Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बर्बरीकको गुनासो र प्रश्न --डिल्लीराज अर्याल

बर्बरीकको गुनासो र प्रश्न --डिल्लीराज अर्याल

images



महाभारतको युद्ध हुने भन्ने सुने पछि
बलियाबाट निर्धाको हुनसक्ने बुझी क्षति
हेर्ने चिन्ने दुवैलाई उत्साह र उमङ्गमा
आएँ मैदानमा आफ्नै अनौठो आँट,चाहमा

म भाइ- भाइको युद्ध नहोस् भन्दै थिएँ तर
‘पक्का भयो’ भनी जानें सुनें निर्णय भर्खर
बन्न चाहन्नथेँ योद्धा म कुनै पनि पक्षको
भन्न चाहन्नथेँ सोझै म पक्षको, विपक्षको !

कसैको लिन्नथेँ पक्ष, उभिन्नथेँ विपक्षमा
विना विवेक आफै म जान्नथेँ सहयोगमा
बीचमा किन पस्थें र यसरी दाजु -भाइका
असंलग्न बनी हेर्थें मर्यादा मात्र युद्धका?

तर कम्जोर मैदान छोडेर जब भाग्दथ्यो
निर्धो बनेर आएर गुहार जब माग्दथ्यो
त्यतिबेला नसक्ला यो युद्धबाट अलग्गिन
निर्धाका निम्ति सक्ला यो धनुवाण उठाउन

यै सोचमा पर्यौि होला भयो भय भयङ्कर
मेरो मूर्ति बस्यो होला बनी भित्र अजिङ्गर
त्यसैले आत्तिई सोच्दै नसोची पछिका कुरा
चलायौ चक्र घाँटीमा बनाई मृत्युको छुरा

’युद्धमा नलिने अस्त्र’ तिम्रो वचन हैन र?
काटिँदा टाउको मेरो चाहना मेटिएन र?
निर्धाका हकमा लड्थें भने राम्रै थिएन र?
हार्नेका पक्षमा लाग्थें राम्रै काम थिएन र?
हतियार उठाएर आफै अघि सर्यौं किन ?
प्रतिज्ञा त्यसले तिम्रो तोडिएन- स्वयं भन?
असंलग्न भई बस्ने सोच जाती भएन र?
मारिने दोष के मेरो भनी सोध्न भएन र?

सकौला सजिलै मेरो मृत्युले विजयी हुन?
सकौला छवि यै राख्न र दाग राम्ररी धुन ?
गाह्रो हुँदै गयो थाल्यो अविश्वास मडारिन
भित्रका सोच आफै नै लागे सबै बढारिन

मनको नबुझी चाह के गर्यौ भत्र सक्दिनँ
नबुझ्दै चाहना तिम्रो के भनूँ भन्न सक्दिनँ
तर सोध्ने कुरो मेरो यौटै रह्यो अवश्य यै
‘अशक्तको सहारा के मेट्नै पर्छ सधै सधै?’

न म तिम्रो विरोधी हुँ न हुँ तिम्रो समर्थक
अशक्तको सहारा हुँ, तटस्थ बस्न उत्सुक
तर कम्जोर भो तिम्रो कसरी मन जानिन
मार्नै पर्ने थियो मेरो दोष के बुझ्न पाइन?

तिम्रै आशा, भरोसामा थियो समाज यो अझै
खेल्यौ, अचम्मको खेल मान्नुपर्छ बुझी सबै
लोकमा छ अविश्वास बढेको अहिले कसै
डुब्दै छ शोकमा मान्छे मर्यादा छ गुमाउँदै

डरायौ कि ? कुनै अर्कै भावना, चाहना थियो
जे भने पनि यो आफ्नो र पराई हुँदै थियो
नत्र कम्जोरको पक्ष लिँदा घाटा कहाँ थियो
के सोचेर लियौ प्राण? अभिलाषा पुरा भयो?

पाल्पा, हाल – काठमाण्डौं ३२ मनोहरवस्ती
(१जेठ २०७७) नेप्लीज डायस्पोराका लागि।

images
प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - १८:२०:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend