काठमाडौँ, नेपाल ।
नेपाली माटोको आफ्नै सुगन्ध सहित नेपाली गायन रियालिटी शो 'नेपाल स्टार' शुरु भएको छ । यो प्रतियोगिताको आयोजना नेपाल टेलिभिजनले गरेको हो । नेपालको पहिलो र नेपाली जनताको करबाट संचालित सरकारी टेलिभिजनले बिदेशी फ़्रेञ्चाईज बिना यो प्रतियोगिता संचालन गर्दैछ । साथै, यो प्रतियोगिताका बिजयीले अहिलेसम्म कै ठुलो धनराशीको पुरस्कार जित्ने घोषणा 'नेपाल स्टार' को टिमले गरेको छ । 'नेपाल स्टार' बन्न सफल हुने प्रतिभाले नेपाल स्टारको उपाधि सहित ५० लाख नगद र बिभिन्न प्रायोजकका गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन ।
'नेपाल स्टार' को अर्को आकर्षण यसका जज (निर्णायक)हरु हुन् । नेपाली सुगम संगीतका तीनजना विशिष्ट धरोहरहरु संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तले जजको जिम्मा पाएका छन् । लामो समय नेपाली सुगम संगीतमा हिट नम्बरहरु दिन सफल यी संगीत साधकहरु आफ्नो क्षेत्रमा अब्बल मानिन्छन । देशका कुनाकुना र विदेशमा शहर शहर यी तीनजनाका संगीत हरेक दिन गुञ्जिईरहेका हुन्छन । संगीतका यिनै हस्तीहरुले देशका ठाउँ ठाउँमा पुगेर गाउँ गाउँ र दूरदराजका प्रतिभाको खोजी गर्नेछन । उनीहरुले बस्तीमा लुकेका दर्जनौं प्रतिभाहरुलाई नेपाली गीतसंगीतको मूल प्रवाहमा ल्याउने विश्वास गरिएको छ ।
"बुटवल अडिशन भब्य भयो । हामी भर्खर धनगढीमा आईपुग्यौं ।" स्टारका निर्णायक तथा बरिष्ठ संगीतकार आलोक श्रीले नेप्लिज डायस्पोरालाई भने । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंसंगको फोन सम्पर्कमा आलोक श्रीले आफु अति नै उत्साही भएको र गहन जिम्मेवारी बोध गर्दै तनमनका साथ यो महान कार्यमा होमिएको बताए ।
नेपालको सशक्त बिज्ञापन एजेन्सी 'कि एडभरटाईजिङ्ग'को व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा सम्पन्न भईसकेको छ । नेपाल स्टारको सिंगो टोली दोस्रो अडिशनको अहिले धनगढी पुगेको छ । बुटवल र धनगढीमा प्राप्त प्रतिक्रिया हेर्दा देशभर उत्साह छाएको आलोक श्रीको विश्वास छ ।
बुटवल अडिशनपछि धनगढी अडिशनका लागि धनगढी मै रहेका अर्का जज तथा बरिष्ठ गायक रामकृष्ण ढकालले पनि प्रतिभा खोजीको यो यात्रालाई बिशेष महत्वका साथ लिएको बताए ।

'हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारा रहेको ‘नेपाल स्टार’को 'वाई वाई चाउचाउ' मुख्य प्रायोजक हो ।
१६ देखि ४५ वर्ष उमेर समूहका जो कोही नेपालीले यो प्रतियोगितामा सहभागी हुन पाउछ । प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको छ ।
करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको कुरामा रामकृष्ण र आलोकले बढी जोड दिए । "लामो ग्यापपछी 'नेपाली रियालिटी शो' मा फेरी आएको छु, खुशी छु ।" रामकृष्णले भने, "हाम्रो टीमले स्वरसंगै संस्कार पनि खोज्ने छौं । सम्पूर्ण नेपालीलाई प्रतिनिधित्व गर्न सक्ने राम्रो कलाकारलाई ल्याउनेगरी खोजीकार्य शुरु गरेका छौं ।"
"यो हाम्रो आफ्नै माटोको ब्रान्ड हो । कार्यक्रम अबधिभर हामी नेपालीपन र नेपालीमनलाई पछ्याईरहने छौं । सबै नेपालीबाट सक्रिय सहभागिता र रचनात्मक सहयोगको अपेक्षा गरेका छौं ।" आलोक श्रीले भने ।
आलोक श्री र रामकृष्ण ढकालको पछिल्लो चर्चित गीत हेर्नुहोस
https://youtu.be/-nOYsZW0UEg
अमेरिकामा रहेकी अर्की जज अन्जु पन्तसंग सम्पर्क हुन सकेन ।
प्रतियोगिताको अडिशन क्रमशः बुटवल, धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ । सबै क्षेत्रबाट छनौट भएका प्रतियोगीहरुलाई काठमाडौँ ल्याएर बिभिन्न चरणका बिधि मार्फत अगाडी बढ्ने जज रामकृष्ण ढकालले बताए । "कति कुरा अन्य रियालिटी शो जस्तै हुनेछ भने कति कुरा हाम्रो मौलिक पनि हुनेछ ।" ढकालले भने ।
प्रतियोगिताको उप-विजेताले उपाधि सहित नगद रु ३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सञ्चालन सन्जोक बस्याल र निशा पाठकले गर्नेछन् ।
तस्बिरहरु: आलोक श्रीको फेसबुकबाट