Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अस्ट्रेलिया आउन नक्कली विवाह

अस्ट्रेलिया आउन नक्कली विवाह

सतीश चापागाईं

१८, भाद्र २०७५
images
  वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबीच पैसाकै मामिलामा खटपट पर्‍यो। पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबीच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन्। युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन्। माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो। नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक (विद्यार्थी) लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढदै गएको छ। कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन्। यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन्। अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ।   करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन्। जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए। ‘यो वास्तवमा समस्याका रूपमा बढिरहेको छ,’ उनले भने, ‘कानुनी रूपमा सक्कली विवाह भए पनि यी विवाहको नियत नक्कली हुने र यसैले समस्या सिर्जना गरिरहेको मेरो ठम्याइ छ।’   अस्ट्रेलियामा कानुन विषयमा विद्यावारिधि गरेका शमशेरसिंह थापा त नेपालको सरकारले नक्कली विवाह गराउने कन्सल्टेन्सीहरूको अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताउँछन्। अहिलेसम्म ४ सय बढी नेपाली जोडीको डिभोर्सको मुद्दा हेरिसकेका उनले भने, ‘७५ प्रतिशत बढी मुद्दा यस्तै प्रकृतिको हुने गरेका छन्।’ उनका अनुसार अस्ट्रेलिया आइपुगेपछि मुख्य आवेदकले पैसामा बार्गेनिङ गर्ने र अर्काेले आफ्नो सम्झौताबारे अध्यागमनमा उजुरी दिने भन्दै दोहोरो बार्गेनिङ हुने गरेको छ। अर्काेतिर स्थायी अनुमतिपत्र (पीआर) आवेदन दिने समयमा समेत आफूसँग ‘डिपेन्डेन्ट’ आएकालाई सामेल नगर्नेसमेत गरिएको छ। डिभोर्स गर्न आएका सक्कली जोडीमध्ये आधाभन्दा बढी सम्झाइबुझाई गर्दा पुन: सामान्य जीवनयापन बिताइरहेको तर नक्कली विवाह गरेकाहरूले भने वास्ता नगर्ने उनको अनुभव छ।   यस क्षेत्रमा काम गरिरहेकाहरू नेपालका केही नाम चलेका कन्सल्टेन्सीहरूबाट समेत नक्कली विवाह गरी आएका विद्यार्थीहरू आफूले पाएको बताउँछन्। कमिसनबापत ठूलो रकम लिएर विद्यार्थीको साथ लगाएर अस्ट्रेलिया पठाइने गरेको दाबी उनीहरूको छ। अस्ट्रेलिया छिर्नकै लागि दिदीले आफ्नी बहिनीसँग श्रीमान्लाई ‘डिपेन्डेन्ट’ भिसामा पठाउने, अन्य आफन्तबीचमै विवाह गराएर पठाउनेलगायत घटनाहरूसमेत देखिएको वकिलहरूको भनाइ छ।     अस्ट्रेलियामा रहेको विद्यार्थी परामर्शदाताहरूको संस्था एकाका पूर्वमहासचिव सञ्जीव पाण्डे अहिले नेपाल विद्यार्थी भिसा पाउनेमा कम जोखिमको राष्ट्रमा रहेको जानकारी दिँदै यस्ता कार्य नरोकिए अध्ययनकै लागि आउन चाहने सक्कली नेपाली विद्यार्थीलाई भविष्यमा समस्या आउन सक्ने बताउँछन्। उनी यो प्रवृत्ति देशको प्रतिष्ठासँग जोडिएकाले यसलाई रोक्न जरुरी भएको बताउँछन्।   क्यानबेरामा रहेको नेपाली दूतावासले समेत डिभोर्सका लागि आवश्यक अधिकृत वारेसनामा लिनेको संख्यामा तुलनात्मक वृद्धि भएको बताएको छ। थापाका अनुसार अस्ट्रेलियामा डिभोर्स गर्न पनि सहज भने छैन। विवाह गरेपछि एक वर्ष छुट्टै बसेको हुनुपर्छ भने २ वर्षभन्दा कम समयमा डिभोर्स गर्न चाहे काउन्सिलिङमा जान जरुरी हुन्छ। अर्कोतिर यदि सरकारले नक्कली विवाह गरेको थाहा पाए भिसा रद्द हुने, पीआर पाएको भए पनि रद्द हुने तथा ३ देखि १० वर्षसम्म अस्ट्रेलिया आउनबाट वञ्चित हुने प्रावधान छ। तस्बिर / समाचार : कान्तिपुर

images
प्रकाशित मिति :भाद्र १८, २०७५ सोमवार - १५:५३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend