Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पारसको मुटुको ब्लकेज खोलियो, स्वास्थ्य गम्भीर

पारसको मुटुको ब्लकेज खोलियो, स्वास्थ्य गम्भीर

सतीश चापागाईं

१४, माघ २०७५
images
  हृदयाघात भएका पूर्वयुवराज पारस शाहको मुटुको दुवै ब्लकेज खोलिएको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था स्थिर तर अझै पनि गम्भीर रहेको पनि अस्पताल सुत्रले जानकारी दिएको छ। ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपराह्न सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ‘अस्पतालका मुटु रोग विभाग प्रमुख डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उनको मुटुको ब्लक खुलाएर स्टेन्ट हालेको छ,’ नर्भिक अस्पतालले भन्यो। अस्पताल प्रशासनका अनुसार एन्जियोप्लाष्टी गरी मुटुको धमनी खोजेपछि शाहलाई क्याथल्याबबाट सिसियु कक्षमा सारिएको छ। ‘उनको स्वास्थ्य स्थिर छ, तर खतरायुक्त छ,’ स्रोत भन्छ, ‘उनलाई क्याथल्याबबाट सिसियुमा सारिएको छ।’ शाहको उपचारमा डा। यादव भट्टसहितको चिकित्सक टोली खटिइरहेको छ । पारसलाइ यसअघि दुई पटक हृदयघात भईसकेको थियो । दिउसो मन्दिरमा डेढ घण्टा बिताएका पारसलाई पञ्चकन्याले फूलमालाका स्वागत गरेका थिए। शाह मन्दिर पुग्दा स्वागत गर्न ललितपुरका मेयर चिरिबाबु मर्हजन समेत पुगेका थिए। श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन्। पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेको उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिँडेकी छन्। हवाइ जहाजको टिकट नपाएका कारण उनी खबर पाउने बित्तिकै गाडीबाट काठमाडौं हिँडेकी सिमरा इलाका प्रहरीका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। उनी अहिले हेटौंडा कटिसकेकी छन्। बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै आउने तयारी गरिरहेका छन्। प्रहरी निरीक्षक हमालका अनुसार भोलि बिहानका निम्ति पनि टिकट पाइएको भने छैन। ‘टिकट पाइएको छैन, तर बिहानको मिल्ला भन्ने आशा छ,' हमालले भने।

images
प्रकाशित मिति :माघ १४, २०७५ सोमवार - १०:१५:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend