अहिलेका हाकिम अलि गम्भीर, चलाख र फरक छन् भन्ने सुनेर कर्मचारीहरूमा खासखुस चल्थ्यो-
"कतातरिका रहेछन् ?"
" जतासुकैका होउन कामसित पो मतलब !"
"बर्षौदेखि जमेर अफिसै हल्लाएर बसियो ।" अनि मनमनै अठोट गरें मैले- अछ्यूँ खाएँ बछ्यूँ खाएँ....।
"मुस्कानमै फिदा बनाइदिन्छ्यौ तिमी आखिर तिम्रो मोहनीबाट को नै उम्केको छ र ?" स्टाफहरू जिस्काउँथे ।
रुप, सम्पन्नता, पहुँच सबैमा वरदान पाएकी म कहिले कसैसित डग्न परेन । सदाबहार सुन्दरी र प्रेमील देखिन केशमा रातो गुलाफ सिउरेर हिँड्थें ।
" नितु भन्नु भो हगि नाम ? कस्तो मिठो धेरैबाट तपाइको प्रशंशा सुनियो ।" एक दिन एक्लै हुँदा गफिन खोजे उनले । पछि बिस्तारै उनको बायोग्राफी, नि:सन्तान अवस्था, ३ /३ ठाउँमा घर करोडौंको जायजेथा भएको थाहा लाग्यो ।
अनि त अफिसको गाडीमा विदा, मार्केटिङ, घुम्न जान लागियो । उनकी मेडमसित नजिक भएपछि निवासमै जाने बाटो नि खुलाएँ ।
आफू घरबारे भए पनि मैले सबै भुल्दै र दिलमा उनैलाई हुल्दै लगेकी थिएँ । उनीसितको भेटघाटले जिन्दगी फरक अनुभूति भैरहेथ्यो ।
मौका मिलाएर कति ठाउँमा खानपीन, उठबस र घुमाइ सजेरी भए । कति छिट्टै दिन, महिना र बर्ष बिते पत्तै भएन ।
++++++
"सर जे नहुनु पर्ने थियो भएछ नि...." मनको गाँठो खोल्दै भने मैले ।
" कसरी ? कुरा बुझिनँ नि ?" उनको मुहार बदलियो । मैले मासिकधर्म रोकिएका सुनाएपछि उनी एकतमासका देखिए-
"मबाट हुनै सक्दैन नितू जी ।"
" कैयौ परिक्षणमा मबाट सन्तान नहुने कुरा प्रमाणित भैसकेको छ । फेरि म तिमीसित कहिल्यै बेहोशीमा बिताइनँ । मसितको कुरै होइनँ ढुक्क होऊ ।" उनले सफाईमा भने ।
पहिलेदेखि उनीसित ठूल्ठूलै रकम लिइ सकेकी थिएँ । मैले उनीसित यस्ता बाचा गराएकी थिएँ कि केही भए अन्तिममा म तपाईकी हुन्छु भनेर ।
"सरले 'कान्छी' बनाउन बल्छी थाप्नु भा' कि ? मैले मन चोर्ने प्रयास गरेँ ।
"सत्य नितू मबाट त्यस्तो हुनै सक्दैन ।" उनी मबाट तर्किन खोजेको बुझेँ ।
"मेरो माया त लाग्छ नि ?" मैले निधो खोजेँ ।
" कुरो त्यसो होइन नितू जी "
"के म घर न घाट भएको हेर्न सक्नु हुन्छ ?" मैले सीधै भनें ।
"सरी नितु ! असम्भव ।" उनी दोधारमा देखिए ।
"कताबाट कसरी भयो सर हाम्रो त्यो होटलको घटनाको भिडियो छ भन्ने कुरा सुनिन आयो । 'कर'नबुझाए सार्वजनिक गर्दिने धम्की आएको छ । सरलाई केही दिन सोच्ने समय दिन्छु ।
अहिले बल्ल उनी अलि गम्भीर देखिए ।
"म हजुरको मुटुमा छु सर निस्कन चाहन्नँ अब ।" उनी अझ गम्भीर भए । मैले उनैकी हुने अडान छोडिनँ । किनकी मेरा अभावहरू उनीबाटै पूर्ति हुन्थे ।
"हामी आ-आफ्नो ठाउँमा रहनुपर्छ ।" उनी तयार थिएनन् ।
"के म मर्छु के हजुरबाट अलग रहन्नँ । मैले मेरा मान्छे, पहुँच सबैको कुरा सुनाइसकेकीछु ।"मेरो अडान थियो ।
"भूकम्प यता पनि नआओस, उता पनि, घर कतैको भत्किन, हल्लिन र चर्किन हुँदैन कसैगरी । "
उनले जागिर, प्रतिष्ठा र घरका निम्ति मतिरको कारोबारको रकम मैतिर रहने गरी प्रस्ताव राखे । म तयार भइनँ । "मामिला मेरो मात्र होइन सर रेकर्ड होटलमा रहेछ । डिलिट गर्नु पर्यो नि ... !" फेरि पनि चुकाएँ उनलाई । त्यसको पनि दक्षिणा राखे अनि मन बल्ल हलुका भयो ।
सधैभन्दा अलि बेग्लै श्रृंगारसित उज्यालो मुहारमा फुरूक्क पर्दै उही चञ्चले हाउभाउमा म उनको नजिक पुग्दा सदा झै उनको रौनकता देखिनँ । उनको मनको तुष मेटाइदिनँ मेरो मोबाइलको ग्यालरी खोल्दै भनेँ -"बडो मुश्किलले फुत्काएर ल्याएको । नत्र दुवैको जहाज डुबिसक्या नि ! अचेल माया कति महँगो हगि ?"
[email protected]
- कल्लाबारी, पाल्पा ।