ओफेलिया नामको साइक्लोनका कारण भारी बर्षा हुँदा न्यूयोर्कमा सावधानी अपनाउनका लागि नोटिस जारी गरिएको छ । यो साइक्लोनले हावासँगै भारी बर्षा हुने भएकाले न्यूयोर्कमा रेल सेवा केहि समस्या हुने बताइएको छ । न्यूयोर्कका आपतकालिन ब्यवस्थापन कमिस्नरका अनुसार यो साता भरि नै भारी बर्षासँग हावा आउने र समुन्द्र सतहको पानीको लेभलपनि केहि माथि उठ्ने भएकाले सावधानी अपनाउनका लागि भनेका छन ।
यसका साथै न्यूयोर्कमा जो बेसमेन्टमा बस्दै आएका छन, उनीहरुलाई त्यो ठाँउबाट सर्नका लागि नोटिस जारी गरिएको छ । यो साइक्लोनको प्रभाव केहि कम हुँदै गएपनि यसले हावाको बेगसँग भारी बर्षा ल्याउने भएकाले न्यूजर्सीमा पनि नोटिस जारी गरिएको छ ।
जसमा बाढी आउनसक्ने भन्दै आफुलाई सुरक्षित राख्नका लागि भनिएको छ । यसका साथै भर्जिनिया, नर्थ क्यारोलिना र मेरिल्याण्डमा पनि यो साता भारी बर्षा हुने भनिएको छ । पछिल्लो दुई दिन देखि निरन्तर बर्षा भइरहेकोमा यो क्रम अझै केहि दिन रहने बताइएको छ । नेश्नल हुरिकेन सेन्टरका अनुसार अर्को सोमबारपछि मात्र यो साइक्लोनको प्रभाव कम हुने बताइएको छ ।
यो साइक्लोनको बढि प्रभाव नर्थ कारोलिनामा परेको छ । त्यहाँ भारी बर्षासँगै बाढीपनि आएको बताइएको छ । जसका कारण समुन्द्री तटतिर कसैलाईपनि नजान भनिएको छ ।