के तपाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनको शासन छल्न चाहनुहुन्छ? चाहनु हुन्छ भने फ्लोरिडाको एक ट्राभल कम्पनीले ४ वर्षे विश्व यात्राको भ्रमण प्याकेज ल्याएको छ। जसले गर्दा तपाई यो पुरै चार बर्ष अमेरिका भन्दा बाहिर बस्न पाउनुहुनेछ ।
फ्लोरिडाको एक कम्पनीले पानीजहाजमा विश्व भ्रमण गर्ने प्याकेज ल्याएको हो।
कम्पनीले विभिन्न १४० देशका ४२५ बन्दरगाहमा जहाज रोकिने बताएको छ। जहाजले यात्रा सुरू गरिसकेको र जान चाहनेहरू नजिकैको बन्दरगाहबाट थपिन सक्ने पिटरसनले जानकारी दिए।
ट्रम्प विजयी घोषणा भएपछि नोभेम्बर ७ देखि नै उक्त भ्रमण प्याकेज कार्यान्वयनमा आइसकेको उक्त कम्पनीका सिइओ मिकेल पिटरसनले बताएका छन्।
उनले चुनाव अगाडि नै प्याकेजको घोषणा भएको र त्यसको प्रचारप्रसार गरिएको बताए।
'तपाई देश छाड्ने सोचमा हुनुहुन्छ भने पानीजहाज जत्तिको उचित ठाउँ अरू हुँदैन। जहाँ तपाईं हरेक दिन नयाँ घरपछाडि उठ्न सक्नुहुन्छ र तपाईंलाई आवश्यक सबै चीजहरू प्राप्त गर्न सक्नुहुन्छ,' समाचार संस्था एसोशिएटेड प्रेसको भिडिओमा पिटरसनले भनेका छन्।
यद्यपि यो कुनै पनि राजनीतिक अभियान नभएको पिटरसनले भनेका छन्।
यात्राका लागि विभिन्न प्याकेजहरूको व्यवस्था गरिएको छ। जसको न्यूनतम मूल्य १ लाख ६० हजार डलरबाट सुरू हुने भनिएको छ।
अमेरिकी समाज रिपब्लिकन र डेमोक्र्याटका समर्थकबीच तीब्र रूपमा विभाजित छ। झन्डै आधा अमेरिकीले रिपब्लिकनलाई र आधाले डेमोक्र्याटलाई समर्थन गर्छन्।
कैयन् चुनावी मुद्दा र सामाजिक मूल्य मान्यताबारे अमेरिकी समाजमा गहिरो मतभेद मात्रै छैन तिक्तता नै छ। त्यो मतभेद समाज र सामाजिक सञ्जालमा गालीगलौजका रूपमा प्रकट हुने गरेको छ।
त्यसमाथि डेमोक्र्याटिकका अत्यधिक समर्थकहरूले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गर्छन्। र चुनावकै बेला धेरैले डोनाल्ड ट्रम्पले चुनाव जिते चार वर्ष अमेरिका नबस्ने अरू देशमा गएर बस्ने सार्वजनिक रूपमा बताएका थिए।