अमेरिका, ७ जुन ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को कार्यसमिति बैठकले सल्लाहकार मनोनयन गरेको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा जुन १, २०२३ मा बसेको कार्यसमितिको बैठकले संघको विधानले व्यवस्था गरेअनुसार ७ जना सल्लाहकार मनोनयन गरेको हो ।
मनोनीत सल्लाहकारहरूमा गिरीश पोख्रेल, आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य, मच्छेदेवी गुरुङ, सञ्जय घिमिरे र सरोज काफ्ले रहनुभएको छ । पोखरेल संघका संस्थापक अध्यक्ष हुनुहुन्छ भने शेर्पा, दाहाल र आचार्य संघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ संघका पूर्वउपाध्यक्ष, घिमिरे नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवम् संघका पूर्वसल्लाहकार र काफ्ले नेपाल आर्थिक पत्रकार समाजका पूर्वकोषाध्यक्ष हुनुहुन्छ ।
यस्तै, कार्यसमिति बैठकले संघको कार्यसमितिमा रिक्त पदमध्ये क्षेत्रीय संयोजकहरू मनोनयन गरेको छ । रिक्त डीसी महानगर क्षेत्र संयोजकमा हरीमाया (सिर्जना) काफ्ले र क्यानाडा संयोजकमा गोकर्ण लामिछानेलाई मनोनयन गरेको छ । योसँगै नेजा कार्यसमिति १६ सदस्यीय बनेको छ ।
यसैगरी, बैठकले संघको विधानले व्यवस्था गरे अनुरुप केही विषयगत समितिसमेत बनाएको छ । संघका उपाध्यक्ष सुजन पण्डितको संयोजकत्वमा नीति र समन्वय समिति, महासचिव बाबुराम दाहालको संयोजकत्वमा सदस्यता छानबिन तथा सिफारिस समिति, संघका पूर्वसचिव अग्नि चौलागाईंको संयोजकत्वमा विधान समिति र संघका आजीवन सदस्य सतीश चापागाईंको संयोजकत्वमा आचार-संहिता अनुमगन तथा अनुशासन समिति गठन गरिएको छ ।
जसमध्ये नीति तथा समन्वय समितिमा सबै क्षेत्रीय संयोजकहरू उत्तर-पूर्व क्षेत्रका संयोजक सुपेन्द बस्नेत, मध्य क्षेत्रका संयोजक शंकर थापा, पश्चिम क्षेत्रका संयोजक रोशन अधिकारी, डीसी महानगर क्षेत्रका संयोजक हरीमाया (सिर्जना) काफ्ले र क्यानाडा संयोजक गोकर्ण लामिछाने र कार्यसमिति सदस्य ईश्वरी न्यौपाने सदस्यको रूपमा रहनुभएको छ ।
समितिमा आवश्यकताअनुरुप संयोजकले नेजा सचिवालयसँग समन्वय गरी सदस्य थप गर्न सक्ने निर्णय गरिएको छ ।
यस्तै, सदस्यता छानबिन तथा सिफारिस समितिमा कोषाध्यक्ष जानकी शर्मा पङ्गेनी सदस्यको रुपमा रहनुभएको छ भने अन्य सदस्य आवश्यकताका आधारमा संयोजकद्वारा सचिवालयसँग समन्वयमार्फत थप गर्न सकिनेछ ।
यस्तै, विधान समिति सदस्यमा सचिव प्रतिमा बाँस्कोटालाई राखिएको छ भने अन्य सदस्य संयोजकको परामर्शमा थप गरिनेछ, आचार-संहिता अनुगमन तथा अनुशासन समितिको सदस्यमा क्षेत्रीय संयोजक शंकर थापा (मध्य क्षेत्र)लाई राखिएको छ भने अन्य सदस्य सचिवालयसँगको समन्वयमा संयोजकद्वारा थप गरिनेछ । यी समितिबाहेक आवश्यकताबमोजिम संघको विधानले व्यवस्था गरेअनुसार अन्य विषयगत समितिहरू निर्माण गरिनेछ ।