बाल्टिमोरका सामाजिक युवा व्यक्तित्व, युएनएका उपाध्यक्ष तथा जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी ६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। "उहाँ भर्खर डिस्चार्ज हुनुभयो" आईतबार साँझ नेप्लिज डायस्पोरालाई जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र केसीले जानकारी दिए।
नियमित स्वास्थ्य परीक्षण लागी आफ्नो डाक्टरको क्लिनिक गएका सेन्चुरीलाई डाक्टरले मुटुमा गडबड देखेको भन्दै बिशेषज्ञ डाक्टरकोमा पठाएको थियो। आफैले गाडी चलाएर अस्पताल पुगेका सेन्चुरीलाई त्यहाँका डाक्टरले चेक गरेर मुटुको बाइपास सर्जरी गर्नुपर्ने भन्दै भर्ना गरेका थिए। बाईपास सर्जरीपछि सेन्चुरी केहिदिन अस्पताल बसेर आज साँझ डिस्चार्ज भएका छन् ।
"मलाई केहि अफ्ठेरो त भएको थिएन तर चेक गर्दा सर्जरी नै गर्नुपर्ने देखियो। समय मै अस्पताल गएकोले ठुलो समस्या आएन।" राज सेन्चुरीले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने। "हरेक चार पाँच महिनामा आफ्नो डाक्टरसंग जान्थे। बेलाबेलामा डाक्टरकोमा जानु राम्रो रैछ।" सेन्चुरीले थपे।
लामो समयदेखि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका राजेन्द्र बिरामी भएको थाहा पाउने बित्तिकै उनका अमेरिकाभरीका साथी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक संजालमा लेखेका छन। नेप्लिज डायस्पोराका शुभचिन्तक सेन्चुरीको स्वास्थ्य लाभको कामना गर्दछौं।