अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना भईरहँदा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले अमेरिकन राजनीतिको दलीय प्रभावबाट संस्था टाढा रहने विचार ब्यक्त गरेका छन्। उनले अमेरिकी राजनीतिमा नेपाली अमेरिकनको चासो उत्साहजनक भएको पनि बताएका छन्।
निर्वाचनको मत गणना भईरहेको दोस्रो दिन फेसबुक मार्फत साहले उक्त विचार सार्बजनिक गरेका हुन्। यो बेला आफुलाई मन परेको दल र उमेद्वारलाई मतदान गर्न पाउनु र उसको पक्षमा बोल्न पाउनु प्रजातान्त्रिक अभ्यास भएकोले यसको सम्मान गर्न पनि अध्यक्ष साहले सबैलाई आग्रह गरेका छन्।
अध्यक्ष साहले भनेका छन्- "निर्वाचन प्रतिको चासो र चिन्ता भैरहँदा निसन्देह वैचारिक आधारमा दल वा उम्मेद्वारलाई समर्थन गर्नु, उसको पक्षमा प्रचार प्रसार गर्नु र आफूले मन पराएको र समर्थन गरेको दल वा उम्मेद्वारले जितोस् भनेर चाहना राख्नुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्दछ । यसलाई सकारात्मक पक्षको रुपमा लिएर अमेरिकामा रहेको हाम्रो नेपाली समुदायबीचको एकता, सद्भाव र एक अर्काप्रति गरिने सम्मान तथा विश्वासमा कमी हुन नदिनेतर्फ हामी सबै सचेत बन्नुपर्दछ ।"
अमेरिकी निर्वाचनमा नेपाली मुलका अमेरिकनको बढ्दो सक्रियताप्रति अध्यक्ष साहले खुसी ब्यक्त गरेका छन्। फेसबुकमा साह लेख्छन, "अमेरिकी निर्वाचनमा नेपाली मुलका अमेरिकनको बढ्दो सक्रियताले एउटा सुन्दर सपनाको परिकल्पना गर्न सकिने वातावरण बन्दै गएको छ । विभिन्न पदमा उम्मेद्वारी दिएर विजयी हुनुभएका नेपालीमुलका अमेरिकनहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । परिणाम अनुकुल नआएपनि भोलीका लागि पथ निमार्णमा जुट्नुभएका सम्पूर्ण उम्मेद्वारहरुलाई पनि बधाई दिन चाहन्छु ।"
अध्यक्ष साहद्वारा फेसबुकमा जारी विचार जस्ताको तस्तै:
अमेरिकामा आम निर्वाचनको महत्वपूर्ण कार्य मतदान सकिएको छ । मतगणना जारी छ । आधिकारिक तहवाट परिणामको घोषणा हुने नै छ । नेपाली मुलका अमेरिकनमा यस पटकको निर्वाचनमा विगतमा भन्दा निर्वाचन प्रतिको चासो र सक्रियता ह्वात्तै बढ्न पुगेको अनुभूति भएको छ ।
युएस सेन्ससमा गणित हुने प्रक्रियादेखि मतदाता नामावलीमा नाम दर्ता गराउने अनि अर्ली भोटिङ हुँदैं मतदानको अन्तिम दिन सम्म पनि नेपाली मुलका अमेरिकनमा अमेरिकी निर्वाचनप्रति देखिएको उत्साहले सकारात्मक संभावनालाई समेत उजागर गरेको छ । प्रजातान्त्रिक विधि र पद्दतीमा विश्वास गर्ने राष्ट्र अमेरिकामा हामी छौं । त्यही प्रजातन्त्रको सुन्दर पक्ष जनमतमार्फत सरकार निर्माणको लागि मतदान सकिएको छ । परिणाममा जस्ले बाजी मारेपनि मतदानमार्फत हरेकमा नेतृत्व निर्माण हुने कुराले प्रजातान्त्रिक मुल्य र मान्यतालाई बलियो बनाउन विशेष अर्थ राख्दछ । अमेरिकी निर्वाचनमा नेपाली मुलका अमेरिकनको बढ्दो सक्रियताले एउटा सुन्दर सपनाको परिकल्पना गर्न सकिने वातावरण बन्दै गएको छ । निर्वाचन प्रतिको चासो र चिन्ता भैरहँदा निसन्देह वैचारिक आधारमा दल वा उम्मेद्वारलाई समर्थन गर्नु, उसको पक्षमा प्रचार प्रसार गर्नु र आफूले मन पराएको र समर्थन गरेको दल वा उम्मेद्वारले जितोस् भनेर चाहना राख्नुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्दछ । यसलाई सकारात्मक पक्षको रुपमा लिएर अमेरिकामा रहेको हाम्रो नेपाली समुदायबीचको एकता, सद्भाव र एक अर्काप्रति गरिने सम्मान तथा विश्वासमा कमी हुन नदिनेतर्फ हामी सबै सचेत बन्नुपर्दछ । हाम्रो नेपाली समुदायले अमेरिकी मुल धारमा समेटिएर गर्नुपर्ने धेरै पक्षहरु बाँकी नै छन् । हामी जहाँ जसरी जुन पक्ष वा उम्मेद्वारहरुलाई सघाइरहेका छौं, त्यसलाई नेपाली समुदायको हितमा कसरी जोड्न सकिन्छ त्यसतर्फ हाम्रो भूमिका रहनुपर्दछ ।
चुनावी अभियानमा क्रममा कसैको समर्थन वा कसैको विरोध गरेको आधारमा हाम्रो समुदायमा त्यसको असर पर्न नदिन हामी गम्भिर छौं र सबैले त्यो भूमिका प्रर्दशित गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । र अन्त्यमा, विभिन्न पदमा उम्मेद्वारी दिएर विजयी हुनुभएका नेपालीमुलका अमेरिकनहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । परिणाम अनुकुल नआएपनि भोलीका लागि पथ निमार्णमा जुट्नुभएका सम्पूर्ण उम्मेद्वारहरुलाई पनि बधाई दिन चाहन्छु । साथै अमेरिकामा रहनुभएका गैर आवासीय नेपाली साथीहरु जो मतदानका लागि योग्य हुनुहुन्थ्यो उहाँहरु जसले मतदान प्रक्रियामा भाग लिनुभयो र जो मतदानका लागि योग्य भैसक्नुभएको छैन तरपनि नेपाली समुदायलाई अमेृरिकी मुलधारसँग जोड्ने अभियानमा सहयोगी बन्नुभएको छ उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामी सबैले बिभिन्न ठाउँमा आफ्नो उपस्थिति बढाउँदैं लग्न सक्दा भावी पुस्तालाई त्यसले सहजता प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । धन्यवाद ।
जय एनआरएन । जय एनआरएनए अमेरिका ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका