मेरिल्याण्ड, अमेरिका
नेपाली कालजयी गीतहरु गाउने र सुनाउने उद्देश्यले अमेरिकाको मेरिल्याण्डमा एक बिशेष सांगीतिक कार्यक्रम आयोजना हुदैछ । सनिबार बाल्टिमोरमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।
'नभुलिने धुनहरू' नामको यो कार्यक्रमको पहिलो श्रृंखला यहि अक्टोबर २६ मा हुदैछ ।
"हामीहरु एक नितान्त पृथक सांगीतिक सांझको आयोजना गर्दैछौं । हामीहरु संगीतलाई मनमा र मनलाई संगीतमा घुलन गराउन खोज्दैछौं ।" आयोजक मध्येका एक बसन्त घिमिरेले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।
कार्यक्रममा नेपाली साङ्गितक ईतिहासका अजर अमर गीत सङ्गीतहरूका स्रोत स्वरसम्राट नारायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, गोपाल योञ्जन लगाएतका अमर कलाकारहरूका गीत सङ्गीतहरू प्रस्तुत हुने जानकारी आयोजकले दिएका छन्।
कार्यक्रममा ६ जना युवा सङ्गीतका साधकहरूले Live music/Vocal सहित उल्लेखित कलाकारहरूका कालजयी गीतहरू र उक्त गीतभित्र लुकेका कथाहरू प्रस्तुत गर्नेछन् ।
"कार्यक्रमको उद्देश्य नयाँ पुस्तालाई नेपाली कालजयी गीतहरू सङ्ग परिचित गराउनुका हो । साथै ती विख्यात् कलाकारको योगदानलाई सम्झना र सम्मान गर्नु पनि हो ।" कार्यक्रमका परिकल्पनाकार तथा गायक कुशल पोखरेलले भन्नुभयो ।
कार्यक्रमको परिकल्पनाका बारेमा सुन्ने धेरैले प्रशंसा गर्ने गरेका छन् । कार्यक्रमको टिकट पुरै बिक्री भईसकेको पनि आयोजकले जानकारी दिएका छन् ।