अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च, अमेरिकाको अमेरिकाको म्यासाचुसेट्स राज्यको बोष्टन सहरमा यही जुन १७ देखि १९ सम्म हुने राष्ट्रिय अधिवेशन आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।
‘सबल प्रवासी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनमा भाग लिनका लागि अतिथिहरु तथा प्रतिनिधिहरु बोस्टन आउनेक्रम जारी छ। शुक्रबार सांझसम्ममा लगभग सबै प्रतिनिधिहरु कार्यक्रमस्थलमा आईसकेको पनि आयोजकले जनाएका छन ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य, विदेश विभाग प्रमुख एवं प्रवास इन्चार्ज तथापरराष्ट्रविज्ञ डा. राजन भट्टराई प्रमुख अतिथि र विशेष अतिथिद्वय नेकपा (एमाले) संसदीय दलका सचेतक एवं सांसदशान्ता चौधरी र पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे बोस्टनमा आइपुगिसकेको मञ्चका सचिव कृष्ण लामिछानेले जानकारी दिए।
तीनदिने अधिवेशनलाई मुख्य गरी स्वागत तथा उद्घाटन सत्र, बन्द सत्र, निर्वाचन सत्र तथा समापन सत्रको ढाँचामा कार्यक्रमतालिका तय गरिएको छ। जसअनुसार स्वागत तथा उद्घाटन सत्रमा प्रमुख अतिथि तथा अतिथिहरुलाई स्वागत गर्नुका साथैमनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। बन्द सत्रमा मञ्चका आर्थिक तथा सांगठानिक गतिविधि प्रतिवेदन प्रस्तुत गरिने, त्यस उपर छलफल गरिने र पारित गरिनेछ।
यस्तै, निर्वाचन कार्यक्रम तालिका अनुसार आगामी कार्यकालका लागि प्रजातान्त्रिक अभ्यासबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै अधिवेशनको समापन गरिने कार्यक्रम तालिका रहेको अध्यक्ष प्रभु थापाले विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
आयोजकका अनुसार अधिवेशनमा अमेरिकाको २४ राज्यहरुबाट १६३ जना प्रतिनिधिहरुले भाग लिँदैछन्। अधिवेशनमा अतिथि, प्रतिनिधि, सदस्य, पत्रकार, परिवेक्षक तथा सुभेच्छुक गरी कुल दुई सयभन्दा बढीको सक्रिय सहभागिता रहने आयोजकको अनुमान छ।
मञ्चको विधानअनुसार प्रत्येक तीन वर्षमा अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्नुपर्ने भए तापनि, कोरोना लगायतका कारणले समयमा गर्न नसकिएको मञ्चका अध्यक्ष प्रभु थापाले बताए।
सन् २०१२ मा स्थापना भएको मञ्चले दोश्रो अधिवेशन सन् २०१७ मा बाल्टिमोरमा सम्पन्न गरेको थियो।
नयां पदाधिकारी चयन गर्ने यो अधिवेशनमा अध्यक्ष पदका लागि कृष्ण लामिछाने, गोपाल कंडेल र अच्युत सिग्देलको नाम चर्चामा आएको छ । विहिवारको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा वर्तमान अध्यक्ष थापाले आफुलाई धेरै प्रतिनिधिहरुले पुन: अध्यक्ष बन्न दबाब आएको उल्लेख गर्दै आफू ईच्छुक नभएको तर साथीहरुको भावनाको कदर गर्न सक्ने पनि उल्लेख गरेका छन ।