एनआरएनए अमेरिकाले २०१९-२०२१ को निर्वाचनका सदस्यहरु मध्ये भेरिफिकेशन नभएका भनिएका २०९३ नामहरु सार्बजनिक गर्ने भएको छ। अध्यक्ष सुनील साहको अध्यक्षतामा नोभेम्बर १ तारिखका दिन सम्पन्न भएको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव पशुपती पाण्डेले जानकारी दिएका छन्।
बैठकको निर्णय नम्बर ३ मा भनिएको छ, "गैर आवासीय नेपाली संघ, अमेरिका २०१९-२०२१ को सदस्यहरु मध्ये २०९३ जनाको सदस्यता सम्बन्धमा भेरिफिकेसन गर्ने व्यक्तिको नाम उल्लेख नभएकोले कसरी सदस्यता प्रदान गरियो र ति को हुन भन्ने संबन्धमा व्यक्त चासो र जिज्ञासालाई दृष्टिगत गरी वास्तविकता सदस्यहरु र आम नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यल् २०९३ सदस्यहरूको नाम सार्बजनिक जानकारीमा ल्याउने ।"
एनआरएनए अमेरिकाको १९-२१ को निर्वाचन पुर्व नै यो बिषयमा धेरै बहस र छलफल भएको थियो। एक पटक त यहि बिषयलाई लिएर निर्वाचन स्थगित हुने सम्भावना बढेकोमा सबै उमेद्वारका प्रतिनिधिहरु बसेर समस्यालाई किनारा लगाएका थिए। तर निर्वाचन लगत्तै त्यो मुद्धाले फेरी टाउको उठायो। निर्वाचनमा पराजित हुनेहरुले ति मतदाताहरु कसैको खल्तीबाट राखिएका नामहरु हुन् भनेर आरोप लगाउदै आएका छन्।
तत्कालिन र बर्तमान संस्थापन पक्षले यस बिषयमा प्राबिधिक पाटो देखाउदै पर्दा पछाडी केहि खेल नभएको पनि बताउदै आएका छन्। यहि बिषयलाई लिएर आईसिसिले अमेरिकाज संयोजक राजन त्रिपाठीको संयोजकत्वमा एउटा छानबिन समिति नै गठन गरेको छ।
एनआरएनए अमेरिकाको बर्तमान निर्णय स्वागतयोग्य भएको यो बिषयमा निरन्तर आवाज उठाउने अभियन्ता शैलेश श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताए। "उहांहरु एक स्टेप अगाडी आउनु भयो।अब केहि नयाँ कुरा आउन सक्छ।" श्रेष्ठले भने। भेरिफिकेशन समितिमा रहेका श्रेष्ठले ति २०९३ जनाको नाम आफुहरुले भेरिफिकेशन नगरेको भन्दै पटक पटक लेख्दै र बिरोध गर्दै आएका छन्।
बैठकपछि महासचिव पशुपति पाण्डेद्वारा जारी बिज्ञप्ति हेर्नुहोस
विज्ञप्ती
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका कार्य समितिको १३ औं बैठक नोभेम्बर १, २०२० का दिन सम्पन्न भएको छ । संघका अध्यक्ष सुनील साह ज्यूको अध्यक्षतामा बसेको बैठकमा विभिन्न एजेन्डाहरूमाथि छलफल गरी भएका निर्णयहरु निम्न बमोजिम रहेको ब्यहोरा यसै विज्ञप्ती मार्फत सबैमा जानकारी गराइन्छ ।
१. गैर आवासीय नेपाली सम्बन्धि कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदामा उल्लेखित ब्यबस्था र बुँदाहरुमा बृहद रूपमा छलफल हुँदा धेरै कुराहरु संसोधन र थप गर्नु पर्ने आबस्यकता महसशुस गरी आबस्यक सुझावहरू अन्तराष्ट्रिय समन्वय परिषद् मार्फत नेपाल सरकार समक्ष पेस गर्ने ।
२. अन्तराष्ट्रिय समन्वय परिषद् बाट हालै राष्ट्रिय समन्वय परिषद्हरूलाई सदस्यता संबन्धि प्राविधिक प्रणाली परिक्षणको चरणमा रहेको कारण देखाई तत्काल नयॉ सदस्यता प्रदान गर्ने प्रकृया रोक्नु भनि जारी गरिएको परिपत्र माथि बिस्तृत छलफल हुँदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका को विधानले गरेको ब्यबस्था र देशको कानून बमोजिम बमोजिम सदस्यता वितरण कार्यलाई स्थगन गर्न नमिल्ने भएकोले सो को जानकारी अन्तराष्ट्रिय समन्वय परिषद् लाई गराउनु का साथै भविष्यमा कुनै किसिमको निर्णय भई आएमा कार्यान्वयनको लागि प्रकृया अगाडि बढाउने ।
३. गैर आवासीय नेपाली संघ, अमेरिका २०१९-२०२१ को सदस्यहरु मध्ये २०९३ जनाको सदस्यता सम्बन्धमा भेरिफिकेसन गर्ने व्यक्तिको नाम उल्लेख नभएकोले कसरी सदस्यता प्रदान गरियो र ति को हुन भन्ने संबन्धमा व्यक्त चासो र जिज्ञासालाई दृष्टिगत गरी वास्तविकता सदस्यहरु र आम नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यल् २०९३ सदस्यहरूको नाम सार्बजनिक जानकारीमा ल्याउने ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका यहांहरूको सल्लाह र सुझावको सदैब अपेक्षा गर्दछ । साथै एनआरएनए प्रति यहाँहरुले दर्शाइरहनु भएको माया सद्भाव र सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
भवदीय,
पशुपति पाण्डे
महासचिव
गैर-आवासीय नेपाली सङ्घ, अमेरिका