नेप्लिज डायस्पोराका प्रधान सम्पादक तथा संचालक सतीश चापागाईलाई बाल्टिमोर काउण्टिले सम्मान गरेको छ ।
काउण्टि एक्जुक्टिभ जोन ए. ओजेवस्की जुनियरद्वारा हस्ताक्षर गरिएको साईटेशनमा नेप्लिज डायस्पोरा मिडिया मार्फत समुदायलाई सुसूचित सहयोग पुर्याएको उल्लेख गर्दै प्रशंसा गरिएको छ ।
"बाल्टिमोरका नागरिकका तर्फबाट तपाईका आगामी दिनहरुमा निरन्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं ।" साईटेशनमा भनिएको छ ।
एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोर र बाल्टिमोर एथ्लेटिक्स क्लबले आयोजना गरेको एक कार्यक्रमका क्रममा उक्त सम्मान गरिएको हो ।
विभिन्न संस्थाहरुले गरेको सिफारिशका आधारमा काउण्टि एक्जुक्टिभको कार्यालयले यो सम्मान प्रदान गरेको हो । समाजमा उल्लेख्य योगदान गरेको भन्दै अन्य व्यक्ति र संस्थालाई पनि साईटेशन प्रदान गरिएको थियो ।
चापागाई अहिले पाल्पाली संगम अन्तराष्ट्रिय समन्वय समितिका संयोजक हुनुहुन्छ । उहां एनआरएनए अमेरिकाको निबर्तमान मिडिया कोअर्डिनेटर हुनुहुन्छ ।
लामो समय पत्रकारिता गरेका चापागाई कवि तथा गीतकारका रुपमा समेत चिनिनु हुन्छ ।
काउण्टि एक्जुक्टिभको कार्यालयबाट साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट 'नेपाली छोरो', एनआरएनए कोरियाका पुर्व अध्यक्ष तथा नेपालका तर्फबाट तेक्वान्दो खेलका अन्तराष्ट्रिय खेलाडी राजु क्षेत्री, साथी बाल्टिमोर, एनआरएनए मेरिल्याण्ड च्याप्टर, बाल्टिमोरको सामाजिक संस्था बानाका अध्यक्ष सुबोध विलास पन्त, बाल्टिमोर एथ्लेटिक्स क्लब, नेपाली अमेरिकन कन्भेन्सनका अध्यक्ष व्यास विसुलाई पनि यो सम्मान प्रदान गरिएको थियो ।
