बिष्णु शर्मा
बाल्टिमोर, २२ जनवरी
‘विदेशमा देश छ’ कार्यक्रमको निम्ताले मन चसक्क भो । एपी टिभीका प्रमुख सम्पादक एवं तमसोमा ज्यार्तिगमय’ लोकप्रिय कार्यक्रम प्रस्तोता पत्रकार टीकाराम ‘यात्री’संग राखिएको छलफल भएकाले जान उत्प्रेरित भएं। अमेरिका भ्रमणमा रहनु भएका पत्रकार यात्रीको स्वागतमा नेप्लिज डायस्पोरा र एनआरएन मेरिल्याण्ड च्याप्टरले सो कार्यक्रमको आयोजना गरेको हो । एपी टेलिभिजनका प्रमुख सम्पादक यात्री सरल र मृदुभाषी हुनुहुंदो रहेछ टिभीमा बोल्दा जस्तै ।करिब ३० जना सहभागी थियौं । अधिकांश सहभागीको आशय भाषा, धर्म र संस्कृतिको निरन्तरताबाट विदेशमा देशलाई बोकिरहेका छौं भन्ने थियो ।
मानिस देशबाहिर जहां रहेपनि शुरु जन्म देशबाटै हुन्छ । आत्मियता त्यहीको हुन्छ जहां त्यो व्यक्ति जन्मिएको हुन्छ । जन्मदेशमा घट्ने घटनाले उसलाई पहिला छुन्छ । सपना त्यहीको देखिन्छ । चाडपर्वमा अपनत्व पाइन्छ । जन्मदेशकै भाषा थाहै नपाई मुखरित हुन्छ ।
मष्तिस्कमा छाप जन्मदेशकै परेको हुन्छ । त्यसैले विदेशमा रहंदा पनि जन्म देशलाई हरेक व्यक्तिले मनमा बोकेकै हुन्छ । उसको अन्तस्करणले जन्मदेशतर्फ नै डोर्याई रहेको हुन्छ । त्यसो नहुदो हो त जति नै अर्को भाषामा पोख्त भएपनि मातृभाषा किन प्यारो लाग्थ्यो होला । अनायासै किन सबै अंग्रजी बोल्नेका माझ नेपाली भेटिदा नेपाली भाषामै बोल्न मन लाग्थ्यो होला ?
विदेशमा देशलाई बोकेकैले मन्दिर निर्माण, भाषा पुस्तान्तरका लागि दोस्रो पुस्ता अग्रसर भएको छ । यही नै विदेशमा देश भन्ने प्रमाण हो । संगसंगै नेपालीहरुमा एउटा अभिषाप लाग्दो बानी पनि उत्तिकै ज्वलन्त छ । त्यो हो हामी नेपाली अन्यदेशका सबै मानिससंग मिल्न सक्ने आफ्नै नेपालीबीच ईर्ष्या गर्ने बानी ।
पत्रकार यात्रीले सहभागीहरुले राखेका प्रश्नहरु लक्षित गर्दै भन्नुभयो–अन्य देशका तुलनामा नेपालले त्यति फड्को मार्न नसकेपनि २००७ सालदेखि २०७९सम्म झण्डै ७० वर्षको समयमा मानिसहरुको औसत आयु र शिक्षामा भएको बढोत्तरी(झण्डै ९० प्रतिशत), उल्लेखनीय छ । तर चुनौति पनि उत्तिकै पेचिला छन् ।
जस्तै सार्वजनिक स्वास्थ्य, यातायात, शिक्षामा बर्गीय दरार बढ्दै जानु । उहांले राजनीतिक क्षेत्रमा काम गर्न उमेर वाधक नभएको विचार राख्दै भारत, चीन, अमेरिकाका राजनीतिक प्रमुखहरुको उदाहरण दिनु भयो । युवा पुस्ताको हुंदैमा बढी सक्रिय र नहुदा कम भन्ने होइन । तर विडम्बना हामीभित्र कै राजनीतिक दम्भले हामीलाई विभक्त बनाउन भने सघाएको हो भन्नुभयो ।
डेलावर राज्यका लागि नेपाल सरकारका पर्यटन दूत तथा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा स्थापित सफल व्यवसायी कृष घिमिरे, विनोद उप्रेती, रमेश भट्ट नेपाली छोरो र तरुण पौडेलले विदेशमा देशलाई साथसाथमा हरपल रहने गरेको आफ्ना अनुभव र विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा म आफैले पनि प्रवास बसाईका क्रममा भोगिरहेको देशप्रेम र भाषा संस्कृतीमा म आफै सम्लग्न कामहरुको बारेमा पनि बोल्ने मौका पाएं ।
आयोजक नेप्लिज डायस्पोराका संचालक सतीश चापागाई र प्रमुख वक्ता टिकाराम यात्री जीलाई यो कार्यक्रमका लागि धन्यवाद ।