आतङ्ककारी समूह हमासको आक्रमणबाट गत साता इजरायलमा मारिएका नेपाली र अरू देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोक सभाको आयोजना गरिएको छ ।
शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा.ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, स्थानीय नेपालीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा ड्रिस्ट्रिक्ट-८ का नेपालीमूलक विधायक डा.ह्यारी भण्डारीले हमासले इजरायलमाथि आक्रमण गरेर मानवताविरुद्धको गम्भीर अपराध गरेको भन्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
इजरायलमा भएको सो हिंसात्मक हमलाबाट अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गएको र त्यसमा नेपालका १० र अमेरिकाका २२ निर्दोष मानिस परेको जानकारी दिँदै डेलिगेट डा.भण्डारीले उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे ।
कार्यक्रममा बाल्टीमोर काउन्टीका काउन्सिलम्यान इजी पातोकाले ७० वर्षअघि भएको यहुदी नरसंहार होलोकास्टको पनि स्मरण गरेका थिए । मेरिल्याण्डका विधायक कार्ल ज्याक्सनले हमासको आतङ्ककारी हमलाको भर्त्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए ।
विधायक निक एलनले पनि हमासको आतङ्कवादी क्रियाकलापको भर्त्सना गर्दै इजरायलका पक्षमा ऐक्यबद्धता प्रकट गरेका थिए । उनले दीप प्रज्वलन र शोक सभा मानवता र शान्तिका पक्षमा रहेको बताए । स्थानीय नेपाली समुदायको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम समाजका अध्यक्ष दमनविक्रम शाहले गौतम बुद्धको शान्तिको सन्देश अरू सान्दर्भिक भएको बताउँदै नेपाल र नेपाली कहिल्यै पनि हत्या, आतङ्कका पक्षमा नरहेको र नरहने बताए ।