१४, माघ २०७५
काठमाडौं, ११ माघ : वहुचर्चित चिकित्सा शिक्षा विधेयक शुक्रबार विरोधका वावजुद संसदले पारित गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सरकारविरुद्ध सडक र सदन दुबैबाट आन्दोलन गर्ने उद्घोष गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीहरसँग प्रतिक्रिया दिंदै चिकित्सा शिक्षा विधेयकमाथि कुनै छलफल नै नगरेर सरकारले अंक गणितको बलमा पारित गरेको बताएका छन् । उनले भने, ‘दुई तिहाइले अंक गणितको बल देखायो । एक पटक कुनै पनि संवाद गरेन ।’
देउवाले दुई तिहाइको बलमा विधेयक पारित गरिएकोप्रति सरकारको निन्दा गर्दै आज कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘संसदमा मात्रै होइन, बाहिर पनि हाम्रो विरोध कायमै रहन्छ ।’
यता, कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिएका छन् । ‘समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ’,’ संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘यसविरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ ।’
थापाले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको घटना सरकारलाई महंगो सावित हुने दाबी गरे । ‘सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ’, युवा नेता थापाले चेतावनी दिंदै भने ।
प्रतिपक्षी दलको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले निषेधको राजनीति गरिहरेको पुष्टि गरेको उनको भनाइ थियो । "विरोध गर्ने वा असहमति राख्नेलाई म चिन्दिनँ, म मान्दिनँ, गन्दिनँ भन्ने सन्देश हो । सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ ।" थापाले भने ।
नेता थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी कांग्रेसलाई जालझेल गरेको आरोपसमेत लगाए । "सभामुखले जालझेलपूर्ण काम गर्नुभएको छ’, उनले भने ।
प्रकाशित मिति :माघ १४, २०७५ सोमवार -
०७:५१:३६ बजे