एनआरएनए आइसीसीले बिधान संशोधन समितिमा थप सदस्यहरु मनोनित गरेको केहि घन्टामा समितिका सह-संयोजक रबिन बज्राचार्यले खण्डन गर्दै बिरोध पत्र पठाएका छन् । सह संयोजक बज्राचार्यले थप गरिएका सदस्यहरुलाई स्वत: खारेज गर्न भन्दै एनआरएनएको अनुशासन समितिका संयोजक डाक्टर अम्बिका अधिकारीलाई इमेल पठाएका हुन्।
आईसिसिले यसरी सदस्य थप गर्नु भनेको बिधानको मर्म र भावना बिपरित भएको रविन बज्राचार्यले बताएका छन्। आफुहरुलाई थाहा नै नदिई समितिका सदस्यहरु थपेर सामाजिक संजालमा सार्बजनिक गरिएकोमा उनले आपत्ति जनाएका हुन्।
'गल्ति सच्चाउन अनुरोध गरेको हुँ। हामीहरुलाई कानुनी उपचारका लागि बाध्य नपारियोस भन्ने मेरो अभिप्राय हो।' सह संयोजक रविन बज्राचार्यले नेप्लिज डायस्पोराका सम्पादक सतिश चापागाईंसंगको टेलिफोन सम्पर्कमा बताए।
यता समितिका अर्का सह संयोजक युरोपका पुष्प थापाले राजिनामा दिने मुड बनाएको बुझिएको छ।
बर्तमान कार्यसमितिले आफुलाई लागेका कुराहरु मनोमानी ढंगले बिधान संशोधनका नाममा लैजान नसकिने स्थिति देखेपछि ५ जना सदस्य भएको समितिमा एकै पटक १२ जना सदस्य थपेको आरोप लागेको छ।