको फोटो छ ... गललल हाँसेँ स्मारकका केटाकेटी दीक्षाले तुलसालाई चिमोटी जवाफ फर्काउन । पिट्न खोजी तर दगुरेकी दीक्षालाई भेटिन.. विस्तारै अगाडि लागे सुङ्नामे किशोरीहरू .... तल लम्बुखोला एकनाशले सुसाइरहेको थियो त्यस्तै  आवाज दीक्षाको मनमा पनि चलिरहेको थियो निरन्तर.....

" हाई "

" हेल्लो "

" के छ खबर "

" ठिक छ अनि तपाईंको ?"

" मेरो पनि ठिक छ, कसरी चिन्नुभयो आइडी ?"

" प्रकाशले भन्नुभएको थियो याद गरेँ नि !"

" ए याद गर्न त तिमी अद्वितीय रहिछ्यौ त ?"

" तपाईं फेरि नाच्न अद्वितीय हुनुहुँदो रहेछ ।"

" अनि साँच्चै त्यो दिन कतिबजे पुग्यौं घर ? "

" आठ बजे अनि तपाईंहरू नि ?"

" हामी पनि आठैबजे । "

" आबुई कहाँ अलमलिनु भयो र ?"

" सम्राटको घरमा बस्यौं । "

 

दीक्षा र दिलिपको पहिलो दिनको मेसेन्जर च्याट सम्वाद त्यसपछि परिवार पढाइ उद्देश्य लगायतका कुराहरू भए राती अबेरसम्म च्याट भइरह्यो कुराकानी सकिने थिएन होला तर दिलिपको मोबाइलमा बेटरी सकियो । दिलिपसँगको सम्वाद सकियो तर दीक्षा आफैसँग अन्तरसम्वाद गरिरहिन् मनमा खुसी पनि डर पनि काउकुती पनि एकैचोटी लाग्यो। अचम्म पहिलो दिनमै तिम्रो बिएफ छ कि नाई भनेर   कसरी सोध्न सकेको होला दिलिपले, अझ छैन भन्दा पनि ढाँटेको होला पो भन्छ । दिलिपले सोधेको थियोे त दीक्षाले पनि जि.एफ. छ कि नाई सोध्न मन लागेको थियो तर आँटै आएन मुटु ढुकढुक ढुकढुक गरिरह्यो । बेचैनीले सताएर मोबाइल राखेको फेरि हातमा लिई लक खोली र च्याटहरू दोहोर्‍याएर पढी एक मन त लाग्यो अफलाइनमै तपाईंको चाहिँ जि.एफ. छ कि नाई ? भनेर सोधौँ लेखेकी पनि थिई तर पठाउन सकिन हात काँपे अनि मेटाइदिई र मोबाइल सिरानीमुनी राखी रात धेरै छिप्पिएको थियो आकाशमा टहटह जुन लागेका थिए ऊ बाहिर गई आई  ढोका बन्द गरी लाइट बन्द गरी आँखा बन्द नहुँदासम्म मुटुको गति बढिरहेको थियो ।

 

" दिउँसो के गर्यौ ? "

मोबाइल ख‍ोल्ना साथ मेसेज आइरहेको रहेछ दिलिपको,

" बरभोटे ग'की थेँ । "

" क्षेत्रीनी पनि भोटेँसँग ग'की ?"

" बरभोटे ग'की भनेँ मैले भोटेँसँग ग'की भनेँ र ?"

" तपाईंले चाहिँ दिउँसो के गर्नुभयो ?"

" केही गरिनँ पराल राख्ने माच बनाउनु थियो त्यही बनाएँ ।"

"  ए......"

" बनाउन त अर्कोकुरा पनि बना'छु तर काम लाग्छ लाग्दैन थाहा छैन ?"

 

" के बनाउनु भयो अर्को चाहिँ ?"

 

" मायालु राख्ने मन बनाएँ ।"

 

" हो र काम लाग्छ होला नि यति राम्रो मान्छेको मायालु राख्ने ठाउँ किन काम नलाग्ला..र "

 

" हेरम कसै कसैले पत्याए भने...."

" तपाईंले मन पराएको मान्छेले तपाईंलाई माया गरुन् शुभकामना । "

 

" साथ मागेका मान्छेबाट शुभकामना मात्रै पाइयो भने के गर्नु ?"

 

" सबैको साटो शुभकामना म दिन्छु अनि माया त जसलाई चाहनुहुन्छ उसले दिइ हाल्छन् नि नृत्यकारलाई...त "

 

" ए हो र.. जसलाई चाहन्छु उसले माया दिनेभए मलाई तिम्रो दिलमा नाच्न देऊ न त.."

 

यो मेसेज मोबाइलको स्क्रिनमा देखिना साथ दीक्षालाई डर लागेको जस्तो भयो हातबाट मोबाइल हुत्याईदिई सिरानीतिर । फेरि टिङ्ग घण्टी बज्यो ।

दिलिपले पठाएको थियो मेसेज, " किन नबोलेकी ? " बोल्नका लागि शब्द हुनुपर्छ यतिबेला दीक्षा खाली छे रित्तिएकी छे अथवा अब्यक्त भावना सल्बलाएर उकुसमुकुस छे ।

 

आज फुरुङ्ग छन् दुवै मन । हिजोको सल्लाह मुताविक भेट भएका छन् ढोणेनीखोलामा स्कुलबाट फर्केर बाख्राको घाँस काट्न गएकी दीक्षा र मामल जाँदै गरेको दिलिपले भेटेर प्रेमील कुराकानी गरिरहेका छन् । स्वर्गको एक टुक्रा आज धर्तीमा आएको भान भएको छ अथवा भनौ दुई मुटुको मिलन नै स्वर्गीय आनन्द हुनेरहेछ । उसो त बैसको उन्मादमा रत्तिएको मन र व्यवहार दिलिपको हुँदो हो त यस्तो एकान्तमा नभेट्ने थिइन् दीक्षाले तर इमान्दार छ दिलिप बरु घाँसको भारी पुर्‍याउन्जेली छेउ छेउमा उभिएर कुरा गरिरह्यो बातमा अल्मलिएर पनि घाँसै काटिनन् । दीक्षाले फेरि पनि भारी त हाल्नु थियो हालिन् निधारमा नाम्लो लगाएर उठ्न लाग्दा दिलिपलाई हात दिँदै भनिन्, " तान्नु न "

" हातमा समातेर ? "

" उम् ।"

" मेरो फेरि हात समातेपछि नछोड्ने बानी छ.....।"

" हो र, मेरो फेरि मन जसलाई दिन्छु तन पनि उसैलाई दिने र जिन्दगीभरि साथ निभाउने सपना छ । "

" डर लाग्दैन मलाई हात समाउन दिन ? "

पुलुक्क मुखमा हेर्यो दिलिपले ।

" डर लाग्दैन किनकी विश्वास लाग्छ तपाईंको । "

" धेरै विश्वास नगर है म त बदमास छु नि ।"

" हो र जतिसुकै बदमास भए पनि सम्बन्धमा बदमासी नगर्नु ल ? "

 

साँझ पर्न लागेको छ । घरभन्दा परको चौतारामा भारी बिसाएर बसेका छन् गफिएर दुई प्रेमील मनहरू । 

" दिलिप !?"

" हुम् ।"

" हाम्रो माया मुनामदनभन्दा गहिरो कि फिक्का ? "

" मुनामदनको जस्तो माया त के गर्नु हाउ तड्पी तड्पी मरे दुवैजना, मालती मङ्गले पनि वायुपङ्खी घोडामा उड्न त उडे तर धर्तीमा सँगै बाँच्नै पाएनन् रथ दुर्घटनामा पर्यो लैलामजनूको पनि प्रेम त गहिरो थियोे मजनुलाई पिट्दा लैलाको शरिरभरि निलडाम भएका थिए । हैन प्रेममा उतारचढाव नभएका सरल र सफल प्रेमकथा त कुनै छैनन् कि क्या हो ? "

 

दिलिपले दीक्षाको मुखमा हेर्यो ।

छन् नि भारत उत्तराखण्डको लोककथामा आधारित राजुला मालुशाही राजकुमार राजकुमारीको कथा.. कति पीडा भोगेका छन् परिवारले छुटाइदिन कति गर्छन् मन्त्रीहरूले कति तड्पाउँछन् फेरि पनि अन्तिममा कसरी मिलन हुन्छ है...!

 

" खै ! आफू राजकुमार परिएन थाहा भएन । "

 

" काजी त हो नि तपाईं, तपाईंलाई याद होला नि नेपालमा माथवर सिंह थापाभन्दा अगाडिका प्रधानमन्त्रीलाई काजी भनिन्थ्यो । "

 

" यसको मतलव मलाई प्रधानमन्त्री बनाएर गृहमन्त्री हुन खोजेकी छ्यौ ? "

 

किरिङ्गरिङ्गरिङ्ग करिङ्गरिङ्गरिङ्ग गोजीबाट मोबाइल निकालेर हेर्दै दिलिप बोले, " ला ! मामाले फोन हान्नुभएछ । "

" हेल्लो नमस्कार मामा ।"

" हजुर ढोणेनी खोला तरेँ आउँदैछु मामा अलिक साँझ पर्यो आइहालेँ ।"

" हवस् ।"

काटियो फोन तर दीक्षाको काटियो मुटु छुट्ने बेला भएको सम्झेर, "ओ मेरी  राजुला, अब घर त सँगै  नजाने होला नि घर म अघिअघि जान्छु एकछिन पछि आऊ ल । "

मालुशाही अथवा दिलिपको बोली थियो । मुखबाट वचन निस्केन तर हवसको इशारामा टाउको हल्लाई दिएर तल बरभोटेतिर हेरिरहिन् । लहलह बहलिँदैछ धान, उस्तै लहलह छ मनमा दिलिपको माया के धान पाके जस्तै प्रेम पाक्ला र भण्डारमा भित्रिएला... लम्बुखोलामै बिलाएर बगेको छिपुवा जसरी दीक्षा आफूलाई दिलिपमा बिलाएर बग्न चाहन्छिन् ..

 

" बेलुका शिवालय मन्दिरमा भजनकिर्तन छ आउनु ल मामासँग...."

" आउदिनँ म त "

" आउनु न सौरभ अंकललाई म फोन गर्छु भण्डारी प्रणिता तुलसाहरू पनि आउँछन् । "

 

" खै विचार गरम्ला ।"

 

" हवस् विचार त गर्नुु तर नआउने विचार नगर्नु है ।"

 

" बिहानको दिलिपसँगको च्याटपछि कहिले घाम अस्ताउँछ जस्तै लाग्यो दीक्षालाई शिवालय मन्दिरमा सबैभन्दा छिटो पुगी, हल बढारी कुर्सी मिलाई पेप्सीका बोत्तलमा पानी ल्याएर राखी । किर्तनमा दिलिप आउने भएर पनि जिउ हलुका भएको महसुस गरेकी छ । उत्साह छ मनमा तर सबैभेला भएर किर्तन शुरु गरिसक्दा पनि सौरभ अंकल तुलसाहरूको टिम आइपुगेको थिएन एकमन त मेसेज गरौं भन्ने लाग्यो रिस पनि उठ्यो किन ढिला गरेको होलान् । भनेर बाहिर निस्केर पर बाटातिर आँखा बिच्छ्याउँदा सल्लेरीका घर तल्तिरको बाटोमा पल्याकपिलिक लाइट बलेको देखियो मनमा सन्तोषको श्वास फेर्दै भित्र पसिन् ।

 

" किन ढिला गर्नुभयो त अंकल ? "

" तुलसा ढिला आइन् अनि..."

बिचमै कुरा काट्दै बोली तुलसा, "महारानी घरका धन्दा पनि गर्नुपर्यो नि हजुरका जस्तो ममी बाबाले सबै काम गर्न सक्नुहुन्न नि त हाम्रा । "

अरुसँग मुखले कुरा हुन्छ दिलिपसँग आँखा जुध्छन् वाक्य फुट्दैन ।

 

रातो बुट्टा भएको हरियो रङ्गको लेहेङ्गा चोली रातो ऊनको ज्याकेट  सेतो टाउजर  हरेकृष्ण लेखेको गेरु सल घाँटीमा एक फन्का घुमाएर एक टुप्पो अगाडि एक टुप्पो पछाडि पारेर लगाएकी दीक्षा अनि निलो जिन्स पाइन्ट हरियो फिटिङ भेष्ट माथी वैजनी रङको ज्याकेट लगाएको छ दिलिपले यी चुम्बकीय धातु जस्ता आत्माहरू घरिघरि आँखा जुधाउँछन् फेरि भुइँतिर हेर्छन् यस्तै प्रक्रिया दोहोरिई रहन्छ ।

 

अबको पालोमा भजन लिएर आउँदै हुनुहुन्छ दीक्षा पाण्डे ... पररर ताली बज्छ । अनुमति लिएको भावमा दिलिपलाई हेर्छिन् । दिलिपका आँखाले स्विकारोक्ति दिन्छन् ...

 

कति मीठो भजन गाएको कति मधुरो छ स्वर अझ मिलेका मादल हार्मोनियम छ्याँईछ्याँई बाजा र ताली, नाच्दिन भन्दाभन्दै तुलसा र सौरभले तानेर नचाई छाडे दिलिपलाई....

 

प्रसादीको पञ्चामृत बाँड्दै आइन्  "हात थाप्नु न पञ्चामृत खान "

" ए हातै थाप्नु, पात दुना छैनन् सुङ्नाममा ?"

" छ न त चारकरे खड्कुला पनि छन् तपाईंलाई समातेर खान अफ्ठ्यारो होला भनेर नल्याएको, ल्याइदिऊँ ?"

 

टिट फर ट्याट, यतिबेला दिलिपलाई भन्नु केही थिएन । प्रसाद खाएर ती प्रेमील परेवाहरू पनि छुट्टिए अरुसँगै....

 

समय बित्न पनि बेरै लाग्दैन अघिल्लो वर्षको उधौलीउभौलीमा मेला लाग्दा चुम्लुङ पार्कको कार्यक्रममा भेटिएका दिलिप र दीक्षा प्रेमको पवित्र बन्धनमा बाँधिदै आए, मायाको सङ्लो खोलामा बग्दै आए अब फेरि दुवैजना कक्षा १२ को परिक्षा दिन बसन्तपुरमा भेटिने भएका छन् दीक्षा शान्तिला तुलसाहरूसँग बस्ने बन्दोबस्त भएको छ मंगलबारेमा भेटिने र बस चढेर जाने सल्लाह छ उनिहरूको ।  कालो च‍ोलीमा कलेजी रङ्गको साडी लगाई राता नयाँ स्यान्डल हातमा रातो लेडिज पर्स सामान्य मेकअप र निधारमा कालो टिकी चिटिक्क परेकी दीक्षाले ममीसँग गएर भनी ममी साडीपिन दिनु न.. ममीले जिब्रो बाहिर निकाल्दै भन्नुभयो ।

 

"आमोउ कान्छी खुब बेहुली बनिस् त परीक्षा दिने जाने कि पोइका घर जाने हाउ तँ ..." 

 

दीक्षालाई फेरि एकपटक ऐना हेर्न मन लाग्यो, " साँच्चै राम्री छु त म ? अँ राम्रै भएरै त दिलिप जस्तो राम्रो केटाले मन पराएको नि, " भन्ने सम्झेर घुटुक्क थुक निली र निस्किई घरबाट ।

 

" डल्ली " 

" हजुर "

" यता हेर त "

" कता "

" यी आँखामा हेर न, के देख्यौं ? "

" मैले त मलाई नै देख्छु । अब विश्वास भयो यी आँखामा तिमी बस्छ्यौ भनेर ? "

मुसुक्क मुस्कुराउँदै बोल्छिन् दीक्षा, "पागल"

आज बसन्तपुरबाट मुडे जाने बाटो माथीको नागीमा एकजोडी राजुला मालुशाही बसेका छन् । ब्यस्त बजारको कोलाहलभन्दा पर गोधुलीको समयमा १२ को परीक्षा दिन बसन्तपुर आएका विद्यार्थीहरू यसो बजार भर्न निस्किन्छन् । दिलिप र दीक्षा साथीहरूको आँखा छल्दै मेसेन्जरमा कुरा गरेर याक होटल अगाडिबाट शेर्पा डाँडा जाने ढुङ्गा छापिएको बाटो हुँदै अगाडि बढ्छन् मनमा माया जति छ त्यति नै गाउँका चिनेका मान्छेले देख्छन् कि भन्ने डर पनि छ । माथी डाँडामा झुरुम्म परेका केही गुराँसका बुट्यानहरू छन् त्यही गुराँसको डाली भाँचेर दीक्षा ओछ्याउँछे । दिलिप बस्छ अलिक पर बस्न खोज्छे दीक्षा अनि सरेर उतै जान्छ दिलिप । दीक्षा उठेर परतिर सर्न खोजेकी थिई गम्लङ्ग अंगालो हाल्यो दिलिपले... हातमा चिमट्छे दीक्षा र भन्छे ' पागल, मान्छेले देख्दैनन् ? 

लुकीछि पी लुकिछिपी किन मन पराउनु, साँचो माया गर्ने भए दुनियाँसँग किन डराउनु....गीत गुन्गुनाउँछ दिलिप

 

घुँडामा मुन्टो टोक्दै निरुरेर बसेकी दीक्षा पनि गीत गुन्गुनाउछेँ ।

 

मनले त तिमीलाई छोडी नजाऊ भन्छ, कहीँ  गए साथै लानू

ए ! के भनेकी तिमीले माया हुँ म तिम्रो तिम्लाई छोडी कहाँ जानू 

 

मेरो माया तिमीलाई दिएँ तिमीलाई...

 

त्यो स्वर्णिम पल मायाका अनेकौं बातचित भए ।झ्याउँकिरी बास्न थाल्नु अगाडि भोलि परिक्षापछि बसपार्कमा भेटेर चुम्लुङ पार्क जाने सल्लाह गर्दै छुट्टिए ।

 

"ओए प्रकाश देखिस् दिउँसोदेखि हराएको दिलिप भरखर टुपुल्कियो ।

साथी भनेर मात्रै हुन्छ र साँझको खाना कहिल्यै बनाउँदैन ।"

प्रकाश बोल्नु अघि नै सम्राटतिर हेर्दै दिलिप बोल्यो " बिहानको खाना मैले तिमीहरूलाई बनाउन भनेको छु र ? घरमा हुँदा केही नबनाउने मान्छे म तिमीहरूका संगतले भात पकाउने भाँडा माझ्ने भएको छु । 

 

दिलिप भात पकाउने मान्छेकै बन्दोबस्त गर्दैछ जस्तो छ छोड दे के सम्राट रिस नगर

 

सालेको भाग्य चाहिँ हो यार कक्षामा सँगै पढ्ने चाँदनी छे । कक्षा बाहिर जता गयो उतै पट्याउँछ । हामीलाई कसैले हेर्दैनन् ।

 

"ओह‍ो मङ्गलेकी मालती आइछे है राडी ओछ्याइदेऊ शान्तिला !"

तुलसाले दीक्षा ढोकामा नपुग्दै कटाक्ष गरिन् ।

" छोड्देऊ यार भाँडा माझ्ने वालीलाई के सताउनू ? " मुसुमुसु हाँस्दै शान्तिलाले थपिन्, " हामीसित पन्ध्र दिन बस्दा भाँडा माझ्न झर्को मान्ने दीक्षा जिन्दगीभर भाँडा माझ्ने घर छान्न भने कत्रो हतार छ है ?"

दीक्षातिर हेर्दै शान्तिला र तुलसा दुवै हाँस्छन् ।

 

" ओए सोल्माली बोलिस् ?"

अलिकति आक्रोशपूर्ण बोली थियो दीक्षाको,

" सुङ्नामे जस्तो पोइका घर जान हतारिदैनौ सोल्माली बुझिस् । "

 

" हेरम्ला नि बुढीकन्या बस्नेहरूको पनि नतिजा ।"

यसपटक ठाउँमा प्रहार गरी दीक्षाले

" बाझेरै बस्छौं कि पढ्छौ पनि होए नट्टी हो... ल ल  तँ आफैँँ पढ कक्षाको विषय पनि मायाको बिषय पनि..."

 

" पागल, आजको विषय कस्तो भयो है तपाईंको परीक्षा ? "

 

"ठिकठिकै दुईवटा जति चिटले भेटेको थियोे धन्न गार्ड बाहिर गयो र लेख्न पाइयो, अनि तिम्रो नि ? "

 

" मेरो पनि ठिकठिकै भयो गार्डले हल्लिन दिएको होइन । "

 

आज दीक्षा र दिलिप त्यही ठाउँमा घुम्दैछन् जहाँ पहिलो भेट भएको थियो यी दुई आत्माको । ब्यागबाट फ्रुटी जुस झिकेर एउटा दिलिपलाई दिई आफूले एक्ट्रो लगाएर चिरिप्प तानी । जुसभित्र हृदय शित्तल भयो उसै शित्तल छ दिलिपको साथको पल अनि हात समाउँदै हिँड्न पाउनु बस् के चाहियो र दीक्षालाई ? 

 

चुम्लुङ पार्कको घरको लकर 

 

चुम्लुुुङ पार्कको टहरामा एक बुढी बज्यैले टपरामा सेलरोटी र फर्सीका बियाको धुले अचार बेच्छिन् , दिलिपले एक रोटीको टुक्रा हातमा लियो र खुवायो दीक्षालाई दीक्षाले पनि उसैगरी झन्डै सड्किएको कत्रो ठूलो टुक्रा हालिदिएकी दीक्षाले धन्न आधा टुक्यो दिलिपले आधा बच्यो दीक्षाको हातमा ख्वाप्प आफ्नै मुखमा हाली । मानौ दीक्षाले दिलिपको जुठोमा आफ्नो जिन्दगी पाई । हुन पनि त दीक्षा जीवनभरी दिलिपको जुठो खान चाहन्छे ।

 

" ऊ त्यहीँ थियो मञ्च । " तिनधुरे घर अगाडि देखाउँदै भनी दीक्षाले । " त्यहाँनेर उभिएकी थियौ हैन मेरी डल्ली ? "

" उम् लाम्चे ! "

पुलुक्क हेरी कटाक्षको हेराई ।

 

चुम्लुङ पार्कका उधौलीउभौलीका थानथपना गाडिएका शिलालाई साक्षी राखेर प्रेमको दरिलो बन्धन बनाए यी दुईले जाँदाजाँदै देउरालीमा सँगै पाती चढाए जन्मजन्मान्तरको सहयात्राको बाचा गरेर जाँदा आउने शनिबार आर आर गार्डेन घुम्ने सल्लाह गरेर साँझमा बसपार्कमा पुगेर छुट्टिए ।

 

बिदाको दिन आर आर गार्डेनमा यसै पनि पर्यटकिय भिड हुनेगर्छ झन् यतिबेला १२ को परीक्षा दिन दागपा फुलेक सुङ्नाम र धनकुटा मारेक कटहरेका विद्यार्थी ओइरिएका छन् ।आज परीक्षा चलिरहेको समयको अन्तिम शनिबार भोलि आइतबारको परीक्षा दिएर कति भोलि नै फर्कन्छन् नत्र पर्सीसम्ममा त बजारको आधा चाप घट्छ कमर्स फ्याकुल्टीका विद्यार्थी भने शुक्रबार मात्रै सकिन्छ परीक्षा त्यो भएर पनि बसन्तपुर बसाइको यो अन्तिम शनिवार प्रायः सबैजसो परिक्षार्थी आज लालीगुराँस र ढुङ्गाको सुनौलो बगानमा घुम्न निस्किएका छन् । यिनै भिडमा छन् दीक्षाका टोलीका शान्तिला, प्रणिता विनिता मुकुन्द तुलसा अनि अर्को पछि पछि आउँदै गरेको भिडमा छन् । दिलिप, सम्राट, प्रकाश, चाँदनी, सरिता, ललिता, सुगम, बब्लु लगायतका दिलिपका टोलीहरू मनले त हातै समातेर हिँड्न मन छ दिलिपको डर छ दौंतरीको ।

 

" ऊ ऊ  हेर न कसै कसैको दिलको राजकुमार ? "

" धेरै बढी नहोऊ है तुलसा । "

 

" हैन मन पराउँदिनस् ? मन पराउँदिनस् भने भन है मेरो चान्स आइहाल्छ कि ? "

 

" छ्या हो पुग्यो न तुलसा नजिस्या यार । " माया लाग्दो अनुहारमा अनुनय गरी दीक्षाले प्याट्ट कुममा हानेर कुँदी तुलसा, " भाग्यमानी छेस् यार हेन्सम पाएकी छेस्

 

ओ म‌ंगलबारेका सोल्टिनीहरू पानी बोक्नु भाछैन ?"

शान्तिलाले बोली, "पर जानू न लम्बुखोलामा जति पनि पाइन्छ ।"

 

"ओए काकाकुल ! पानी माग्दा त्यस्तो भन्छन् ? " दीक्षा थपक्क उभिई सम्राटका हातमा पानी दिई पियो सम्राटले बब्लु सरिता ललिता चाँदनीले खाई पानी र दिलिपलाई दिई बोत्तल । दीक्षालाई ईर्ष्या लाग्यो दिलिपको हातमा आफू दिन चाहन्थी दिलिपले खाएर अलिकति बचेको पानी आफैले खाई र खाली बोत्तल मिल्काईदिई । चाँदनीले किन हेेरेकी होली खाउला जसरी दीक्षालाई के गलत गरी र जिन्दगीको राजाले खाएर बचेको पानी खाई घरमा हजुरबाले खाएर अन्तिममा छोडिदिएको दुई गाँस भात हजुरआमाले स्वाद मानी मानी खाएको देखेकी दिई दीक्षाले एकछिनका लागि तिनै पात्रमा आफूलाई उतारी र खाई पानी ।

 

ग्रुपमै घुमघाम भयो धेरैले फेसबुक आइ.डी. साटासाट गरे कतै सिङ्गल फोटो कतै जोडी फोटो आलोपालो गरी गरी खिचिए तस्बिरहरू  । सम्झनाको पहाड तिनजुरे भन्दा अग्लो बढाउँदै घाम ओरालो लागेपछि सबै बसन्तपुर झरे हुलमा अल्लारे केटाहरू त हुन् रन्काए गीत,

 

मोझ गरियो बाबाको पैसामा

थाहा पाइएन अल्लारे बैसमा

यो दिल मेरो छिया छिया भो

नसकियो सम्पत्ति कमाउन ढल्क्यो उमेर न त बिहे भो ।

 

मंगलबारेका तरुणीहरू पनि हार मान्नेवाला कहाँ थिए र राधिका हमालको गीत रन्काए

सङ्गी साथी सबैको बे भयो ?

मेरो मात्रै के भयो के भयो ?

माता भवानी 

ए माता भवानी, ढलक ढलक ढलक ढलक ढल्क्य‍ो जवानी

 

शान्तिलाले स्वर झिकी । प्रणिता, तुलसा, विनिता, दीक्षा सबैले भाका थपे अझ तुलसाले त कुर्रै हाँकीदिई

सायद केटाहरूलाई लाग्यो सकिन्न यार अब चुप नबसे लाजमर्दो स्थिति आउँछ । साँझमा बसन्तपुर पुगेर बाई बाईको हात हल्लाउँदै छुट्टिए सबै ।

 

बाघमाथि खिचेको तस्बिर मेसेन्जरमा पठाउँदै दिलिपले लेख्यो, " सिंहमाथी मेरी दुर्गा भन्ने क्याप्सन लेखेर फेसबुकमा हाल्दिम ?"

 " हिम्मत छ ?" 

प्रतिप्रश्न गरी दिई दीक्षाले ।

" दुर्गाले मलाई महिषासुर सम्झेर मार्न खोजेको हो र ?" 

प्रश्नको जवाफ पनि प्रश्नमै आउँछ दिलिपको ।

घोसेमुन्टोको इमोजी पठाउँदै लेखी दीक्षाले.. " पागल तपाईलाई त मेरो आयु पनि थपेर बचाउन पो चाहन्छु त कसरी मार्छु मैले ?"

लव रियाक्ट गर्यो मेसेजमा र लेख्यो दिलिपले, "लव यु डल्ली । " प्रतिउत्तरमा लेखी, " लव यु टु माई हर्ट "

 

भोलि परीक्षा सकेर त घर जाने हामीहरू तीनबजे मंगलबारेको बसमा हो र हामी पनि जान्छौं होला

 

अब कहिले भेट होला है हाम्रो ?

मङ्सिरमा, किनभने परीक्षा पास गरिन्न होला बाउले बिहे गरिदिने होलान् । माग्न आउछु नि ल म ।

 

एउटा कुरा भनुम ? 

के हाउ भन्नू न,

हामी चुम्लुङ पार्कमा घुमेको तिम्रो हजुरबाले देख्नुभने मसित पैसा माग्थे कि नाई ?

" किन पागल ?"

" बाबै राँगो पाल्ने मान्छे अरेन्त " हाँसेको इमोजीसँगै राखेर पठायो मेसेज ।

" WHAT ?? "

सबै अक्षर ठूलो अल्फावेटमा राखेर पठाई मेसेज पठाई मानौं ठाडो आपत्ति हो उसको ।

 

" डल्ली !! जिस्क्याउन पनि पाउँदिन र तिमीलाई ?"

रिप्लाई दिन्न दीक्षा

" सरि डल्ली "

अब फर्काउँछे मेसेजको जवाफ 

"इड् ओके पागल "

 

नोकिया मोबाइलक‍ो स्नेक पज्जल जस्तो जिन्दगी खुसीका पोइन्टहरू बढ्दै बढ्दै जिन्दगी लम्ब्याउँदै लग्यो कहाँ कसरी कुन धरापमा परिदिन्छ थाहै नहुने, लुँडोको गोटी जस्तो जिन्दगी अनेकौं सर्पको मुखबाट बचाउँदै सानातिना भर्‍याङ चढाउँदै लिएर गयो अब जितेँ है भन्ने बेलामा छयानब्बे मा आउँछ सबैभन्दा लामो सर्प त्यसले स्वात्त पारिदिन्छ र गोटी झर्छ तेह्रमा जिन्दगीमा पनि त यस्ता अनगिन्ती मोड आउँदा रहेछन् । विपक्षीका नौ वटै गोटी बोर्डमा हुँदा क्विन हान्न थाले पनि क्विन छिरेन भने हारिँदो रहेछ खेल यस्तै रहेछ यो दुनियाँको चलन ।सर्कसमा उकालो चढ्दा पो मज्जा मान्छ मान्छे जब स्वात्त घुम्दै झर्छ जमिनतिर तब सिरिङ्ग हुन्छ जिउ आतिन्छ कहालिन्छ र रुन्छ मान्छे यस्तै भयो दीक्षाको जिन्दगीमा पनि ।

 

" जसलाई दिलमा राखेको थिए उसैले यत्तिका समय भ्रममा राखेको थाहा पाएँ थुन्चेले छोपिन्जेल देखिँदैन तर डोकाले छोपेको दिन सबै छर्लङ देखिन्छ । थुक्क धोकेबाज.." रिसाएको इमोजी सहित मेसेज आयो दिलिपको अचम्म भई दीक्षा र सोधी

"के भयो पागल तपाईंलाई ? "

 

" हो हो  हो म पागल भएको छु, तैंले बनाइस् नि मलाई पागल, जब सम्राटसित चक्कर चलिरहेको थियो त मलाई किन मायाको नाटक गरिस् ? "

 

" के भयो हाउ आज तपाईंलाई ?"

 

" अझै नखरा पार्छेस् है नौटङ्की, तेरा लागि के गरिनँ आज यस्तो हालतमा पुर्‍याएर छोडिस् धन्न सम्राटले भन्यो दीक्षा मेरो ग्रलफ्रेन्ड हो भनेर र तेरो चरित्र थाहा भयो । "

 

दीक्षालाई आफू उभिएको धर्ती भासिएको भान भइरहेको थियो ओठ तालु सबै सुके उभिएको ठाउँमा थचक्क बसी मोबाइल हेरि राखी मेसेजका तीरहरू आइरहे मुटु छेडीँरहे ।

 

"धोकेबाज तँ मबिना बाँच्न सक्छेस् भने म तँबिना बाँच्न सक्दिनँ भन्ने ठानेको छेस् ।"

 

This people is not available ... 

 

टाउको माथी बज्र त्यतिबेला बज्रियो जब दिलिपले फेसबुकमा ब्लक गरेको नोटिफिकेसन आयो

 

ऊ निरीह बनी भक्कानो छुटेर आयो कोठामा गई ढ्याप्प ढोका बन्द गरी र घोप्टो परि बेडमा रोक्न खोजेर रुवाइ तन्ना मुखमा टोकेकी थिई सकिनँ क्वाँ क्वाँ रोई कोठाका चारभित्ता बाहेक कसैले देखेनन् रोएको कसलाई के भन्न सक्थी र छाती पिटीपिटी रोइ रही ।

 

सम्राट दिलिपकै साथी हो तीन जुरे घुमेको दिनपछि साथी भएको थियो । बोल्थ्यो सामान्य हिसाबले उसले पनि राम्रै सम्झेर बोल्थी त्यही भएर त उसलाई लाग्यो फेसबुकको ब्लक गरेको छ दिलिपले नम्बरमा कल गरेर सम्झाउँछु भनेर लगाई नम्बरमा कल उस्तै तीखो बोली

 

" के लुट्न पुगेन र फोन गरेकी ।"

 

" मेरो आइ.डि. तपाईंले नै हेर्नु हुन्थ्यो बेलाबेला अनि सम्राट तपाईंकै साथी हुनाले कहिलेकाही बोल्थे कसरी मलाई छोडेर टाढा हुनुभएको मेरो प्राण... " बोल्दाबोल्दै रोई दीक्षा ।

 

"धेरै गोहीका आँसु नझार आजबाट तँ तेरो खुसी म मेरो खुसी " यति भनेर फोन काट्यो दिलिपले फेरि फोन हान्न खोजी दीक्षाले तर नम्बर ब्लकमा परिसकेको थियो ।

 

दीक्षालाई केेेही पर्दा दिलिपले जोगाउँथ्यो तर आज दिलिपले नै तीर हान्दैछ दीक्षालाई कसले जोगाउँछ ?

 

जन्मजन्म सँगसँगै बिताउने बाचा गर्दै जगियामा बसेका बेहुला बेहुली जगियामै बसेका बेला भूकम्प आउँदा बेहुलो बारीतिर र बेहुली चउरतिर दगुरेको देखिन्छ । यो संसारको सामाजिक नियम पनि एउटै गतिमा चलिरहेको बेलासम्म न लाग्ने हो । बेस्सरी  हुण्डरी चलेको बेला कसैको घरको छानो उतारिदिए जस्तो अचानक आउने घटनाले सबै उथलपुथल पारिदिन्छ । छानो होउन्जेली सबै आपत त्यहाँ पुगेपछि पार लाग्छन् भन्ने सम्झन्छौ हामी छानै उड्यो भने के जोगिन्छ र घरको यस्तै रहेछ मान्छेको जिन्दगी पनि..."

 

"हेल्लो दीक्षा म चाँदनी, याद छ तीन जुरेमा तिमीले दिलिपले खाएर बचेको पानी खाइदिँदा मैले आँखा तरेकी थिएँ चिन्यौ मलाई, अझ्झ चिनिनौ चुम्लुङ पार्कमा नाच्दा दिलिपको टोपी खसेको बेला मिलाइदिने दिलिपको देब्रेपट्टि नाच्ने केटी म हुँ । दिलिप बर भए पिपल हुने म हुँ तिमी हैनौ ।"

 

" अनि चाँदनी उसो भए दिलिपले मसित सँगैमर्ने सँगै बाँच्ने खाएका बाचा कसम चाहिँ के हुन् त ? " रोएको इमोजी सहित दिलिपको मायाको भिख माग्छे दीक्षा त्यो पनि चाँदनीसित । हाय दैव यो कस्तो बिडम्बना चाँदनीले त धर्ती उज्यालो  बनाउँछ भन्थे यहाँ त दीक्षाको दुनियाँ नै अन्धकार पारिदिई चाँदनीले लाग्यो आकाशको चाँदनीमा त दाग छ भने धर्तीकी चाँदनी दाग बिनाकी किन हुन्थी ।"

 

" ओए चरित्रहिन मान्छे, म दिलिप बोलेको, चाँदनी मेरी धड्कन हो अबदेखि सोचेर बोलेस् ।"

 

" आइ. डी. चाँदनीको मेसेज दिलिपको ।

अनि कसरी आसु अडिन्थ्यो दीक्षाको हात लुलो भयो मोबाइल खस्यो, खुट्टा लुल‍ो भयो भुइँमा थचारिइ रोई क्वाँ क्वाँ ओठ टोकी आँसुले भरिएका आँखाले संसार अँध्यारो देखी ।

चम्लुङ पार्कको त्यो नाच, त्यतिबेला हाँस्ने दीक्षा जिन्दगीभरि रुने भइ, त्यो दिन टोपी खसाउने मान्छेले दीक्षाको आँसु खसाइदिई रहेछ अनि टोपी उठाइदिने चाँदनीले दीक्षाको जीवनबाट खुसी उठाइदिई । यो विधीको कस्तो विधान..!!

 

आँखामा चुम्लुङ पार्कको कार्यक्रममा देखेको दिलिप पार्क तल भेट्दा तुलसाले भनेको "ओए टोपी खसाउने, हाम्री साथीसँग माया बसाउने भनेको पहिलोपटक मेसेन्जरमा च्याट भएको ढोणेनीमा भेटेको शिवालय मन्दिरमा नाचेको शेर्पा डाँडामा अंगालोमा बसेको चुम्लुङ पार्कमा जुठो रोटी खाएको  देउरालीमा पाती चढाएर सँगै बाँच्ने सँगै मर्ने कसम खाएको आर आर गार्डेन घुमेको , परीक्षा दिएर फर्किदा गाडी चढाएर छुट्ने बेला दिलिपले भनेको थियोे डल्ली कलेजी रङ्गको लुगा खुब सुहाउने रहेछ तिमीलाई सधैं यस्तै लगाउनु ल ? ती हरेक पलहरू फिल्मको रिभ्यु जसरी नजरभरी आइरहेँ ।

 

वर्षौपछि आज दीक्षा माइतीघरमा छिन् 

 

मम्मी किन के भयो किन रुनु भएको ? दीपशिखा गुरुरु कुदेर भित्र आइ को रोयो र के के भन्छे यो फुच्ची.. आँसु पुछ्दै बोलिन् दीक्षा हातमा थियो उनको अधुरो प्रेमकथाको पुस्तक "दीक्षाका इच्छाहरू"

 

" मम्मी मम्मी हजुरआमाले भन्या मलाई मंगलबारे लगेर कुर्था सुरुवाल किन्दिने रे कलेजी रङ्गको किन्छु ल,

दीक्षाले कुन्नि के सोचिन् सजल नयन पारेर भनिन् " छोरी कलेजी रङको नाना लगाउनेको कलेजी पनि काटिने रहेछ नलगाउनू ल..."

 

- पथरी शनिश्चरे नगरपालिका : २ देवगञ्ज, मोरङ्ग ।

हाल : साउदी अरेबिया ।

images
प्रकाशित मिति :चैत्र ३, २०८१ सोमवार - ०६:०८:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend