काठमाडौँ / देशभित्रै रोजगारीका अवसर पहिल्याउने उदेश्यले काठमाण्डौमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ ।
स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले सम्मेलन गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सम्मेलनको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विकासका लागि देशभित्रै आकर्षक रोजगारीका अवसर सृजना गर्नुपर्ने र यसमा सरकारले काम गरिरहेको बताउनुभयो ।
साथै, श्रम गर्न नहिच्किचाउने देशको नागरिक भएर पनि नेपाली युवाहरु बेरोजगार रहेको भन्दै उहाँले दुःख प्रकट गर्नुभयो ।
देशमा आकर्षक रोजगारी नभएकाले युवाहरु काम गर्न विदेशिएको भन्दै उहाँले भन्नुभयो, ‘सीप अनुसारको आकर्षक रोजगारी भएन भने युवाहरु जहाँ आकर्षण छ त्यतै जान्छन्, रोजगारका अवसरहरु आकर्षक बनाउनुपर्छ, रोजगारीका अवसरहरु हेरेर मात्रै तालिम दिइनुपर्छ ।’
यस्तै औद्योगिकरण र आधुनिकीकरणमा ध्यान नगएको भन्दै उहाँले त्यसतर्फ अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री ओलीले देशका दुईतिहाई नागरिक कृषिमा अल्झिएको र त्यसले अल्परोजगार मात्र सिर्जना गरेको भन्दै आधुनिक ढाँचाको कृषि पद्धति अपनाउन आग्रह गर्नुभयो ।
‘श्रमका अन्य अवसरहरु सिर्जना नगर्ने पुरानो ढाँचाको कृषिले अल्परोजगार मात्र सिर्जना गरेको छ, यसलाई पूर्णता दिन कृषिमा आधुनिकीकरण गर्नु जरुरी छ’, उहाँले भन्नुभयो, ‘हामी थोरै उत्पादन गर्छौं बिक्री भएन भनेर बाटोमा लगेर फालिदिन्छौँ, धेरै उत्पादन गरेर विदेश निर्यात गर्नसक्ने गरी उत्पादन गरौं ।’
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका अवसर सृजनाका लागि सरकारसँग समन्वय गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । ‘आगामी आर्थिक वर्षको बजेटले थप पाँच लाख रोजगारी सिर्जना गर्नेछ, त्यसको लागि निजी क्षेत्रले पनि यो लक्ष्यमा सँगसँगै अगाडि बढ्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।
बाँकी समाचारका लागि यो लिंक खोल्नुहोस: