"अब जनताले पार्टीलाई चन्दा दिन छाडे !"- नेता मणिकले मलिनो अनुहार बनाउँदै भन्यो ।
"आर्थिक बिना पार्टी कसो गरी चलाउने ? पहिले जनताले खुब चन्दा दिन्थे त्यसमा हामी सबैको ठाँट थियो । धेरैजना पेशेवर पनि जुटेका थिए, पार्टी ठूलो देखिन्थ्यो । उनीहरूलाई खर्च पूरा गर्न नसकेपछि केही त अन्यत्र पलायन भैसके ।" - ऋषिरामले पनि मणिकको कुरामा थप जोड्यो ।
"उनीहरू त गए सवाल त हाम्रो समस्या पो जटिल भयो । यसलाई कसो गरी समाधान गरौँ ? "- मणिकले भन्यो । उनीहरूको यसै बिषयमा बैठक चलिरहेको थियो । बाँकी नेताहरू उनीहरू दुबैजनाको मुख ताकेर चुपचापसित कुरा सुनी मात्र रहेका थिए ।
" आर्थिक संकटबाट मुक्त हुने उपाय छ कसैसँग ?"- ऋषिरामले सबैको टिठलाग्दो अनुहारतिर नियाल्दै भने ।
" सर मैले केही भनौँ कि ? "- मित्रमणिले मणिकसँग बोल्ने इजाजत माग्यो ।
" हिचकिचाहटबिनै भन न । अरू साथीहरूसँग पनि कुनै सुझाव भए भनौँ । "- मणिकले सबैतिर नियाल्दै यतिबेलाको समय मित्रमणिलाई प्रदान गर्यो ।
" हामी सबैलाई वर्षदिनसम्म चन्दाको रसिदका ठेली लिएर जनतामा जान नपर्ने एउटै उपाय छ । त्यो हो तिहारमा सबैले जोड लगाएर भैलो खेलौँ ।"- मित्रमणिले आफ्नो विचार राख्यो ।
- घोराही - १८, दाङ ।
२४-१०-२०२५