Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सर्बत्र बिरोध: संसदमा निर्बिरोध -अनिलराज पाण्डेय

सर्बत्र बिरोध: संसदमा निर्बिरोध -अनिलराज पाण्डेय

नेप्लिज डायस्पोरा

१३, माघ २०७६
images
अन्तत: सर्बत्र बिरोध भएका अग्नि सापकोटा नेपालको संघिय संसदबाट निर्बिरोध सभामुख निर्वाचित भएका छन् । कोहि कुनै पदमा निर्बिरोध निर्वाचित हुनु भनेको उक्त ब्यक्ति सबैले स्वीकार गरेको ब्यक्ति हो भनेर सजिलोसंग बुझ्नु पर्दछ । यस अर्थमा अग्नि सापकोटा नेपालको वर्तमान संघीय संसदका एक लोकप्रिय, सर्बस्वीकार्य र कुनै कसुर नै नभएका नेता हुन् । चलन चल्तीको नेपाली उखान अनुसार उनी 'दुधले नुहाएका' ब्यक्ति हुन् । उनको बारेमा विदेशमा बसेर लेख्नुको कुनै तुक नहोला । तर, नेपालको सर्बोच्च अदालतमा ज्यानमारा मुद्धाका आरोपी एक ब्यक्ति कसरी एउटा गणतान्त्रिक मुलुकमा यसरी दुधले पखालियो ? उदेक लाग्दो कुरा यहि हो । आफ्नै पार्टीमा अनेक शंका गरिएका नेतालाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले किन सहर्ष स्वीकार गर्यो ? यो अचम्मलाग्दो कुरा हो । संसदीय मूल्य मान्यतामा प्रतिपक्ष पार्टीले यसरी चुप लागेर मौन स्वीकृति दिन मिल्छ? गल्ति नेकपा र अग्नि सापकोटाको होइन । गल्ति नेपाली कांग्रेसको हो । कांग्रेससंग मूल्य र मान्यता रहेनछ भन्ने प्रष्ट भएको छ । वर्तमान नेतृत्वसंग निर्णय क्षमता नभएको र यो घटनामा गम्भीर भुल गरेको कुरा ईतिहासमा दर्ज भईसकेको छ । एक महिलामाथि बलात्कार प्रयासको आरोपपछी संघीय संसदका तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएपछी क़रीब चार महिनादेखी संसद सभमुख विहीन बन्न पुगेको थियो । बर्तमान संबिधानमा भयको व्यवस्था अनुसार संसदका सभमुख र उपसभामुख़ फरक फरक दलको हुनुपर्ने र दुई मध्य एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्थाले दुईतिहाइ सांसद भएको नेकपालाई सभामुख चुन्न फलाम कै च्युरा चपाउनु परेको थियो। सभामुख पदमा नेपाल कम्युनिस्ट पार्टीमै को ऊमेदवार हुने भन्ने लामो रस्साकस्सी चल्यो । प्रधानमंत्री केपी वोली सुवास नेम्वाडंलाई सभामुख बनाउन चाहान्थे भने नेकपाका अर्का अध्यक्ष प्रचन्ड अग्नी सापकोटालाई बनाउन चाहान्थे। उता निबर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे पनी आफुलाई सभामुख पदको स्वत: बलीयो उमेदवार भएको दावी गरीरहेकी थिइन । जुन प्राकृतिक थियो र स्वतन्त्र मानिसहरु शिवमायाको अडानको पक्ष्मा पनि थिए । अन्ततः नैतिकता हराएको नेपाली राजनीतिले आफ्नै पथ समात्यो । नेकपाले आफ्नो स्थाई समिति सदस्य तथा पुर्व मन्त्री अग्नी सापकोटालाइ प्रतिनिधी सभाको नयां सभामुखको उमेदवार बनायो र सर्बसम्मत बिजयी बनायो । यो ईतिहासको किनाराको साक्षी बनेको छ -नेपाली कांग्रेस । प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख निर्वाचनमा आफ्नो उपस्थिति देखाउन भए पनि सभामुखको उम्मेदवारी दिनुपर्थ्यो । हो, प्रतिनिधि सभाको अंकगणित हेर्दा कांग्रेस उम्मेदरवार विजयी हुने स्थिति थिएन । तर, लोकतन्त्र र प्रतिस्पर्धामा विश्वास गर्ने दलले यति महत्वपूर्ण पदमा उम्मेदवारी नदिनु ठूलो गल्ती हो । उम्मेदवारी नदिने नै हो भने पार्टीको वैधानिक निकायबाट निर्णय गर्नुपर्ने हो । सत्तापक्षको प्रयत्न विना नै उसका उम्मेदवार निर्विरोध गराउने परिस्थिति नेपाली कांग्रेसले सिर्जना गरिदिएको छ । अहिले सभामुखको उम्मेदवार भएको व्यक्तिको अदालतमा मुद्दा छ । यो गम्भिर विषय हो । कांग्रेसले कम्तिमा त्यही कुरामा असहमति राख्न पनि सर्वसम्मतिमा सभामुख चयन हुन दिनु हुँदैन थियो । म फेरी पनि भन्छु -कांग्रेस चुक्यो । बलात्कारको आरोप लागेर सभामुख जेलमा परेको र हत्याको आरोप लागेका नेता सभामुख बनेको नेपाली राजनीतिको यो अध्याय धेरै बर्षपछिसम्म रुचिका साथ पढिने छ ।मुख्य कुरा नेपाली राजनीतिमा नैतिकता हराएको छ । जसरी हुन्छ पदमा पुग्नु पर्छ भन्ने मान्यता राख्नेहरु जताततै भएपछी नैतिकताका कुरा बसिबियालो बनेका छन् । झट्ट हेर्दा कांग्रेसले ठुलो भूल गरेको स्पष्ट छ तर, नेकपालाई पनि यसले दिर्घकालमा यसले असर गर्ने नै छ । (लेखक अमेरिकाको न्युयोर्कमा बस्ने समाजसेवी तथा नेपाली जनसम्पर्क समिति न्युयोर्कका सचिव हुन् । -सम्पादक ।)

images
प्रकाशित मिति :माघ १३, २०७६ सोमवार - ११:५८:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend