बाल्टिमोर, अमेरिका
मेरिल्याण्डको डिष्ट्रिक २ मा युएस कंग्रेसको लागि उमेद्वार बनेका जोनी ओ लाई यहांका नेपाली समाजका बरिष्ठ समाजसेवी डाक्टर श्याम कार्कीले समर्थन( ईन्डोर्स) गर्नुभएको छ ।
“मैले २०१८ देखि जोनी ओलाई चिनेको छु र काम गरेको छु र उहाँलाई हाम्रो नेपाली समुदायको आवश्यकताहरूप्रति धेरै स्पष्ट र उत्तरदायी पाएको छु। त्यसैले म समर्थन गर्दछु ।” डाक्टर कार्कीले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।
डाक्टर कार्कीले एक वक्तव्य जारी गर्दै जोनी ओ लाई समर्थन गरेको सार्बजनिक पनि गर्नुभएको छ ।

अमेरिकामा अहिले राष्ट्रपतिय निर्वाचन भईरहेको छ । राष्ट्रपति र उपराष्ट्रपति संगै विभिनन् स्टेटका विभिन्न निर्वाचन क्षेत्रमा सिनेट र युएस कंग्रेसका लागि पनि निर्वाचन हुदैछ ।
“अहिले बाल्टिमोर काउण्टिका एक्जुकेटिभ रहेका जोनी ओ हाम्रो नेपाली अमेरिकी समुदायप्रति धेरै उत्तरदायी र सहयोगी हुनुहुन्छ। उहाँले हाम्रो समुदायका सदस्यहरूको माग सुन्नु भयो र क्रिकेट स्टेडियम निर्माण गर्न कोष प्रदान गर्नुभयो। उहाँले धेरै नेपाली सामुदायिक संघसंस्थालाई सामाजिक कार्यमा आर्थिक सहयोग गर्नुभएको छ ।” डाक्टर कार्कीले आफ्नो समर्थन वक्तव्यमा उल्लेख गर्नुभएको छ।
आफुसंग नेपाली समुदायमा सक्रिय अभियन्ताहरु रविन शर्मा, डोलनाथ घिमिरे, तरुण पौडेल, कुलप्रसाद गुरुङ, विक्रम पोखरेल, जितेन गुरुङ, राजु पराजुली, प्रेम श्रेष्ठ, रमेश भट्ट, रामचन्द्र अधिकारी, मधुकर अधिकारी, सतीश चापागाई र उत्तम गौली लगायतका धेरै समुदायका नेताहरु यो अभियानमा सम्मिलित हुनुभएको कार्कीले जानकारी गराउनु भयो ।
जोनी ओलाई मतदान गर्न सबै नेपाली समक्ष डाक्टर कार्कीले अनुरोध पनि गर्नुभएको छ ।