Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जिउँदा मान्छे (लघुकथा) - साधना प्रतीक्षा

जिउँदा मान्छे (लघुकथा) - साधना प्रतीक्षा

नेप्लिज डायस्पोरा

१७, कार्तिक २०७९
images
जिउँदा मान्छे (लघुकथा)   - साधना प्रतीक्षा

 

रातको निस्पट्ट अन्धकारमा एउटी युवती बेतोडले दौडिरहेकी छ । पिछा गरिरहेका दुई जना भुसतिघ्रेहरूबाट जोगिन ऊ यसरी दौडिरही कि उसलाई आफू कहाँ आएँ भन्ने सम्मको हेक्का रहेन । एउटा ठूलो गेटबाट छिरेर सोझै हान्निँदै ऊ कुनै ठूलो भवनको पछाडि पुगी । अझै अघि बढ्दैथिई, पुरुषको आवाज सुनी । उसको मुटु जोरले काम्न थाल्यो ।

" ए नानी, कहाँ जान लागेकी ? " उसलाई रोक्न खोज्ने त्यहाँको चौकीदार थियो ।

ऊ रोकिन चाहिन र अनुनयको स्वरमा बोली– " ए दाइ, मलाई तिनीहरूले लखेटिरहेछन् । केहीबेर यतै लुक्न दिनुस् न । तिनीहरू छलिएपछि म आफ्नो बाटो लाग्छु ।"

ऊ भित्रतिर जान लाग्दैथिई, चौकीदार बोल्यो – " यहाँ कसरी लुक्छ्यौ नानी ? यो त अस्पतालको मुर्दाघर हो । त्यहाँ भित्र त लाशैलाश मात्र छन् !"

उसको भनाइ नटुङ्गिँदै युवती बोली– " लाश ?! त्यसो भए त म तिनीहरूसँगै सुत्छु नि मरेजस्तै गरेर ! मरेकासँग केको डर, जिउँदा मान्छेहरूसँग पो डर ! बिन्ती छ दाइ, मलाई त्यहाँ लुक्न दिनुस् ।"

चौकीदार चकित भयो । बत्तीको मधुरो उज्यालोमा पनि उसले युवतीको यौवन र सौन्दर्यको अनुमान लगाइसकेको थियो । उसले भित्र जाने अनुमति दियो । केही बेरमा दुई पुरुष आकृति पनि त्यही बाटो भएर आए तर ‘मुर्दाघर’ भन्ने बोर्ड देखेर फरक्क फर्किए ।

पुनः सन्नाटा ।

लाशसँगै बसेर आफूलाई सुरक्षित ठानिरहेकी युवती पुनः असुरक्षित बनी तिनै लाशको सुरक्षा गर्ने चौकीदारको आगमनले– " यति राम्री नानी यी मुर्दाहरूसँग किन बस्नु ? आऊ यता म जिउँदो मान्छे छँदैछु नि तिम्रो सुरक्षा गर्ने ! "

पाको उमेरको त्यो चौकीदारको आँखामा पनि अघिका दुई जनाको जस्तै उन्माद देखेर ऊ नराम्ररी चिच्याई तर चौकीदारले आफ्ना बलिष्ट बाहुको प्रयोग गर्यो र उसको मुख बन्द भयो । ऊ छट्पटाउन थाली । उसलाई लाग्यो, अब मुक्ति सम्भव छैन । बाघको लखेटाइबाट जोगिन सिंहको गुफामा आइपुगैझैँ उसको आत्मबल गल्यो ।

अनायास एउटा मुर्दा चल्मलायो, जुरूक्क उठ्यो अनि चौकीदारको टाउकोमा एक मुक्का बजायो । ऊ ठहरै भयो ।

" नानी, अब तिमी सुरक्षित छौ यो मुर्दाको बस्तीमा ! उज्यालो नहुन्जेल ढुक्कले यहीँ बस्नु अनि आफ्नो बाटो लाग्नु । सुन, जिउँदा मान्छेको भर कहिल्यै नपर्नू नि । " यति भन्दै मुर्दाले आफूले ओढेको सेतो वस्त्रले युवतीको शरीर ढाकिदिएर पुनः पहिलेकै स्थानमा लड्यो । वातावरणमा उही चकमन्नता ।

- पोखरा ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - २२:११:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend