काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चुनाव तोकिएकै समयमा हुने बताएका छन् ।
बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनपछि आएको परिवर्तनलाई संस्थागत गर्न सही र सक्षम नेतृत्व छनोट आवश्यक भएको बताए।
'तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, चुनाव हुन्छ। आन्दोलनले चुनाव मात्र चाहेको होइन। विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।' उनले भने ।
घिसिङले भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह र सुशासनलगायत आन्दोलनका म्यान्डेट पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार सुशासन र सामाजिक न्यायको क्षेत्रमा ठूलो काम गर्न बाँकी छ, त्यसका लागि सही नेतृत्व चयन आवश्यक हुन्छ।
मधेश प्रदेशको कृषि सम्भावना पहिचान गर्दै उनले खेतमा सिँचाइका लागि विद्युत् महसुल घटाइ प्रतियुनिट २ रुपैयाँ मात्र राखिएको जानकारी दिए।
मधेशमा औद्योगीकरण र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन ठूला क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार र सुदृढीकरण भइरहेको पनि उनले जानकारी दिए ।