"... म पल्लो गाउँको अमनसँग हिँडेँ । मेरो बाटो नहेर्नू, मलाई नखोज्नू । म अब यो घर कहिल्यै फर्किने छैन ।"
यी पङ्क्तिहरू पुष्पाले बुबाआमालाई लेखेको चिठीका अन्तिम हरफ थिए ।
भेट्ने स्थानमा पुग्दा घामको राप कम भइसकेको थियो ।
कुहिरोले निर्वस्त्र फाँट लपेट्दै थियो—मानौँ लाज ढाक्दै छ । तर मन भने अमनलाई चिहाइरहेको थियो ।
" समयमै आइपुग्छु भनेको थियो..."
" यति ढिलो त कहिल्यै गरेको थिएन..."
" केही भयो कि ?"
" कि घरमै थाहा पाएर निस्कनै दिएनन् ?"
" हैन, आउँदैछ होला !"
" वा, धोका पो दिने हो कि ?"
" छ्या ! यस्तो सोच्न पनि सक्नु !"
" शनिबार गोठालो जाँदा मकै, भटमास लुकाएर ल्याइदिन्थ्यो । शायद, भोकाई भनेर आज पनि केही लिएर आउँछ कि ?"
“ हँ... कि आउँदैन ?”
घडीले नाडी चिसो बनाइरहेको थियो ।
मनभित्र बिस्तारै पाप पलाउन थाल्यो ।
" आएन भने ? घर जाऊँ त ? ढोका आफैले बन्द गरेर आएकी..."
" चिठी नलेखी आएको भए पनि हुन्थ्यो नि ।"
कहिलेकाहीँ भन्थ्यो—“ यो हात छुट्यो भने ?”
आज… छुटेको त होइन ?
घर फर्कन मन लाग्यो, तर सम्झनामा बुबाको क्रोधित अनुहार, आमाको लुकीछिपी निस्कने आँसु र दाजुको साँघुरो विचार ।
रातले गोधूलिको लाज पचाइसकेको थियो ।
उसको मन, उज्यालो भविष्य र ऊ नआउने पथबीच चेपुवामा थियो ।
" यदि ऊ आयो भने म अपराधी, नआए म अभागी ।"
फर्काउँछ त कसरी ?
हैन, म अब फर्कनै सक्दिन ।"
पुष्पा थुचक्क बसिन् ।
के सोचिन्—जुरुक्क उठिन् ।
समयले नेटो काटिसकेको थियो ।
उनले निर्णय गरिन् , " अब म त्यहाँ जान्छु,
जहाँ उसलाई कहिल्यै पर्खनु नपरोस् ।"
रूखका पातहरू... एउटा...एउटा...झरिरहेका थिए ।
कोशी निरन्तर बगिरहेकी थिइन् । खडेरी परेको बाँझो खेत जस्तो ज्यान लिएर पुष्पा हिँडिरहेकी थिइन् - तर पाइलाहरू... स्थिर थिए ।
- इटहरी, सुनसरी
२०८२/०४/१८