तस्बिर:फेसबुकबाट
आज फेरि याद आयो ।
ड्याङडुङ गरेको धुन गुन्जियो
चलायमन भयो समय ।
शून्य भयो बस्ती !
डरत्रासले अस्थिर भयो मन
झस्किँए ती दिनका सपना सम्झिएर ।
कैयौं रात अनिंदो ,
कति छाक भोकै बसेको
रातदिन घामपानी भोक तिर्खा बिर्सिएर !
बाबाको खाली खुट्टा ,
आमाको फाटेको चोली सम्झिँदै,
आफ्नै भविष्यलाई अन्योलमा पारेर
मृत्यु अँगालेको याद आयो ।
देश र जनताको लागि घरपरिवार ,
आफन्त दाजुभाईलाई त्याग्दै
हजारौं योद्धाहरूको भिडमा हराउँदै
लाखौं सपना देख्दै,
वैरी दुश्मनसँग लडाइँ गर्दा
कैयौं साथी घाइते
सयौं साथीहरूको लाश अनि ,
रिस र क्रोधले भरिएको अनुहार र
आफ्नै शरीरभरी सहिदको रगतले
रक्त्याम्मै भएको
आफ्नै आँखा अगाडिको दृश्य
अहिले फेरि याद आयो ।
स्कुल जाने उमेरमा
देशको चिन्ता गरेको
किताब बोक्ने झोलामा ,
बम, बारुद भरेको ।
सामन्ति र शोषणको विरुद्ध
ज्ञानको ज्योति छर्दै ,
गाउँ, बस्ती हुँदै शहर
छिरेको सारै याद आयो ।
देखेका ती सारा सपना
बम, बारुद र आगोको मुस्लोसँगै
खरानी बनेको भान हुँदैछ ।
कैयौं साथीहरू अझै अपाङ्ग छन्
कैयौं साथी खाडी छिरे ,
कैयौं साथी मृत्युको पर्खाइमा छ्न् ,
कैयौं साथी अझै पनि
युद्धको धङधङीले अपराधी बन्न पुगे
कैयौं साथीहरू
राज्य सत्ताको निराशपनले
डिप्रेसन हुँदै आत्महत्या गरे
आज फेरि याद आयो
बिगतमा गरेका ती संघर्ष ।।
कैयौं गोली आफ्नै निधारलाई छलेर
कानको छेवैबाट त्रासको धुनसँगै
अनि कैयौं पटक गोलीका ,
बासिटो छर्रा
आफ्नै छातिभित्र पर्दा पनि
दुश्मनसँग निरन्तर !
लडेको सारै याद आयो ।
बर्षौं बितेछ युद्ध रोकिएको
आशा थियो एक मुरि कोदो फल्ने
बाबाको तिथिमा, पिण्ड दिन
धान उब्जाउको लागी
अलिकति वारि र खेत पाउन
सबैको आश थियो ।
अँह तर
पहिलेका सामन्ती र
अहिलेका शासकमा केही फरक देखिन ।
र त फेरि सम्झिंए तिनै बिगत
तिनै संघर्षको दिनहरू ।
अझै निको भएको छैन
छातिमा बनेका घाउका निसानहरू
अझै उस्तै छ भागदौडमा
खुइलेका घुँडा र कुहिनाका दागहरू
झस्कायो ती देखेका लाखौं सपनाले
र फेरि सम्झिंएँ तिनै बिगत।
आज फेरि याद आयो।
ड्याङ्डुङ गरेको धुन गुन्जियो
चलायमान भयो समय
शून्य भयो बस्ती
मन खिन्न भयो ।
सपना जले ।
छोराले बाउ खोज्छ खाडीमा छन् ।
छोरीले आमा खोज्छिन्
१५ बर्ष पहिले नै सहिद भइन् ।
आज सबै सपनाले झस्काउँछ ।
र आज फेरि याद आयो
तिनै गोलीको ड्याङ्डुङ्को
सयौं साथी
आफ्नै आँखा अगाडि ढलेको
आज फेरि याद आयो ।
समाप्त
[caption id="attachment_11539" align="alignright" width="741"]

कवि[/caption]
- इस्मा गा. पा.-६ अमरपुर, गुल्मी
हाल : काठमाण्डौं
(कमल डिभोर्स पराजुलीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)