Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नफर्किने बाटो (लघुकथा) ✍️ श्रीप्रसाद पोखरेल

नफर्किने बाटो (लघुकथा) ✍️ श्रीप्रसाद पोखरेल

नेप्लिज डायस्पोरा

२०, श्रावण २०८२
images
नफर्किने बाटो  (लघुकथा)     ✍️ श्रीप्रसाद पोखरेल

"... म पल्लो गाउँको अमनसँग हिँडेँ । मेरो बाटो नहेर्नू, मलाई नखोज्नू । म अब यो घर कहिल्यै फर्किने छैन ।"

यी पङ्क्तिहरू पुष्पाले बुबाआमालाई लेखेको चिठीका अन्तिम हरफ थिए । 

 

भेट्ने स्थानमा पुग्दा घामको राप कम भइसकेको थियो ।

कुहिरोले निर्वस्त्र फाँट लपेट्दै थियो—मानौँ लाज ढाक्दै छ । तर मन भने अमनलाई चिहाइरहेको थियो । 

 

" समयमै आइपुग्छु भनेको थियो..."

" यति ढिलो त कहिल्यै गरेको थिएन..."

" केही भयो कि ?"

" कि घरमै थाहा पाएर निस्कनै दिएनन् ?"

" हैन, आउँदैछ होला !"

" वा, धोका पो दिने हो कि ?"

" छ्या ! यस्तो सोच्न पनि सक्नु !" 

 

" शनिबार गोठालो जाँदा मकै, भटमास लुकाएर ल्याइदिन्थ्यो । शायद, भोकाई भनेर आज पनि केही लिएर आउँछ कि ?" 

 

“ हँ... कि आउँदैन ?” 

 

घडीले नाडी चिसो बनाइरहेको थियो ।

मनभित्र बिस्तारै पाप पलाउन थाल्यो ।

" आएन भने ? घर जाऊँ त ? ढोका आफैले बन्द गरेर आएकी..."

" चिठी नलेखी आएको भए पनि हुन्थ्यो नि ।" 

 

कहिलेकाहीँ भन्थ्यो—“ यो हात छुट्यो भने ?”

आज… छुटेको त होइन ? 

 

घर फर्कन मन लाग्यो, तर सम्झनामा बुबाको क्रोधित अनुहार, आमाको लुकीछिपी निस्कने आँसु र दाजुको साँघुरो विचार । 

 

रातले गोधूलिको लाज पचाइसकेको थियो ।

उसको मन, उज्यालो भविष्य र ऊ नआउने पथबीच चेपुवामा थियो । 

 

" यदि ऊ आयो भने म अपराधी, नआए  म अभागी ।"

फर्काउँछ त कसरी ? 

हैन, म अब फर्कनै सक्दिन ।" 

 

पुष्पा थुचक्क बसिन् ।

के सोचिन्—जुरुक्क उठिन् ।

समयले नेटो काटिसकेको थियो । 

 

उनले निर्णय गरिन् , " अब म त्यहाँ जान्छु,

जहाँ उसलाई कहिल्यै पर्खनु नपरोस् ।" 

 

रूखका पातहरू... एउटा...एउटा...झरिरहेका थिए ।

कोशी निरन्तर बगिरहेकी थिइन् । खडेरी परेको बाँझो खेत जस्तो ज्यान लिएर पुष्पा हिँडिरहेकी थिइन् - तर पाइलाहरू... स्थिर थिए । 

 

- इटहरी, सुनसरी

२०८२/०४/१८

images
प्रकाशित मिति :श्रावण २०, २०८२ सोमवार - २३:२५:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend