Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अनेसास बिओटीको नयाँ कार्यसमिति गठन, गीता खत्री अध्यक्ष निर्वाचित

अनेसास बिओटीको नयाँ कार्यसमिति गठन, गीता खत्री अध्यक्ष निर्वाचित

सतीश चापागाईं

५, पौष २०७५
images
  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन हिजो सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार अध्यक्षमा गीता खत्री, उपाध्यक्षमा पदम विश्वकर्मा र पुरु सुवेदी, सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा 'अविनासी', पुरस्कार समिति अध्यक्षमा डा गोपी उप्रेती तथा सदस्यमा तीर्थराज अधिकारी निर्वाचित हुनुभएको छ । हरेक चार वर्षका लागि हुने कार्यसमितिको निर्वाचनमा दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने अध्यक्षलगायतका बाँकी पदका लागि उम्मेदवारहरुको चयन निर्विरोध भएको थियो । उपाध्यक्ष पदमा पदम विश्वकर्माले ४० मत तथा पुरु सुवेदीले ३२ मत प्राप्त गर्नुभयो । तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गर्नुभयो । अनेसास बोर्ड अफ ट्रस्टीमा सदस्यहरु कूल ६१ जना रहेकामा निर्वाचनमा ५७ मत खसेको थियो । निर्वाचन यही डिसेम्बर १५ देखि १८ सम्म इमेलका माध्यमबाट भएको थियो । नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्तामा जीवन्त राख्ने उद्देश्यले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सी मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् । यस कार्यसमितिले अमेरिकामा अनेसासको केन्द्रीय कार्यालय भवन आगामी दुई वर्षभित्रमा खरिद गर्ने र अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने मुख्य उद्देश्य राखेको नवनिर्वाचित अध्यक्ष गीता खत्रीले बताउनुभयो । अनेसासले विभिन्न च्याप्टरहरुमा नेपाली बालबालिकाका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याएको छ भने यसको विस्तार गर्ने उद्देश्यसहित नेपाली पाठ्यक्रम समेत तयार गरिसकेको छ । अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ । अनेसासको विधानअनुसार एक हजार अमेरिकी डलर चुक्ता गरेपछि नेपाली भाषासाहित्यलाई प्रेम गर्ने व्यक्तिले बिओटीको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७५ बिहिवार - १३:१६:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend