काठमाडौँ । फिल्म निर्माता तथा लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनि बागलुङ’ सार्वजनिक भएको छ । पुस्तकमा निर्माता न्यौपानेको निजी अनुभव र बागलुङको चिरपानीदेखि अस्ट्रेलियासम्मको यात्रा संघर्षलाई समेटिएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक पछि अभिनेता नीर शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए ।
‘उद्यमशीलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान व्यक्तिका रूपमा लेखकलाई लिन्छु’, नीरले भने, ‘मेरो बुझाइमा बादलमुनि बागलुङ तत्कालीन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक हो ।’
शाहले आफू कुनै समय बागलुङको चिरपानीको भोजमा जाँदा आफू हुर्किएको गाउँ पुगेको अनुभूति सुनाएका थिए । ‘म जुन किताबलाई सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गर्छु । फिल्म मबाट अलग गरिदिएमा म मनै हुँदिनँ र यो किताब पढ्दा फिल्म हेरेजस्तै भयो’, उनले भने ।
लेखक नयनराज पाण्डेले लेखक भीमलाई च्याप्टर बाई लेख्न सुझाव दिएको स्मरण गर्दै किताबबाट आफू प्रभावित हुनुको कारण आममान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दोरहेछ भन्ने रहेको बताए । "अत्यन्तै मसिनो लेखिएको यो पुस्तकको बलियो पक्ष भनेको मौलिकता हो, मिहीन प्रस्तुति हो," पाण्डेले भने ।
लेखक तथा अभियन्ता राधा पौडलले कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्नका लागि नयाँ पुस्ताले च्याट चिपिटी नभई भीमको पुस्तक पढ्न सिफारिस गरिन् ।
"पुस्तकले आममान्छेको अभाव र संघर्षको कथा भन्छ र आममान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्न पर्छ", उनले भनिन् ।
लेखक भीमले ‘बाटोमुनिको फूल–२, ‘दोख, ‘सुनकेशरी’जस्ता फिल्म निर्माण गरेका छन् ।
अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका भीम ट्राभल व्यवसायी पनि हुन् ।