रोशनबहादुर सिंह
अमेरिका
सुदुरपश्चिम समाज मेरिल्याण्डले आइतबार आफ्नौ मौलिक पर्व गौराको भब्य रुपमा आयोजना गरेको थियो । सो कार्यक्रममा सुदुरपश्चिम समाज बाहेक अरु समाजका ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । समाजको निमन्त्रणामा पाल्ने सबै ब्यक्तिले यो कार्यक्रमको मज्जा लिएका थिए ।
सुदुरपश्चिमको मौलिक भेषभुषा झल्किने तथा मौलिक बाजागाजा र नाचगानका साथै डेउडाको पनि आयोजना गरेको थियो । समाजको निमन्त्रणामा बाल्टिमोर सिटी मेयर अफिसका अधिकारीको पनि सहभागिता रहेको थियो । जसमा नयाँ किसिमको कार्यक्रम रहेकाले उनीहरुले पनि आनन्द लिनुका साथै शुभकामना पनि दिएका थिए ।
बाल्टिमोर सिटी मेयरको आप्रवासी मामिला कार्यालय ‘मिमा’ ले आइतबार भएको कार्यक्रमको प्रशंसा तथा शुभकामना दिँदै आफ्नो सोसियल मिडियामा तस्विर राख्दै यो कार्यक्रममा संग्लग्न हुन पाउँदा निकै खुसी लागेको जनाएको छ । उसले मेरिल्याण्डमा रहेका बिभिन्न समुदायसँग मिलेर काम गर्न सधै तयार रहेको र गौरा पर्वले सबैमा खुसी, शान्ति र सम्बृद्धीको कामना गरेको उल्लेख गरेको छ ।
कार्यक्रममा मिमाका तर्फबाट मेयर अफ इमिग्रेन्ट अफेयर्सकी उप निर्देशक मासुमा इस्लाम लोन्जाक, बाल्टिमोर काउन्टी कार्यकारीका प्रतिनिधि ज्याक बासो, बाल्टिमोर सिटीकी सञ्चार विशेषज्ञ भिक्टोरिया मिन्काले सहभागिता हरेको थियो ।
कार्यक्रममा विभिन्न समाजका प्रतिनिधीको सहभागिता रहनुका साथै आफ्नो तर्फबाट यो पर्व आयोजना गरेको सुदुरपश्चिम समाजलाई धन्यवाद दिएका थिए ।
सुदुरपश्चिम समाज मेरिल्याण्डले गौरा पर्वको औपचारिक कार्यक्रम गरेको यो दोस्रो पटक हो । पहिलो बर्ष भन्दा दोस्रो बर्ष यो कार्यक्रमलाई अझ भब्य गरेर मनाइएको थियो । करिव एक महिनाको तयारी रहेको यो कार्यक्रमका लागि गौरा पर्व ब्यवस्थापन समिती नै बनाइएको थियो । जसको संयोजक भीम बि. के. रहेका थिए । उनकै पहलमा ‘मिमा’ का अधिकारीहरु कार्यक्रममा पुगेका थिए ।
नेपालको सुदुरपश्चिममा गौरालाई एक सातासम्म बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाइने गरेको छ । सुदुरपश्चिमबासीहरु जहाँ गएर बसेपनि यो पर्वलाई मनाउने कोसिस गर्छन ।
केहि दिन अगाडी काठमाडौंको टुडिखेलमा पनि सुदुरपश्चिमेलीबासीले यो पर्व मनाएका थिए । जसमा विभिन्न दलका शिर्ष नेताहरुको सहभागित रहेको थियो ।