Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भिजेर आफ्नै माटोमा फक्रिएको फूल ! -आरबी निश्चल

भिजेर आफ्नै माटोमा फक्रिएको फूल ! -आरबी निश्चल

नेप्लिज डायस्पोरा

१, आषाढ २०७८
images
भिजेर आफ्नै माटोमा फक्रिएको फूल ! -आरबी निश्चल

माटोको विषेशता र गुण नै के छ भने यसमा रोपिएका/छरिएका बिउ यसले उमार्छ र ती बिउलाई फुल्न- फल्न उपयुक्त वातावरण प्रदान गर्दछ, तर यसका सीमा पनि छन् । उदाहरणका निम्ति सबै प्रकारका वनस्पतिका बिउ एकै प्रकारको माटोमा उम्रन सक्दैनन्। जस्तो कि हिमालको चिसो माटोमा उम्रन सक्ने वनस्पतिको बिउ तराईको गर्मीमा उम्रन सक्दैन। तराईमा लटरम्म फल्ने आँप हिमालमा पाइन्न भने हिमालमा फल्ने स्याउ तराईमा उम्रन्न। नेपालमा पाइने कति वनस्पति अमेरिका वा अन्य मुलुकमा पाँइदैन भने अमेरिकामा पाइने कति वनस्पति नेपाल वा अन्य मुलुकमा पाइँदैन । हुन त हामीले मल राखेर माटोको उर्वरता बढाउन सकिन्छ तर पनि मल राख्दैमा मात्र हिमालको चिसो माटोमा गुलाफ फुलाउँछु भनेर मिल्दैन, सकिन्न।

दर्शन - माटो मानव मस्तिष्कको उपज हो। धर्तीको माटोको झैँ यसका पनि सीमा छन्। सबै प्रकारका विचार- बिउहरू र जीवनपुष्पहरू उम्रने-फुल्ने- फक्रने वातावरण हाम्रो दर्शन- माटोमा छैन। जसरी धर्तीको फरकफरक माटोमा फरकफरक फूल फुल्दछ्न् त्यसरी नै फरकफरक दर्शन-माटोमा फरकफरक विचार -बिउहरू, जीवनपुष्पहरू उम्रने- फुल्ने- फक्रने वातावरण पाइराखेका छन्।

हाम्रो हिन्दू दर्शन- माटोको कुरा गर्दा यस माटोमा ब्राह्मणपुष्प मात्रै राम्रोसँग फुल्न- फक्रन मिल्ने गुण रहेको छ। हामी चेतनाको `मल´ राखेर यस दर्शन - माटोलाई उर्वर बनाउन र सबै जातजातिका जीवन फुल्ने- फक्रने वातावरण सिर्जना गर्न सतत प्रयत्नशील छौँ तर हामीभित्रकै स्वार्थ र अज्ञानताले गर्दा यस दर्शन-माटोले ज्यादै सुस्त गतिमा आफूलाई सुधार गर्दो छ। त्यसैले कति विचार- बिउहरू त आफू फुल्न-फक्रनकै निम्ति र अस्तित्व जोगाउनकै निम्ति पनि अर्को दर्शन-माटोमा प्रवेश गरिरहेछन्, अर्कै दर्शन ग्रहण गरिरहेछन् । आखिर अत्यन्त छोटो यो जिन्दगीमा फुली- फक्रिएर सौन्दर्य , सुगन्ध छर्नु नै त मानवजीवनको सार्थकता हो। जीवनबत्ती निभ्नुअघि कर्मले उज्यालो छर्नु र धर्तीलाई अझ सुन्दर पार्नु हाम्रो दायित्व हो। त्यसैले आफ्नै माटोमा जन्मिएका जीवनबीजलाई जन्मकै आधारमा यो माटोले विभेद नगरोस् । कर्मकै आधारमा छुत-अछुतको व्यवहार नगरोस् । माटो सबैको साझा होस् अनि यस माटोमा जन्म लिने सबैको जीवन फुल्न- फक्रिन यो माटोले निर्वाह गर्ने भूमिका बराबर होस् ।

2.jpg

एकपल्ट अस्तित्वमा आएको जीवन फेरि कहिल्यै फर्केर आएको छैन। एक जीवन जस्तो मौलिक अर्को जीवन पृथ्वीमा छैन। गुलाफको आफ्नै सौन्दर्य छ र छ गुराँसको पनि। अंगुर, अनार, आँप, स्याउ, केरा आदिको आआफ्नै सौन्दर्य, स्वाद र महत्त्व छ। तर मानवजाति ता एकै जाति र एकै प्रकारको फूल हो। त्यसैले एकबारको यो मानवजीवनपुष्प फुलाउन नसक्ने दर्शन- माटोको अब कुनै भविष्य छैन। मानवजीवन फुलाउन यसले खेल्ने भूमिकामा नै यस दर्शन -माटोको भविष्य निहित छ।

माटोको गुण जेजस्तो नै भए पनि कहिलेकाहीँ भने प्रकृतिमा अनौठो दृश्य देख्न सकिन्छ। सुख्खा र गर्मी ठाउँको बालुवामा फक्रिने सिँउडी कतै पहाडको माटोमा देख्दा लाग्छ- कति परिश्रमले यो फक्रिन सकेको होला ! कति गहिरोसम्म यसका जरा पुगेका होलान् ! त्यस्तै वन्य लहरा र झारहरूले मात्रै ढाकेको ठाउँमा पनि आँधीहुरी र असिनापानी खपेर/सहेर एउटा सुन्दर फूल मुस्कुराईरहेको देख्दा हामीलाई कस्तो आश्चर्य र आनन्द लाग्दछ। त्यसैगरी कडा ताप र चाप सहेर कोइलारूपी आफ्नो जीवनलाई हिरामा बदल्ने व्यक्तित्वपुञ्ज हुनुहुन्छ- विके सेवक। हिमालको चिसो माटोमा समेत फक्रिएका गुलाफ हुनुहुन्छ उहाँ र, हुनुहुन्छ गन्हाउने हिलोमा फक्रिएका कमल।

बीके सेवक अर्थात् डा. मानबहादुर बीके । पाल्पा जिल्लाको तत्कालीन देउराली गा.वि.स. (हालको रिब्दीकोट गाउँपालिका) लघुवामा जन्मनु भएका उहाँ त्यस क्षेत्रबाट निजामती सेवामा प्रवेश गर्ने दलित समुदायको पहिलो व्यक्ति हुनुहुन्छ। सहलेखापालबाट निजामती सेवामा प्रवेश गर्नु भएका उहाँ राष्ट्रमै दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी हुँदै नेपाल सरकारको विशिष्ट श्रेणी सचिव जस्तो उच्च पदमा आसिन हुने पनि दलित समुदायका उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ। सामान्य ज्ञानका कति प्रश्नको उत्तरमा उहाँकै नाम आउँछ। दलित समुदायबाट उत्तर विद्यावारिधी गर्ने सम्भवत : उहाँ नै पहिलो हुनुपर्छ । ज्ञानका यस्ता सागरले त्यहाँसम्म पुग्न गर्नुपरेको मिहिनेत र संघर्षको कथा लामो छ। उहाँको जीवनका कति प्रसङ्गले त भावुक बनाउने मात्र होइन आँसु नै खसालिदिन्छ। विशिस्ट श्रेणीको कर्मचारी हुँदा समेत जातकै कारणले उहाँले भोग्नुपरेको पीडा, अपमान र विभेदका प्रसंग पढ्दा मन कुँडिन्छ। हाम्रो देश अझै पनि कति अन्धकारमा छ भन्ने थाहा हुन्छ।

उहाँका लेख र अन्तर्वार्ता राष्ट्रियस्तरका विभिन्न संचार माध्यमबाट प्रकाशित र प्रशारित छन् । त्यस्तै उहाँका संघर्षका कथा पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। हाल उहाँ वागमती प्रदेशको प्रमुख सचिवबाट अवकाश प्राप्त गरी सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय हुनुहुन्छ । मानव सेवाका अतिरिक्त साहित्य सेवामा पनि उहाँको झुकाव र लगाव देख्न सकिन्छ। यहाँ म उहाँको प्रकाशोन्मुख कविता संग्रह मान्छे र माटो-२ का बारेमा आफ्ना केही विचार प्रस्तुत गर्नेछु।

मान्छे र माटो-२ पूर्व प्रकाशित कवितासंग्रह मान्छे र माटोमा संकलित ४२ कविताका साथै नयाँ केही सिर्जना थप गरी प्रकाशोन्मुख अवस्थामा छ। पूर्व प्रकाशित कृतिको नामकरण मान्छे र माटो -१ नगरिए तापनि सर्जकलाई यही नाम उपयुक्त लागेकोले यसको नाम मान्छे र माटो -२ राखिएको हुनसक्छ । हुन पनि यस संग्रहमा संकलित कवितामा माटो अर्थात् स्वदेशप्रतिको प्रेम र मान्छे अर्थात् मानवजीवन र यसका भोगाइ तथा विभिन्न मानवीय प्रवृत्तिमाथि लेखिएका कविता समेटिएका छन् । पूर्व प्रकाशित सिर्जनाका साथै थप नयाँ केही सिर्जना समेटिएकोले यस कवितासंग्रहको नाउँ "मान्छे र माटो-२" उपयुक्त छ भन्ने लागेको छ। यसमा संकलित ५६ कवितामध्ये ५ वटा अंग्रेजी भाषामा लेखिएका कविता पनि समेटिएको छ। केही सिर्जना गजल शैलीमा रचिएका छ्न्।

यस संग्रहमा संकलित कवितामा राष्ट्रप्रेम, जीवनप्रेम, सँस्कृतिप्रेमका साथै मानवताप्रेम पाइन्छ। जीवन भोगाइका तीतामीठा क्षणमा सहजरूपमा प्रष्फुटन भएका भावनालाई कवितात्मक रूप दिइएको छ। मानवताका निम्ति आह्वान र अनुरोध गरिएको छ। कवितामा समय चेतना छ र यिनै कवितामार्फत जातीय छुवाछुत, अन्याय, अत्याचार, शोषण र दमनका साथै सामाजिक विकृतिविरुद्ध व्यङ्ग्य र विद्रोह गरिएको छ। समाजका विविध पक्षमा सुधारको कामना गरिनुका साथै युवालाई आफ्नो कर्तव्य नभुल्न सन्देश दिइएको छ। त्यसैले कविले भोगेको समयका जीवन्त तस्विर हुन् यी कविता ।

जब धर्म, जात, लिङ्ग, वर्ण, पेशा वा भाषाको आधारमा व्यक्तिको प्रतिभालाई कुण्ठित पारिन्छ तब त्यस्तो प्रवृत्ति देख्दा कविहृदय उद्वेलित हुन्छ र चेतावनी दिँदै कवि भन्छ्न्-

सोची हेर,
यो प्रतिभामा धारिलो खुकुरी चम्किएको छ
कुल्चिनेहरूलाई रक्ताम्य पार्ला
यो इच्छामा हेर अदृश्य शक्ति लुकेको छ
तोड्नेहरूलाई अग्निज्वालाले भष्म गर्ला
तिम्रो देन हैन,
प्रतिभा त मेरो मिहिनेतको फल हो
(मेरो प्रतिभालाई कुल्चिनदेऊ)

देशमा जति परिवर्तन आए पनि दु:खी, गरिबको जीवनमा कुनै परिवर्तन नआएकोप्रति गुनासो गर्दै कवि लेख्छन् -

धेरै नव वर्षको आरम्भ भयो यहाँ
हजारौं गृष्महरूको बिदाइ भै
थुप्रै वसन्तहरूको स्वागत भयो यहाँ
तर, भिखारीको हातमा माग्ने भाँडो
दु:खीहरूको निधारमा पसिना
पाइन्छन् यी पुरानै कुरा
हामी जाउँ जहाँ -जहाँ !
(नव वर्ष)

वर्तमान जेजस्तो भए पनि भविष्य सुन्दर हुनेमा उनी आशावादी छन्। भन्छन् -

म त्यस्तो नववर्षको आशा गर्छु
जसले यी पीडा, दु:ख र अन्यायको अन्त्य गर्छ
समानता , न्याय र सुखको बीउ यस माटोमा छर्छ। (नव वर्ष,)

अन्याय गर्नेले नै न्यायको कुरा गर्ने, शोषण गर्नेले नै मुक्तिको कुरा गर्ने पाखन्डीपन देखेर कवि लेख्छन् -

एकदिन
म आफ्नो कोठामा बसेर
मेरै गाउँको शोषकले लेखेको लेख पढिरहेको थिएँ
म आफै दङ्ग परेँ
त्यहाँ त शोषणमुक्तिका कुरा पो लेखिएका थिए।
(साथीलाई सल्लाह)

राष्ट्रनिर्माणमा युवाको महत्त्वपूर्ण भूमिका हुन्छ। आजका युवा कर्तव्यच्युत नहोउन् भनी उनी संदेश दिन्छन् -

ए चेतनशील युवाहरू हो
तिमीहरूलाई आफ्नो देशको माया छैन र ?
नेपाल आमाको दूधको भारा चुकाउनु छैन र ?
+++
यदि तिम्रो पाखुरामा तातो रगत बगेको छ भने
नेपाल आमामाथि आँखा गाडिरहेका ती गिद्दहरूलाई धपाऊ
पवित्र रगत चुसिरहेका ती लामखुट्टेहरूलाई धपाऊ
(युवालाई सन्देश)

कविको रगतमा स्वदेशको माया कति छ र त्यो कसरी प्रकट भएको छ, सुनौँ-

... तर तिमी भने अर्कैको लागि मर्दैछौ रे
पराइ रणभूमिमा लड्दैछौ रे
कान्छा, बहादुर र चौकिदारको तक्मा भिर्दैछौ रे
के तिमीलाई स्वदेशको माया छैन र ?

कवि सम्झाउँछ्न्-

आफ्नो नङ्ग्रा खियाएर
आफ्नै मातृभूमिमा बाँच्न सिक
शान्तिको मादल भिरेर
नेपाल आमाको काखमा नाच्न सिक
एक छाक मात्रै खाएर भए पनि
नेपाली भएको मन गौरवले हाँस्न सिक
मर्नु नै परे पनि देशको लागि मर्न सिक !
(स्वदेशको माया)

तर उनको मनमा अनेक चरित्र र रूप हुनेसँग डर छ । भन्छन् -

बरु मलाई त डर लाग्छ मान्छे भएर पनि मान्छेहरूसँगै
किनभने मान्छे अनेक रूप लिएर आउँदा रहेछन्
+++
कहिले मान्छे बाघ बनेर श्रमजीविहरूको रगत चुसिदिन्छ
कहिले मान्छे भूत बनेर सिधासादाहरूको इज्जत लुटिदिन्छ
कहिले मान्छे राक्षस बनेर गरिबको श्रममा नङ्ग्रा गाडिदिन्छ
(मलाई डर लाग्छ)

धर्मको नाममा अनेक पाप गर्ने र लुट मच्चाउने प्रवृत्ति देखेर उनको मनमा एउटा पहाड नै बसेको छ । दिलभित्रको पहाडमा उनी भन्छन् -

ए ! मान्छेहरू
तिम्रो धर्म त चारैतिरबाट पापैपापले बाँधिएको छ !
(दिलभित्रको पहाड)

मान्छे स्वतन्त्र जन्मिए पनि पछि ऊ समाजद्वारा निर्मित विभिन्न नियममा बाँधिन्छ। स्वतन्त्रताप्रेमी कविपक्षीलाई आफू पिँजडामा थुनिएको अनुभूति हुन्छ र पिँजडाभित्रैबाट उनी यस्तो गीत गाउँछन्-

मेरा हातहरू खुल्ला छन् तैपनि मैले लेख्न पाउँदिन
मेरा खुट्टाहरू स्वतन्त्र छन् तैपनि म चाहेको बाटो हिँड्न पाउँदिन
मेरा आँखाहरू खुल्ला छन् तैपनि मैले चाहेको संसार हेर्न पाउँदिन
मेरा कानहरू खुल्ला छन् तैपनि मैले चाहेको सुन्न पाउँदिन
+++
किनभने मेरो चारैतिर ठूला पहाडहरू पो रहेछन् । जसले प्राकृतिक संसारदेखि छुट्याएर मलाई सामाजिक कैदखानामा पुर्याएछन्।
(मलाई कैदखानामा पुर्याएछ्न्)

जन्मजात रूपमै मानिसको प्रतिभा भिन्न छ। बौद्धिक क्षमता फरक छ। प्रकृतिले पशुपक्षी, वनस्पति र मानवलाई आआफ्नै गुण, क्षमता र स्वभाव दिएको छ। मानवको विकासमा अवरोध गर्ने त विभिन्न सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक नीतिनियम हुन् । प्रकृतिले दिएको विकासको सम्भावनाका पखेटा काटिदिने त देशको विकृत जात प्रणाली र शासन व्यवस्था हुन् । सम्भावित फूल बिजावस्थामै कुहिने वा चुँडिने अवस्था देख्दा कवि मन त्यसको सुरक्षाप्रति चिन्तनशील छ। उनी सोच्छन्-

सौन्दर्य दिन सक्नेले त पखेटा दिन सक्नुपर्ने हो
जीवन दिन सक्नेले त न्याय दिन सक्नुपर्ने हो
तर, यस्तै रहेछ प्रकृति पनि, यस्तै रहेछ सृष्टि पनि !
(चुसिएका फूलहरू)

पिँजडाभित्रै जीवन बिताउनु परे तापनि उनी आफ्नो लक्ष्य भुल्दैनन्, सपना देख्न छोड्दैनन्। "मेरो जिन्दगी र म" शीर्षक कवितामा "म" लक्ष्य अथवा सपना र "जिन्दगी " यथार्थता" वा " कर्म"को प्रतीकको रूपमा आएका छ्न्। यो एक सुन्दर कविता हो। कवि लेख्छन-

म सुस्ताउँदा शितल छ्हारी बनेर आउँछ मेरो जिन्दगी
मैले लेख्दा मीठो शब्द बनेर छाउँछ मेरो जिन्दगी
म लड्दा आत्मबल बनी मलाई उठाउन आउँछ मेरो जिन्दगी
(मेरो जिन्दगी र म.)

देश संविधान निर्माणको चरणमा रहेको बेला कस्तो संविधान बनाउनु पर्ला भनी उनी चिन्तनशील रहेका बखतमा लेखेको एउटा कविताको अंश यस्तो छ-

ए नेताजी, एउटा यस्तो संविधान देऊ
जसमा सबै फूल फुल्न पाउन् ढकमक्क बराबरी
फैलाउन् सुवास आआफ्नै स्वतन्त्र भई थरीथरी
नहोस् कुनै विभेद, सबै नागरिक होउन् सरावरी
देश मै प्रगति गर्न पाऊँ बिना अवरोध सरासरी
( यस्तो एउटा संविधान देऊ.)

देशमा विकास निर्माणको काम एउटै मात्र व्यक्तिले गरेर सम्भव हुँदैन। नेपाली आपसमा नमिली देशको विकास र समृद्धि सम्भव छैन। सामाजिक कुरीति र अन्धविश्वास हटाउन पनि एक पक्ष मात्रै लागेर सम्भव छैन। राष्ट्रका सम्पूर्ण श्रमजीवी जनताका कला, सीप, संगीत र निधारको पसिनाले नै देश विकास गरी समृद्धि हासिल गर्न सकिन्छ। अन्धविश्वासको बन्धन नतोडी न्याय, विकास, मानवता र समानतातर्फको यात्रा सम्भव छैन भन्ने बुझेका कविले आजै थालौँ बनाउन समृद्ध हाम्रो देश भन्दै आह्वान गर्छन्, यसरी –

केही हरफ तिमी लेख, केही हरफ म लेख्छु
केही पङ्क्ती तिमी थप, केही पङ्क्ती म थप्छु
अनि हामी रचना गरौँ, एउटा यस्तो अमर कथा
जसमा उजागर होस्, सबै नेपालीको दु:ख व्यथा

केही बन्धन तिमी फाल, केही बन्धन म फाल्छु
केही कदम तिमी चाल, केही कदम म चाल्छु
अनि हामी मिली थालौँ जिन्दगीको लामो यात्रा
जहाँ बुद्धैबुद्ध भेटिउन, नहोस् कुनै कुटिल पात्र

 

जीवनमा कति संघर्ष गरेर माथि उक्लेका उनी आफ्नो अनुभव यसरी बाँड्छन्-

मैले संघर्षका थुप्रै अनुभव बटुलेको छु
तालीम सकेर आएको एउटा सिद्धहस्त सिपाही जस्तै
पृथ्वीमा मेरो प्रथम अवतरणमा नै संघर्ष बोकेर आएको रहेछु।
(संघर्ष)

हाम्रो देशमा अनेक क्रान्ति र आन्दोलन भए, प्रजातन्त्र ल्याइयो। तर सर्वसाधारण जनताले त्यसको अनुभूति गर्न सकेनन् । त्यसैले कवि प्रश्न गर्छन् " खै कहाँ आयो प्रजातन्त्र ?" उनी थप्छन् -

.... तर, थुप्रै शहीदको रगतले अभिसिन्चित
यस धर्तीको माटोलाई हेर्छु
अझै खलिहानमा बारुदको गन्ध सेलाएको छैन
गर्भे टुहुराको ओठमा अझै मुस्कान पलाएको छैन
बिधुवाको सिउँदोमा अझै खुसी मौलाएको छैन
त्यसैले, नाङ्गा आङहरू र खोक्रा पेटहरू भन्छ्न्-
खै ! कहाँ आयो प्रजातन्त्र ?
(खै कहाँ आयो प्रजातन्त्र ?)

संविधानमा आएको लोकतन्त्र संस्कार र व्यवहारमा आउन अझै बाँकी नै छ। कानुनमा हटेको छुवाछुत व्यवहारत: हट्न अझै बाँकी नै छ। " अछुत हुन्छ रे" शीर्षक कवितामा उनी व्यङ्ग्य गर्छन् -

बनाइएका हस्तकला मझेरीमा राज गर्छन्
तर, बनाउनेवाला अछुत हुन्छ रे
सिलाएको वस्त्रले उसको व्यक्तित्व बन्छ
तर, सिलाउनेवाला अछुत हुन्छ रे !
(अछुत हुन्छ रे)

नेपालका नेता, अभिनेता, लेखक र रक्षकप्रति व्यङ्ग्य गर्दै कवि भन्छन् -

मैले के उपदेश दिन सक्छु र
न त म त्यस्तो नेता हुँ
जसले गरिबलाई चुसेर न्याय र मुक्ति डकार्छन्
न त म त्यस्तो अभिनेता हुँ
जसले नाटकीय शैलीमा अमर प्रेमको नक्कली संवाद छाँट्छन्
न त म त्यस्तो लेखक हुँ
जसले वास्तविकतालाई पर्दाले छोपेर झुठो समाचार लेख्छन्
न त म त्यस्तो शासक नै हुँ
जसले लाठी र बुट छातिमा बजारेर जनताको सेवा गर्छन्
म त केवल पीडा र दर्दले भरिएको एउटा मान्छे
तपाईंलाई म के उपदेश दिन सक्छु र !
(साथीलाई सल्लाह.)

जीवन भोगाइको उत्तरार्धमा व्यक्ति आफ्नो जीवनको मूल्यांकन गर्न थाल्छ। सफलता/ असफलता, प्राप्ति/ गुमाइ सबैको लेखाजोखा गर्दै आफ्नो जीवनसँग आफै संवाद गर्न थाल्छ। जीवनका रहस्य बुझ्न ऊ लालायित हुन्छ र आफ्नो अनुभूति /बुझाइ अरुलाई सुनाउन चाहन्छ। जीवनको अन्तिम सत्य र गन्तव्य त आखिर मृत्यु नै रहेछ। आखिर पाप धर्म भन्ने कुरा पनि मानवनिर्मित नै रहेछन् भन्ने कुराको सत्यबोध गरिसकेपछि कवि भन्नुहुन्छ-

आज मैले पापधर्मको पत्रपत्र केलाएर आएँ
थाकिएछ जिन्दगानी आर्यघाटमा सेलाएर आएँ ।

रहर थियो जिन्दगीलाई स्वप्न-बगैचा बनाएर रम्ने
कुन्नी कताबाट आधी आयो सबै फूल टुक्राएर लग्ने ।
त्यही टुक्रिएका फूल जोडी यहाँसम्म डोर्याएर ल्याएँ
थाकिएछ जिन्दगानी आर्यघाटमा सेलाएर आएँ ।
( थाकिएछ जिन्दगानी.)


यस्तै सुन्दर कवितांश/कविताले सजिएको " मान्छे र माटो-२" कवितासंग्रह पढ्दै गर्दा कविसँग गुनासो गर्न मन लाग्छ -त्यति पहिले नै यति सुन्दर कविता सिर्जना गर्ने मान्छे आज किन चुपचाप ? तर, यसको जवाफ कविले " माटो र मान्छे-२" मा थप सिर्जना समेटेर दिनुभएको छ । त्यस्तै, गजलको गेयता, श्रुतिमधुरता र सुन्दरताबाट मोहित भएर होला कविले आफ्ना केही सिर्जनामा गजलशैलीलाई पछ्याउनुभएको छ भने केही सिर्जना लोकलयमा आधारित छ्न्।

यस संग्रहमा संगृहित ५ वटा अंग्रेजी कवितामध्ये Life शीर्षकको कविता दार्शनिक भाव बोकेको छोटो कविता हो । अन्य कवितामा जीवनलाई नाटक र खोजको रूपमा हेरिएको, त्रुटिलाई सिकाइको रूपमा लिइएको र उनका अनेक आकाङ्क्षा प्रकट भएको देखिन्छ । त्यस्तै, पछि थप गरिएका सिर्जनामा प्रेम भाव प्रकट छ।

आमाले बच्चा जन्माउँदै गर्दा पीडाको आवाज निस्कन्छ, प्रेमिकाले प्रेमको चरम आनन्द अनुभूति गर्दैगर्दा आनन्दको आवाज निस्कन्छ। तर ती दुई भिन्न प्रकृतिका आवाज स्वतस्फूर्त हुन् । बीके सेवकका कविताका सन्दर्भमा पनि यही भन्न सकिन्छ- उनका कविता उनले भोगेका पीडा र आनन्दका क्षणमा प्रस्फुटन भएका स्वतस्फूर्त मानवीय संवेग र संवेदना हुन्।

माटो साझा हो तर यसमा विभेदका रेखा कोरिएका छन्, सीमा तोकिएका छन् । दर्शनहरू पनि सिमित स्वार्थी व्यक्तिका स्वार्थपूर्तिको अस्त्र र माध्यम बनाइएका छ्न् । यस्तो परिवेशमा बीके सेवकज्यू जस्ता कति प्रतिभा फुल्नै नपाइ ओइलाए त कति बिजावस्थामै कुहिए तर सेवकज्यू यही माटोमा भिजेर आफूलाई फुलाउन सक्षम हुनुभयो। राष्ट्रको सेवामा तल्लीन हुनुभयो। अहिले उहाँ एउटा साहित्यिक फूल फुलाएर हामीमाझ सुवास छर्दै हुनुहुन्छ। साहित्यको सेवामा समर्पित र तल्लीन हुनुहुन्छ।

कला कहिल्यै पूर्ण हुनसक्छ जस्तो मलाई लाग्दैन। सुन्दरताको सीमा हुन्छ जस्तो मलाई लाग्दैन। साधना जति गर्दै गयो त्यति नै सुन्दर र पूर्णता उन्मुख कला र सिर्जना प्रकट हुँदै जान्छन्। त्यसको निम्ति आवश्यक साधना र समर्पण कविमा देखिएकोले भविष्यमा उहाँबाट अझ सुन्दर कृति नेपाली साहित्यले पाउनेछ भन्ने आशा गर्न सकिन्छ। अन्त्यमा, प्रस्तुत कविता कृतिका निम्ति कविलाई हार्दिक बधाई तथा अन्यान्य सिर्जनाका निम्ति हार्दिक शुभकामना प्रकट गर्नुका साथै उहाँको अवकाश प्राप्तिपछिको जीवन सक्रिय सुखद र स्वस्थ बितोस् भन्ने कामना गर्दै अहिलेलाई म यहीँ रोकिन्छु।


(कवि 'विके सेवक'को प्रकाशोन्मुख कवितासंग्रह 'माटो र मान्छे-२' को समीक्षा|)

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - १७:५४:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend