शिरीष बन्जाडे वि. सं. २०६२ साल साउन ९ आइतबारका दिन, लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिकामा पिता नारायण बन्जाडे र माता वसन्ता खनालको कोखबाट जेठो सन्तानमा रूपमा जन्मिनु भएको हो । उहाँको परिवारमा उहाँ लगायत एक जना दाजु र एक जना भाइ समेत रहनु भएको छ ।
वि. सं. २०७८ सालमा कपिलवस्तुकै सामुदायिक विद्यालयबाट एस.इ.इ उत्तीर्ण गरी वि. सं. २०८० सालमा काठमाण्डौको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट दश जोड दुई र हाल थापाथली इञ्जिनियरिङ्ग क्याम्पसबाट सिभिल इञ्जिनियरिङ्ग चौथो खण्डमा अध्ययनरत हुनुहुन्छ ।
उहाँको प्रकाशित पहिलो साहित्यिक सिर्जना सेतोपाटी अनलाइनमा र प्रकाशित 'पैसाबिना के छ र ?' बाट साहित्यिक क्षेत्रमा पदार्पण गर्नु भएको हो ।
साहित्यिक चौतारी नेपालको केन्द्रीय कमिटिमा सचिव पदमा कार्यरत उहाँले लुम्बिनी प्रदेशस्तरीय कवितावाचन प्रतियोगितामा सम्मानित हुनु भएको छ भने
बुद्धभूमि नगरस्तरीय वादविवाद, वक्तित्वकला प्रतियोगितामा धेरै पटक सम्मानित
थुप्रै कविता वाचन प्रतियोगितामा पुरस्कृत हुनु भएको छ । उहाँसित साहित्यिक चौतारी नेपालसित सम्बन्धित रहेर संस्थाका केन्द्रीय सदस्य तथा नेप्लिज डायस्पोरा अनलाइनका साहित्यिक सम्पादक गोमविक्रमले गर्नु भएको कुराकानी यसप्रकार रहेको छ : -
गोम - साहित्यिक चौतारी, नेपालमा कसरी आकर्षित र आबद्ध हुनु भयो ?
शिरीष - म करिब वि. सं. २०७७/२०७८ सालतिर छन्द सिक्न एकदमै तल्लीत थिएँ सोही क्रममा यसै संस्थामा आवद्ध शंकर ढकाल गुरुसँग चिनजान भयो र सोही मार्फत् साहित्यिक चौतारी नेपालको तत्कालिन परिवारसँग जोडिएँ र यसैमा सम्मिलित हुन पुगेँ ।

गोम - साहित्यिक चौतारी नेपाललाई दिगो र अमर संस्था बनाउन हजुरको सल्लाह ?
शिरीष - अहिले च्याउ सरी साहित्यिक संस्थाहरू उम्रिएको अवस्थामा साहित्यिक चौतारी नेपालले आफ्नो साख जोगाएर अमरत्व ग्रहण गर्न अहिले जसरी अझै सिर्जनात्मक तवरले निस्वार्थ भावनासँगै अगाडी बढ्नुपर्छ । अर्को अर्थमा जुन मार्गमा यो संस्था चलिरहेको छ यो नै आजको अत्यावश्यक मार्ग हो ।
गोम - साहित्यिक चौतारी नेपालका निम्ति चुनौतीका कुराहरू ? त्यसमा हजुरको सुझाव ?
शिरीष - साहित्यिक चौतारी नेपालका निम्ति मेरो दृष्टिकोणमा निम्न कुराहरूमा केही चुनौती देखेको छु : -
- नयाँ पुस्तालाई आकर्षित र संलग्न गर्न
- सबै शाखाहरूलाई उत्तिकै सक्रिय बनाउन
- निरन्तर कार्यक्रम गराउँदा आर्थिक व्यवस्था मिलाउन
- भौतिक कार्यक्रममा सबैको सहभागिता जनाउन ।
त्यसमा मेरो के सुझाव छ भने,
- हामीले हाम्रो यात्रा अझै सशक्त रूपमा बढाउनुपर्छ ।
- आधुनिक प्रविधिको उच्चतम प्रयोगमा जोड दिनु पर्छ ।
- शाखाहरू बीचमा निरन्तर समन्वय र सम्पर्क भइरहनु पर्छ ।
- कार्यक्रम गर्दा स्थानीय निकायहरूसँग सहकार्य बढाउँदै जानु पर्छ ।

गोम - नेपाली साहित्यलाई साहित्यिक चौतारी नेपाल मार्फत विश्व साहित्यको बजारसम्म पुर्याउन के गर्न सकिएला ?
शिरीष - हाम्रा शाखा विदेशमा पनि छन् । तसर्थ यो कार्यमा विशेष सहयोग मिल्नेछ । विगतमा चलाएका छन्दशाला जस्ता कार्यक्रम अझै सशक्त रूपमा चलाउन सकियो भने नव आगन्तुक साहित्यिक प्रतिभाहरूमा छन्दको ज्ञान बढाउँदै जान सकिन्छ । त्यसै गरी अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गराउने, साहित्यका विविध आयामहरूमा विचार, विमर्श गराउन सकियो भने संस्था मार्फत विश्व साहित्यको बजारसम्म पुर्याउन सहज हुन सक्छ ।
गोम - अन्य संस्थाभन्दा कुन कुराले साहित्यिक चौतारी नेपाल फरक छ ? वा बनाउन सकिन्छ ?
शिरीष - सर्वप्रथम त यो साहित्यिक चौतारी नेपाल मानवताको सिद्धान्तसँगसँगै साहित्यको विकास र विस्तारसँगै मानव सेवामा समर्पित अन्तर्राष्ट्रियस्तरमा फैलिएको संस्था हो । यही नै काफी छ ।

गोम- साहित्यिक चौतारी नेपाललाई सघाउन मिडियाको भूमिका कस्तो देख्नु हुन्छ ?
शिरीष - मिडियाले पनि हामीलाई विशेष सहयोग प्रदान गरेको छ । हाम्रा कार्यक्रमको समाचार प्रसारण गरेर विश्वसामु अपरिचित मानिसलाई पनि के रहेछ यो साहित्यिक चौतारी नेपाल भन्ने कौतुहलता बढाउन मिडियाले विशेष अङ्गको भूमिका निर्वाह गरेको देख्छु ।
गीतकार सतीश चापागाईको गीत तिम्रो मन कोमल छ...