अर्थमन्त्री जनार्दन शर्माले प्रवासी नेपालीका सबै विषयहरूमा नेपाल सरकार गम्भीर रहेको बताएका छन्। अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री शर्माले राजधानी वासिंगटन डिसी नजिकै एनआरएनए पदाधिकारीहरुसंगको भेटघाटमा उक्त कुरा बताएका हुन् ।
दोहोरो नागरिकता, नेपालमा लगानी तथा दोहोरो कर प्रणाली लगायतका क्षेत्रमा धेरै काम पनि सुरु गरिसकिएको जानकारी दिँदै नेपाल सरकार प्रति आश्वस्त रहन पनि आग्रह गरेका छन्।
कार्यक्रममा नेपालको अर्थतन्त्र, घट्दो मौद्रिक सञ्चिति, नेपालको औद्योगिक नीति, रेमिटेन्स र वैदेशिक ऋण जस्ता जटिल विषयहरूमा अर्थपूर्ण छलफल र बहस भएको थियो। सो कार्यक्रममा सबैले विभिन्न विषयमा आ-आफ्नो धारणाहरू राखेका थिए ।
नेपालको अर्थतन्त्रलाई कसरी उत्पादनमुखी बनाउने? हाल नेपालमा बन्द रहेका कलकारखाना सुचारु गर्ने बारे नेपाल सरकारको आगामी रणनीति, दोहोरो नागरिकता, दोहोरो कर प्रणाली, डलर खाताका विषय, नाफामूलक आयोजनाका निमित्त मात्रै ऋण लिन तथा अनुत्पादक क्षेत्रमा वैदेशिक ऋण नलिन सुझाव, सरकारले गैर आवासीय नेपालीहरूको लागि लगानीको सहज वातावरण सृजना गरिदिनु पर्ने जस्ता विषयहरूमा छलफल गरिएको थियो।
उक्त भेटघाटमा अर्थ सचिव कृष्ण हरि पुस्कर, अमेरिकाका लागि नेपालका राजदूत महामहिम श्रीधर खत्री, डेपुटी चिफ अफ मिसन कुमार राज खरेल, ईकोनोमिक कन्सुलर होमकान्त भण्डारी लगायत प्रवासी नेपाली मञ्चका अमेरिकाका पूर्व अध्यक्ष प्रभु थापा लगायत अमेरिकामा रहेका स्थानीय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
एनआरएनए अमेरिकाका केन्द्रिय पदाधिकारी वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त, उपाध्यक्ष सुमन थापा, सल्लाहकार सुभास घिमिरे, सचिव अनुप खनाल, बोर्ड अफ डाईरेक्टर डोल नाथ घिमिरे, स्टुडेन्ट टास्क फोर्सका संयोजक मिलन जङ् कटुवाल, एनआरएनए अमेरिकाका भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मी, सचिव रोशन कैनी द्वारा नेपाल सरकारका माननीय अर्थमन्त्री जनार्दन शर्मासँग अनौपचारिक भेटघाट गरेका थियो ।
वासिङ्टन डी.सी. मा भएको अनौपचारिक अन्तरक्रिया कार्यक्रम लाई नेपालका युवा सफल व्यवसायी मनिष राज घिमिरेले आयोजना तथा सहजीकरण गरेका थिए ।