अध्यक्ष साहले नेप्लिज डायस्पोरासंग थप भने, "मेरो नेतृत्वमा काठमाडौँ गएको अमेरिकाका प्रतिनिधिहरुले केन्द्रिय समितिमा प्राप्त उपलब्धिप्रति साथीहरुले गौरवका रुपमा लिनु भयो र मलाई धन्यवाद पनि दिनु भएको छ । म सबैसंग भन्न चाहन्छु की अब हामीले यस्ता धेरै सफलता पाउनेछौं ।"
भेलाको मुख्य उद्देश्य नै नेपालमा सम्पन नबौं विश्व सम्मेलनमा अमेरिकालाई प्राप्त सफलता सेलिब्रेट गर्नु र विजयीहरुलाइ सम्मान गर्नु रहेकोले कार्यक्रममा विजयी उमेद्वारलाई सम्मान गरिएको थियो । जसमा केन्द्रिय महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी जोशी र अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी उपस्थित भएका थिए । विजयी भएका केन्द्रिय उपाध्यक्ष सोनाम लामा, अमेरिकाज क्षेत्रका सहसंयोजक राम सी पोखरेल र वमन कोअर्डिनेटर उमा थापाले बिशेष कारण देखाउदै अनुपस्थित रहेका थिए । केन्द्रिय उपाध्यक्ष पदमा पराजित भएपनि सहभागिताका लागि निम्तो पठाईएका निबर्तमान अध्यक्ष केशव पौडेल पनि पारिवारिक कामले कार्यक्रममा उपस्थित नभएको जानकारी दिईएको थियो ।
कार्यक्रममा बोल्दै आईसिसि महिला उपाध्यक्ष रविना थापाले एकताका कारण यो सबै सम्भव भएको भन्दै अध्यक्ष सुनील साह र संसारभरका मतदाताहरुलाई धन्यवाद ब्यक्त गरिन ।
सोहि कार्यक्रममा सम्मान ग्रहण गर्दै केन्द्रिय सचिव गौरी जोशीले अमेरिकाका सदस्यहरुले आफुलाई सधै माया गरेको र हरेक पाइलामा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले एनसिसि र आइसीसीका बीचमा हुने मतान्तर कम गर्न केहि नीतिगत सुधार आवश्यक भएको भन्दै आफुले यसमा पहल गर्न बताए ।
सम्मानित अर्का व्यक्तित्व अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले आफुले सहमति, सहकार्य र समन्यवको मूल मन्त्रका साथ काम गर्ने प्रतिबद्दता ब्यक्त गरे । कामगर्दा विवाद आएका आपसी छलफलबाट नै निर्णय गरिने उनले बताए ।
"भेलाका अवसरमा उपस्थित सहभागी साथीहरुले एनआरएनए अमेरिकाको वर्तमान कार्य समितिले गरेको राम्रा कामहरु र उपलब्धिहरुका बारेमा चर्चा गर्दै आगामी दिनमा गर्न सकिने र गर्नुपर्ने योजनाहरुको बारेमा व्यापक छलफल गर्नुभयो ।" संस्थाका महासचिव पशुपति पाण्डेले बताए । उनले भने, "यो भेलाले पुराना योजनाहरु र नयाँ योजनाहरुलाई कसरी कार्यान्वयन गर्ने भनेर खाका तयार पारेको छ । हामी त्यही अनुरुप अगाडी बढ्छौं ।"
कार्यक्रमको पहिलो चरणमा टास्क फोर्सका संयोजकहरु र च्याप्टर सभापतिहरुसंग केद्रीय समितिले छलफल गरेको थियो । उक्त कार्यक्रम फलदायी भएको न्युयोर्क च्याप्टरका सभापति रामहरी अधिकारीले बताए । भर्जिनियाका सभापति कृष्ण सादगीले आफुहरुले केन्द्रलाई महत्वपूर्ण सुझाबहरु दिएको बताए । केन्टुकी राज्यका सभापति डिलु पराजुलीले आफुहरु संगठन विस्तारको काम सकेको र अब कार्यान्वनको चरणमा रहेको जानकारी दिएका थिए ।
कार्यक्रम अबधिमा टास्क फोर्सका संयोजकहरुले पनि आफुले गर्न सकिने योजनाहरुको फेहरिस्त पेश गरेका थिए र सहभागीहरुबाट सुझाब संकलन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरु संग अन्तरक्रिया गरिएको थियो । यो कार्यक्रमको सहजीकरण नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक सतिश चापागाईंले गरेका थिए । सहभागीका जिज्ञासाहरुमा अध्यक्ष सुनील साहले उत्तर दिएका थिए । सोहि चरणमा अमेरिकामा हुन् लागिरहेको जनगणना २०२० को बारेमा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले प्रकाश पारेका थिए । यो बिषयमा कार्यक्रमा झन्डै एक घण्टा छलफल भएको थियो । बिशेषगरी जना गणनामा कसरी सहभागी हुने र संघसंस्थाहरुले कसरी काम गर्न सकिन्छ भन्ने बारेमा बन्जाडेले बिस्तृतमा प्रकाश परेका थिए ।
कार्यक्रमको आतिथ्यता गरेको मेरिल्याण्ड च्याप्टरका सभापति डोलनाथ घिमिरेले च्याप्टरका तर्फबाट एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह संगै नवौं सम्मेलनबाट विजयी सबै पदाधिकारीहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए ।
“हामी अमेरिकाभरीबाट आउनु हुने पाहुनाहरुको स्वागत गर्न पाउदा अति नै खुशी छौं ।” मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष राजु पराजुली, सचिव बिष्णु बराल, सदस्य र ज्ञानहरि घिमिरे र सुदर्शन पौडेललेसमान अनुभव बताए ।