मेक्सिकोमा ट्रक दुर्घटना हुँदा गैरकानूनी तरिकाले अमेरिका आउने क्रममा रहेका १० जना क्युबाका नागरिकको निधन भएको छ भने १७ जना अरु गम्भिर घाइते भएका छन ।
२७ जना ब्यक्तिलाई ओसार्नका लागि गइरहेको ट्रकले तिब्र गतिका कारण नियन्त्रण गुमाउँदा यो दुर्घटना भएको मेक्सिको पुलिसले जनाएको छ । दक्षिणी अमेरिकाका विभिन्न देश भएर मेक्सिको हुँदा अमेरिका सिमासम्म पुग्ने लक्ष्यमा रहेका क्युबाका ती नागरिकहरु सो ट्रकमा कोच्चिएर बसेका थिए । तर ट्रक ड्राइभरले गति बढाउँदा र समयमा नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको हो ।
मृत्यु हुने १० ब्यक्तिमा सबै महिला रहेको बताइएको छ । घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचार भइरहेको छ । उज्वल भविष्य बनाउनका लागि अमेरिका प्रवेश गर्ने लक्ष्यमा रहेका उनीहरु क्यारिबियन हुँदै मेक्सिकोसम्म पुगेका थिए ।
यसरी विदेशी नागरिक बोकेर दुर्घटना हुँदा सन् २०२१ मा ५५ जनाको मृत्यु भएको थियो । जसमा एक सय जना घाइते भएका थिए ।
पछिल्लो पटक मेक्सिको र अमेरिकाबिच गैरकानुनी तरिकाले अमेरिका प्रवेश गर्ने विदेशी नागरिकलाई उनीहरुको देश फर्काउने सहमति भएको थियो । तरपनि अझै विभिन्न तरिकाले मानिसहरु गैर कानुनी तरिकाले अमेरिका प्रवेश गर्ने क्रम रोकिएको भने छैन । यस्तैमा मेक्सिकोले नै ९ महिनामा चार लाख भन्दा विदेशी नागरिकलाई उनीहरुको देश फर्काइसकेको रिपोर्ट केहि दिन अगाडी सार्वजनिक गरेको थियो ।
तस्विर:सीएनएन