मुक्तक - १
उनकै खुशीको लागि, म टाढा भएकी हुँ
उनकै रहर पूरा गर्दा, म आधा भएकी हुँ
मैरै हात समातेर , शिखर चुमी सकेपछि
उनको शानदार जीवनमा, म ज्यादा भएकी हुँ ।।
मुक्तक - २
मुखमा राम राम बोक्नेले नै बगलीबाट छुरा झिक्दो रहेछ
मनमा छलकपट राख्नेले नै चिल्ला मीठा कुरा सिक्दो रहेछ
आफ्ना सारा कथा व्यथा लुकाई हर बखत म मुस्कुराई रहेँ
दुनियाँ सामु सकिन रून तर यहाँ आँसु पो बिक्दो रहेछ ।।
मुक्तक -३
बारम्बार घात गर्यौ अनि विश्वास गर्न छोडि दिएँ
सम्बन्धमा दरार आए पछि, मैले बाटै मोडि दिएँ
मायामा पनि धनसम्पत्ति, औकातका कुरा गर्यौ
मैले पनि औकात मिल्नेसँग, मन मुटु जोडि दिएँ ।।
मुक्तक -४
आगो पिएर बाँचेको छु भन्छौ, आगो पनि पिउन मिल्छ
जिएको छु भन्छौ मरि मरि , मरेर फेरि नि जिउँन मिल्छ
चट्टान झैं थियो मेरो मुटु , फोड्यौ तिम्ले जोड्दैछु भन्छौ
क्या गजबको कुरा तिम्रो, पत्थर नि कसरी सिउन मिल्छ
मुक्तक -५
आऊ सँगै चिया पिँउ, मनको दकस हटी जान्छ
एक मनबाट अर्को मनको, दुरी स्वयं घटी जान्छ
रित्तै आयौँ रित्तै जान्छौँ, दिउन्जेल साथ धड्कनले,
रिसराग त्यागौं प्रेम बाँडौँ, संकोच नेटो कटी जान्छ ।
- शारदा देवकोटा
काठमाडौं ।