Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सौन्दर्य : प्रेमको पुल - आर. बी. निश्चल

सौन्दर्य : प्रेमको पुल - आर. बी. निश्चल

नेप्लिज डायस्पोरा

१३, पौष २०८२
images
सौन्दर्य : प्रेमको पुल  -  आर. बी. निश्चल

मेरो सुन्दर अनुहारः

मृगका जस्ता चम्किला आँखा

गुलाब फुलेका राता गाला

पिपलपाते सुन्दर ओँठ

अनार दाना मोहिनी दाँत

मीठो, मधुर, उज्यालो मुस्कान !

 

मेरा पोटिला स्तन

लामो रेशमी कपाल

मीठो/सुरिलो, नरम आवाज

छिनेको बारुली कम्मर

भद्र, शालीन, सौम्य र शिष्ट व्यवहारले

चुम्बकले फलामलाई  ताने झैँ

उसको चित्तलाई जति जोडले आकर्षित गरे पनि

मलाई थाहा छ—उसको लक्ष्य र गन्तव्य यी होइनन् भनेर

मलाई थाहा छ—उसको सपना के हो भनेर !

 

फेरि त्यही सौन्दर्य नहुँदा ममा

त्यही जवानीको रङ्ग नहुँदा ममा

उसले आफ्नो  हृदयमा किन मेरो नाम लेख्दैन ?

उसले किन मलाई आफ्नो सपना देख्दैन ?

 

आखिर उसको लक्ष्य र गन्तव्य त मसँग छ नि

आखिर उसका सपना त म पूरा गर्न सक्छु नि  !

 

उसको आकर्षण केमा छ कुन्नि बुझ्नै सकेकी छैन

 

मेरो सौन्दर्य : मेरा सुन्दर अङ्गहरू, जवानीका रङ्गहरू

प्रेमका पुल हुन्

जसको माध्यमले जोडिएर

ऊ प्रेम– नदीमा पौडिन चाहन्छ, बग्न चाहन्छ

परम आनन्दमा रम्न चाहन्छ

शितलताको अनुभूति गर्न चाहन्छ

ऊ मेरै काखमा मर्न चाहन्छ

 

प्रेमको पुल सुन्दर, बलियो बनाउन केके गर्नुपर्ने हो खोई 

पुल सिँगार्न यसमा केके फूलबुट्टा भर्नुपर्ने हो खोई ?

images
प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ११:०७:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend