एनआरएनए आइसीसीको आसन्न अधिबेशनमा डाक्टर केशव पौडेल महासचिव पदमा उम्मेदवार हुने भएका छन्। नेप्लिज डायस्पोराले गरेको फोन सम्पर्कमा डाक्टर पौडेलले भने, "हो मैले आईसिसिको महासचिवमा उठ्ने निर्णय गरें।"
यो अभियानसंग आफ्नो भावनात्मक सम्बन्ध रहेको खुलाउदै डाक्टर पौडेलले आफुले फराकिलो चिनारी, हजारौं साथी र शुभचिन्तक बनाएको र त्यही जगमा टेकेर यो निर्णय लिएको नेप्लिज डायस्पोरासंगको कुराकानीमा उल्लेख गरे।
"मैले संसारभर फैलिएका नेपाली दाजुभाई दिदीबहिनीका दुख र दर्दका हज्जारौं घाउ अनि सफलताका हज्जारौं साहसिक कथाहरुलाई नजिकबाट महशुश गरेको छु। म ती घाउहरुमा मल्हम लगाउन र ती सफलताका कथाहरुलाई अझै पूर्णता दिन महासचिव पदमा उठ्ने निर्णय गरेको हुँ।" डाक्टर पौडेलले भने।
"एनआरएनएको अभियानमा २०१५ पछि संघबाट धेरै काम गर्न सकिन्थ्यो तर खासै उपलब्धिमुलक काम गर्न सकिएको छैन। एनआरएनहरुको मुख्य एजेण्डाहरु नै छायाँमा परेका छन्। कतिपय त बिषयको उठान नै भएको छैन।" पौडेलले भने।
"नेपाली नागरिकताको निरन्तरताका बिषयमा सन् २०१५ पछि उल्लेख्य प्रगति हुनसकेको छैन। दोहोरो करको बिषय उठान गर्नै सकेको छैन यसमा मैले महत्वपूर्ण योगदान दिने छु।" आफु पूर्ण तयारी र योजनाका साथ आएको बताउदै पौडेलले अगाडी थपे, "भिजन २०२० एण्ड बियोन्ड पनि २०१६ मा हाम्रै पालामा न्युजर्सी सम्मेलनबाट पारित गरिएको कार्यक्रम हो।"
"हिजो अमेरिकाको एनआरएनएलाई एउटा उचाईमा पुर्याएको थिएँ। भोलि आईसिसिलाई सफल बनाउने योजनामा छु।" पौडेलले नेप्लिज डायस्पोरासंग भने।
यो पटक आफू विश्वभरिका सदस्यहरु, आईसिसिका प्रतिनिधिहरु र आकांक्षीहरुसँग सम्पर्कमा रहेको र त्यही अनुसार रणनीति र कार्यनीति बनाईरहेको बताउदै पौडेलले यो अभियानको एउटा सच्चा, अनुभवी र दक्ष उमेद्वार भनेर सबैले सहयोग गर्ने विश्वास आफुले राखेको पनि स्पष्ट पारे।
पौडेल सन् २०१३ देखि एनआरएन अभियानमा सक्रिय छन् । २०१३-२०१५ कार्यकालमा डाक्टर पौडेल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सल्लाहकार थिए। २०१५ -२०१७ र २०१७-२०१९ मा गरि दुई कार्यकाल एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित अध्यक्ष भएर काम गरिसकेका ब्यक्ति हुन्।