Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको मेरिल्याण्डमा कवि दीपक मुडभरीको निधन

अमेरिकाको मेरिल्याण्डमा कवि दीपक मुडभरीको निधन

नेप्लिज डायस्पोरा

२६, आषाढ २०८१
images
अमेरिकाको मेरिल्याण्डमा कवि दीपक मुडभरीको निधन

मकवानपुर हेटौंडाका कवि दीपक मुडभरी ‘मित्र’को निधन भएको छ । अमेरिकास्थित मेरिल्याण्डको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । आज मंगलबार उनको मेरिल्याण्ड मै दाहसंस्कार गरिने साहित्यकार तथा अनेसास मेरिल्याण्ड च्याप्टरका पुर्व अध्यक्ष तीर्थ पाण्डेयले नेप्लिज डायस्पोरालाई बताए ।

 

कवि मुडभरी लामो समयदेखि अमेरिकामा थिए । उनी श्रीमती बच्चाहरुका साथमा थिए । केहि समयदेखि बिरामी रहेका मुडभरीको उपचारकै क्रममा निधन भएको पनि साहित्यकार पाण्डेयले जानकारी दिए ।

 

वि.सं. २०१८ साल पुस ८ गते मकवानपुर जिल्लाको हेटौंडामा जन्मेका उनी कविता विधामा सक्रिय थिए । नेपालमा रहँदा उनले “अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित गरेर धेरै साहित्यकारलाई सो पत्रिकामार्फत् प्रकाशनको मञ्च प्रदान गरेका थिए ।

 

अठोट पत्रिकामा राष्ट्रिय स्तरका स्थापित लेखकका रचनाका साथै र स्थानीय साहित्यकारका रचनाहरुलाई समेत प्रोत्साहन दिएका थिए । उनले “स्थानीय कविता अङ्क”का रुपमा केही अङ्क प्रकाशन गरेका थिए । उनी मकवानपुर साहित्य परिषद्का संस्थापक महासचिव थिए ।

उनको कवितासङ्ग्रह भने अमेरिका गएपछि मात्र प्रकाशन हुन सक्यो । उनको एकमात्र कविता सङ्ग्रह “केही अस्पष्ट रेखाहरु” वि.सं. २०७४ साल माघमा प्रकाशित भएको थियो ।

 

उनले आफ्नो कवितासङ्ग्रह प्रकाशनको सिलसिलामा नेपालमा रहँदा आफ्ना दिवंगत पितामाताको नाममा मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्ने गरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका थिए । यो पुरस्कार वर्षेनी प्रदान गरिँदै आएको छ ।

 

उनलाई साहित्य संगम नुवाकोटले “संगम साहित्य पुरस्कार एवं सम्मान २०८१” प्रदान गरिएको थियो । सो सम्मान साहित्यकार एमपी पाण्डेले नुवाकोटमा ग्रहण गरेका थिए ।

 

उनी आफ्नो दोस्रो कवितासंग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा थिए । 

images
प्रकाशित मिति :आषाढ २६, २०८१ मंगलवार - २०:४१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend