न्युयोर्क । अमेरिकामा नेपाली मूलका व्यवसायी राज भण्डारी यहांको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । नेपालघर कास्की पोखरा भएका राजको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।
अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको हो ।
नर्थ क्यारोलाइनमा मुख्यालय रहेको कम्पनीका सञ्चालक राज भण्डारी हुन् भने अपरेशन म्यानेजर रञ्जन कार्की हुन् । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि सो सिफारिस गरेकी हुन् ।
ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई समेत दिएका थिए ।
विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएकी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् ।
यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज, र टोलीका नेता रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको उनले बताइन् ।
सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको छ, जसको प्रयोगहरूमा औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने लगायत समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।
यो कम्पनीमा आफ्नो एकल लगानी रहेको र पोखराकै रन्जन कार्की आफूसँग भाइस प्रेसिडेन्टको रुपमा रहेको भण्डारीले बताए ।
उनले भने, “हामीले धेरै मेहनत गरेर यो कम्पनी खडा गरेका हौं । ५० राज्यबाट छानिएका ५० कम्पनीमध्ये पहिला टप टेन कम्पनी छान्दा पनि हामी परेका हौं । र ती टप टेनबाट पनि छानिएर हामी नम्बर वानमा हामी परेका हौं । अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिले भेटेर बधाई दिनुभयो । अहिले हामीले जताततैबाट बधाई पाईरहेका छौं । खुशीको सिमा छैन ।” राजले नेप्लिज डायस्पोरासंग भने ।
Source: nepal press.com