नेपालको संविधान दिवशको अवसर पारेर न्युयोर्क सिटीका मेयर एरिक आडम्सले म्यानहटनमा नेपालको झण्डा फहराउने भएका छन् । सेप्टेम्बर २० मा हुने एक विशेष कार्यक्रमका बीच मेयर आडम्सले नेपालको झण्डा फहराउने घोषणा गरिएको छ।
न्यूयोर्कबाट सञ्चालन हुँदै आएको अनलाईन पोर्टल खसोखास डट कमका अनुसार कार्यक्रम विहान ९ बजे सुरु हुने भएकाले सबैलाई नेपालीपन झल्किने पोशाकमा उपस्थित हुन भनिएको छ ।
अमेरिकामा रहेको नेपाली समुदायले गरेको सामाजिक,आर्थिक, राजनीतिक, सांस्कृतिक लगायतको योगदानको सम्मान स्वरुप मेयर आडम्सले नेपालको झण्डा फहराउने कार्यक्रम गरिन लागेको हो । म्यानहटनको वल्र्ड ट्रेड सेन्टर नजिकै वाल स्ट्रीटमा रहेको चार्जिङ बुलको अगाडी रहेको बलिङ ग्रिन पार्कमा नेपालको ८ फिट अग्लो झण्डा फहराइने भएको हो । झण्डा फहराउने कार्यक्रमको प्राविधिक तयारी पूरा भएको र अहिलेसम्म झण्डै ३ दर्जन अमेरिकामा रहेका नेपाली संघ संस्थाहरु सहयोगी संस्थाका रुपमा आइसकेको उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले यो कार्यक्रम सम्पूर्ण नेपाली समुदायको सम्मानका लागि गरिएकाले सबै नेपाली समुदाय र संघ संस्थाले अपनत्व अनुभव गरेर कार्यक्रम सफल बनाउनका लागि अगाडि बढ्नुपर्ने बताए । न्युयोर्क सिटीको मेयर कार्यालय र बलिङ गिन पार्क एसोसिएसनको संयुक्त आयोजनामा हुने नेपालको झण्डा फहराउने कार्यक्रम न्युयोर्क सिटीमा पहिलो हुनेछ ।