२७, चैत्र २०७६
मुक्तक - १
बदलिदैन झट्ट बिश्वास, देशकै सत्ता धानेकासँग
भरोसा लाग्छ उसैगरी, हृदयले आफ्नै ठानेकासँग
मस्त छौं हामी अन्धभक्त, चुसिँदा आफ्नै जीउको रक्त
कसले बाजी मार्न सक्नु ?, छक्का-पञ्जा जानेकासँग ।
मुक्तक -२
कर्मशीलका मुहारभरी, मुजै- मुजा भएको छ
समृद्ध देश देख्ने चाह, धुजै-धुजा भएको छ
इमान्दारको बद्ख्वाइँ गरी, भ्रष्टहरूले रजाइँ गरी
देश बिरूद्ध लाग्नेको नै, पुजै-पुजा भएको छ ।
मुक्तक -३
निर्वाह मात्रै भन्दिन म, गुजारा चलोस् जिन्दगी
उज्यालो छरी सारातिर, दियो झैं बलोस् जिन्दगी
उत्सवमय बन्नुपर्छ, दुनियाँले नि गन्नुपर्छ
संघर्षमै फुलोस बरू, संघर्षमै फलोस् जिन्दगी ।
मुक्तक -४
नहुनेलाई सताइकन, मनमा राँको झोसेका छन्
समस्यालाई चर्काइरहन,अगुल्टो उत्ति ठोसेका छन्
स्वार्थ केन्द्रमा राखेपछि, माथिको स्वाद चाखेपछि
सानाको भाग खोस्छन् अनि, ठूल्ठूलालाई पोसेका छन् ।
मुक्तक -५
गर्दै नगर्नेको भजन र, नारा सिद्धान्त घोक्नुपर्याछ
अपराधी वा वापती हुन्, पहुँच छ र बोक्नुपर्याछ
थुकेको थुक चाटिएन, आफूले कहिले ढाँटिएन
अगाडी, माथी चम्चे पुग्दा, आफूले सलाम ठोक्नु पर्याछ ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ चैत्र २९
https://youtu.be/-nOYsZW0UEg
प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार -
१५:४३:३९ बजे